बजेट पारितसँगै मन्त्रिमण्डल पुनर्गठनलाई दबाब : ओली खेल्दै देउवा झेल्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)

कौशलकुमार भट्टराई
भक्तपुर/ बजेटमाथिको छलफल सकिनासाथ मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब परेको छ । देउवालाई बजेटमाथिको छलफल चलिरहेकै बेला मन्त्रिपरिषद् पुनर्गठन गर्न दबाब परे पनि त्यसलाई उनले मानेका थिएनन् । सत्ता गठबन्धनमा आवद्ध नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पछिल्ला समय निरन्तर दबाब बढाइरहेका छन् । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आफ्ना पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहार समावेश गर्न प्रस्ताव गरेका छन् । उनले बजेटमाथिको छलफल चलिरहेका बखत नामहरु दिए पनि बजेट पारित गर्न अप्ठ्यारो पर्ने भन्दै देउवाले त्यसलाई मानेका थिएनन् । नयाँ मन्त्री बन्ने भनी दौरासुरुवाल सिलाएर बसेका प्रस्तावित मन्त्रीहरुले नेता नेपाललाई दबाब दिइएरहेको अवस्था छ ।
यसैगरी जसपामा पनि मन्त्रीहरु फेरबदल गर्ने सम्बन्धमा विवाद कायमै छ । जसपाका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले आइतबार बालुवाटार पुगेर आफ्ना पक्षका नेताहरूलाई मात्र मन्त्री बनाउन प्रधानमन्त्री देउवालाई दबाब बढाएका छन् । जसपामा मन्त्रीहरु परिवर्तन गर्नका लागि सो दलका अध्यक्ष उपेन्द्र यादवले एकलौटी रुपमा चलखेल तथा दबाब बढाएको अवस्थामा भट्टराईले दलभित्र आफूसहित अध्यक्ष यादव र अशोक राईसहित तीनजनाको हस्ताक्षरलाई मात्रै मान्यता दिनुपर्ने भनी प्रधानमन्त्री देउवालाई जानकारी गराएको समाचार स्रोतले बताएको छ । आफ्नो पक्षमा बहुमत सदस्य रहेको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएका हुन् ।
नेता नेपाललाई देउवाले ‘तपाईको दलका मन्त्रीलाई बनाउनेबित्तिकै मेरो दलमा पनि मलाई दबाब बढ्छ, जसकारण पुनः समस्या देखापर्छ, त्यसैले तत्काल यसलाई अघि नबढाऊँ’ भन्ने जवाफ दिएको बताइएको छ । संघीय संसदीय निर्वाचनको सम्मुखमा मन्त्रिपरिषद् हेरफेर गर्दा दलको आन्तरिक राजनीति पेचिलो बन्ने र त्यसका असर निर्वाचनमा देखा पर्ने देउवाले विश्लेषण सुनाएका कारण रोकिएका नेता नेपालमाथि फेरि पनि दबाब बढ्न थालेको छ । एकीकृत समाजवादीका अर्का नेता झलनाथ खनालले पनि मन्त्री परिवर्तन गर्ने कुरा दलको आफ्नो विशेषाधिकार भएको भन्दै दलको सिफारिस अनुसार प्रधानमन्त्री देउवाले त्यसको पालना गर्नुपर्ने धारणा राख्दै आएका छन् । उनले त्यसो नगरिए सत्ता गठबन्धनमै असर पर्ने भनी मनोवैज्ञानिक तबरले दबाब समेत दिएका छन् ।
मन्त्री बन्ने र बनाउन नहुने भन्ने विषयलाई लिएर एकीकृत समाजवादी र जसपामा आन्तरिक विवाद चर्किएको छ । आफूलाई हटाउने दलको निर्णयविरुद्ध स्वास्थ्यमन्त्री विरोध खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सार्वजनिक रूपमा आक्रोश पोखेका छन् । उता, ६–६ महिनामा मन्त्रिपरिषद् पुनर्गठनमा सिफारिस गर्ने दलको निर्णयलाई कार्यान्वयन गर्न अध्यक्ष उपेन्द्र यादवमाथि जसपा नेपालका नेताहरूले दबाब बढाउँदै लगेका छन् ।
मन्त्री बनाउने र नबनाउने बीचको आन्तरिक विवादलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली भने यसलाई अवसरको रुपमा लिन उद्दत देखिएका छन् । हालै सम्पन्न स्थानीय निर्वाचनको मत परिणामबाट पहिलो हुने सपना देखेका ओलीको दल दोस्रो त्यो पनि धेरै पछि परी रहेको अवस्थामा हालको सत्ता गठबन्धनलाई कुनै पनि हालतमा भत्काउन लागि परेका छन् । उनले त्यसका लागि आफूलाई समेत क्रियाशील गराउन थालेका छन् । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ पछिल्लो समय नयाँ समीकरणका लागि भन्दै नेकपा (एमाले) का नेताहरुसँग हिमचिम बढाउन लागि परेकाले ओली मख्ख परेका छन् । ओलीले श्रेष्ठलाई आफ्नै निवासमा भेट दिई दुई घण्टा बढी छलफल गरेका थिए ।
आफ्नो स्वार्थका लागि आफ्ना अठानलाई तिलाञ्जलि दिन पछि नपर्ने ओली हिजोका आफ्ना बोली र अडानलाई बेवास्ता गर्दै निर्लज्ज रुपमा एकीकृत समाजवादी र माओवादी केन्द्रलाई आफ्नो कित्तामा ल्याउन लागि परेको समाचार स्रोतको विश्लेषण छ । ओली अहिले पनि फुर्ती देखाउँदै आगामी प्रदेश तथा संघीय निर्वाचनमा आफ्नो दल पहिलो हुने भन्दै हुँकार दिन लागि परेका छन् । बाहिर देखिँदा एक्लो फुर्ती देखाउने ओली भित्रभित्र भने विभिन्न दल तथा ती दलका नेताहरुसँग व्यक्तिगत रुपमा साँठगाँठ बनाउन लागि परेका पनि समाचार स्रोतले जानकारी दिएको छ ।
ओलीको दाऊ जसरी सकिन्छ वर्तमान गठबन्धन टुटाउनुमा रहेको छ । आफ्नो दलको अस्तित्व नै संकटमा पर्न लागेको अवस्थामा पुगेको माओवादी केन्द्र गठबन्धनको सहारामा तेस्रो शक्तिको रुपमा कायम भएको छ । त्यसरी तेस्रो शक्ति बनेको माओवादी केन्द्रले पनि आफ्नो अवस्थाको ख्याल नगरी फुर्ती देखाउन थालिसकेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘कांग्रेसलाई परे एमालेलाई जस्तै देखाइदिने’ भन्न थालेका छन् । दाहालको बोलीको सर्वत्र आलोचना भएपछि भने आगामी निर्वाचनसम्म हालको सत्तारुढ गठबन्धन कायमै रहने भन्ने धारणा राख्न थालेका छन् ।
यसरी प्रमुख प्रतिपक्षी दलका अध्यक्ष खड्गप्रसाद ओलीले सत्ता गठबन्धनमाथि खेली रहेको अवस्थामा प्रधानमन्त्री देउवा भने सबैतिरको मार झेलिरहेका छन् । सत्ताको राजनीतिमा अन्य नेताहरुभन्दा अब्बल ठहरिएका देउवा वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म जसरी पनि कायमै राख्ने प्रयासमा छन् ।
सत्ता गठबन्धन कायम राख्नका लागि देउवालाई पनि निकै नै सकस अवस्था छ । देउवाको दल नेपाली कांग्रेस भित्र पनि गठबन्धनलाई कायम राख्ने र राख्नु नहुने भन्ने धारणाका बीचमा विवाद चलिरहेको छ । सबै दलहरु एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा रहनु पर्ने भन्ने धारणा एक थरीको छ भने अर्का थरी हालको गठबन्धनलाई कायम राखी निर्वाचन परिणाम बढीभन्दा बढी आफ्नो पक्षमा पार्नुपर्ने भन्ने धारणा राख्दै आएका छन् ।
देउवा भने वर्तमान गठबन्धनलाई कायमै राखी निर्वाचनमा आफ्नो दललाई मजबुत अवस्थामा उठाउन चाहन्छन् । यसका लागि एमालेको कित्तामा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पुग्न दिनु नहुने भन्ने मान्यता देउवाले लिंदै आएका छन् । देउवाले यसका लागि आफ्नै दलका अन्य नेताहरुको गाली नै सहनु परे पनि सहने सोंच बनाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *