सहकारीमाथि आँखा चिम्लेर विश्वास नगरौं

Nayabimarsha (Weekly Newspaper from Nepal)

अनुसा थापा
पछिल्लो समय बजारमा सहकारीको ठगीधन्दा ह्वात्तै मौलाएको छ । हुन त सहकारीले पहिले पनि उत्तिकै ठग्थ्यो तर अहिले अझै ज्यादा बनेको आम जनगुनासो छ । सहकारीहरु भाग्ने क्रम अहिले पहिलेभन्दा पनि बढी भएको पाइन्छ । सहकारीको कारण हिजो पनि धेरै नागरिक सडकछाप भएका थिए भने अब झन् बढी हुने निश्चित छ ।
सहकारीले गर्दा आफ्नो घरखेतलगायत अन्य जेथो सखापै भएको गुनासो गर्ने व्यक्तिहरु पाइलैपिच्छे भेटिन्छन् । तर, पनि सहकारीको ठगीको विषयमा सदनमा आजसम्म कुनै पनि सांसद्ले कुरा उठाएका छैनन् । आम जनताले दुःख गरेर खाइनखाई कमाएको पैसा कुम्ल्याएर सहकारी फरार हुँदा पनि सांसद्हरुलाई कुनै प्रभाव परेको देखिँदैन ।
अहिले बजारमा तरलता बढेको कुरा सबैलाई थाहा नै छ । सहकारीमा पैसा छैन । आफ्नो खातामा भएको पैसा निकाल्न गयो भने सहकारीले दिन सकेको छैन । यसले गर्दा आम नागरिकको अनुहारमा त्रास झल्किएको छ । यता, खातामा भएको पैसा नदिने उता, १८ प्रतिशतसम्म व्याज दिने प्रलोभन देखाउँदै फसाउन खोज्ने ।
केही महिनादेखि सहकारीको आम्दानी नहुँदा घरबहाल र कर्मचारीलाई तलब दिन नसकेको कुरा यथार्थ हो । महँगो व्याजमा पैसा राखेर घरबहाल र कर्मचारीलाई तलब दिन थालेको पनि सुन्नमा आएको छ । सहकारीहरु घर न घाटको भइसक्दा पनि राज्यले जनतालाई पैसा नराख्नुस् भनेर जानकारी गराएको छैन ।
राज्यले जनताको पैसा बचाउन पहिल्यै नै सचेतना दिनुपर्ने होइन् र ? सडकको धुँलो खाएर मकै बेच्ने र नाङ्लो व्यापारीजस्ता गरिबको पैसा लिएर सहकारी भागेका छन् । कति सहकारी भागी सके र कति धरासायीमा छन् यसको विवरण सहकारी विभागसँंग छैन । सरकारले नै यो विषय गुपचुप बनाउन खोजेको बुझिन्छ ।
यता, हामी जनता पनि ब्याजको लोभमा परेर सहकारीमा दैनिक पैसा जम्मा गरिरहेका छौं । जनताको पैसा लिएर भाग्ने सहकारीलाई कारबाही गर्नुपर्ने जिम्मा सरकारको हो । उनीहरुले रगतपसिना चुहाएर कमाएको पैसाको सुरक्षा गर्नु पनि सरकारको जिम्मेवारीभित्र पर्दछ । तर, गृहमन्त्री बालकृष्ण खाँड त्यस्ता फटाहा सहकारीको कार्यक्रममा अतिथि बनेर पुगेको देखियो ।
ठगहरुको कार्यक्रममा पुगेर म तपाईहरुको समस्या समाधान गरिदिन्छु भन्दै भाषण गरे । गृहमन्त्री खाडको क्षेत्राधिकारभित्र सहकारीको समस्या पर्दै पर्दैन । अनि उनले सोच्दै नसोची कसरी बोले ? उनको काम भनेको त ठग्ने सहकारीलाई कारबाही गर्न निर्देशन दिनु मात्र हो ।
अनि अर्कोको क्षेत्रभित्र छिरेर जे मनलाग्यो त्यही बोलिदिने ? सहकारीको नीतिनियम बनाउने त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले होइन र ? गृहमन्त्री खाडको आडमा सहकारीहरुले जनता ठगेको हुन् भनेर हिजोको घटनाले स्पष्ट पारेको छ । व्यापारीहरुले सहकारीमा दैनिकी रकम राख्न छोडिसकेका छन् ।
कुनै कुनैले मात्र सहकारीमा पैसा राख्छन् । अझै पनि हाम्रो सहकारी नाफामा छ भनेर जनता झुक्याउने काम भइरहेको पाइन्छ । यता, कर्जा खानेहरु धोती न टोपीको भएका छन् । २१ प्रतिशत व्याजमा कर्जा लिएकाहरु सडकमा आइपुगेका छन् । २१ प्रतिशत भनेर व्याज दिन्छन् तर ४३ प्रतिशत जोडेर लिन्छन् ।
सेवाशुल्क, घुस, हर्जाना आदि गर्दा ४३ प्रतिशत व्याज बढ्न जान्छ । सहकारी विभागले कर्जा लगानी गरेर १६ दशमलव तीन प्रतिशतभन्दा बढी व्याज लिन प्रतिबन्ध लगाएको छ । सरकारको ऐनकानूनलाई धोती लगाउँछन्, सहकारी । अहिले कति सहकारीका अध्यक्ष वा कर्मचारीहरुले मिटर व्याजमा पैसा लगानी गरिरहेका छन् ।
सहकारी र मिटर व्याजका कारणले कतिपयको त आत्महत्या गर्नुपर्ने अवस्था पनि आएको होला । सहकारीहरुले मिटर व्याजमा पैसा लगानी गर्दा सुकुम्बासीहरुको संख्या बढ्यो । सहकारीले गर्दा धेरैको उठीबास भएको छ । तर, उनीहरुको विरोधमा न्याय माग्न जाने ठाउँ कहीँ कतै छैन ।
सहकारीबाट यत्रो जनता पीडित हुँदा पनि सरकार केलाई ऐनकानून परिवर्तन गर्न चाहँदैन । दिँउसै जनतालाई ठग्दा पनि सरकार अनदेखा गरिरहेको छ । सहकारीको ठग्ने धन्दा दिउँसो दुई गुणा र राति चार गुणा भएको छ । दैनिक बचत गर्नेले ब्याजसमेत पाएका छैनन् । सहकारीका कर्मचारीहरु दिनभरि बजारबाट रकम संकलन गर्छन् बेलुका त्यही पैसा महंगो व्याजमा लगाउँछन् ।
बचत गर्ने र कर्जा लिने त हेरेको हे¥यै । उता पनि ठग्ने यता पनि लुट्ने । यस्तो ठगको धन्दा मौलाउदा पनि सरकार किन ट्वाल्ल परेर हेरेर बसेको छ ? सहकारीबाट लाखौं आम नागरिक ठगिएका छन् । पीडितको संख्या त यत्तिकै छ । जनता ठग्न सबभन्दा सजिलो क्षेत्र भनेको सहकारी हो ।
सहकारी खोल्ने, जनता ठग्ने अनि आफुलाई पुग्ने कमाएपछि कुलेलम ठोक्ने । आफ्नो पैसा बचाउने हो भने छिटोभन्दा छिटो आफ्नो खाता खाली गरौं । होइन भने जतिखेर पनि रातदिन नभनी कमाएको पैसा डुब्न सक्छ । हाम्रो खाता भएको सहकारी जतिखेर पनि जोखिममा पर्न सक्छ ।
अझै पनि निर्धक्क भएर बस्ने काम नगरौं । यसमा चलाख बन्न जरुरी देखिएको छ । पहिले पहिलेका बुढापाकाले भन्छन्, ‘कि भनेको मान्नु कि आफै जान्नु’ । हामी नेपालीले प्रवृत्ति आफैंमाथि दुःखको पहमड नखसेसम्म बिलौना गर्दैनौ । अरुको देखेर केही सिक्ने बुझ्ने हामीद्वारा हुँदैन । डुबेपछि फेरि फर्किएला आउला भनेर नसोच्दा पनि हुन्छ । हिसाबकिताब देखाउन नसकेर अहिले कतिपय सहकारीले साधारणसभा नै गरेका छैनन् । सहकारीमा खाता भएकाहरुको रातको निद्रा र दिनको भोक हराएको छ । आफ्नो पैसा निकाल्नका लागि धर्ना बस्नुपर्ने बेला भएको छ ।
एक वर्षअघि दैनिक लाखौं रकम उठाउने बजार प्रतिनिधि अहिले हजारमै सीमित भएका छन् । बढी व्याजको प्रलोभनमा परेर घरजग्गा बेचेर सहकारीमा लगेर पैसा राख्नेहरु चनाखो हुनुपर्छ । खाइनखाई वर्ष दिन लगाएर कमाएको रकम सुरक्षित छ कि छैन बचतकर्ता आफैंले ध्यानमा राख्नुपर्ने अवस्था आएको छ ।
सहकारीका अध्यक्ष र प्रबन्धक गायब छन् । बचतकर्ताहरु आफ्नो पैसा निकाल्न जाँदा कर्मचारीबाहेक अन्य कोही भेटिँदैनन् । अन्धाधुन्ध भएर पैसा राख्दा जनता आफैंले खनेको खाल्डामा आफैं परेका छन् । सरकारले सहकारीमा लगेर पैसा राख भनेर कसैलाई जरबजस्ती गरेको थिएन ।
किराना पसल र चिया पसलझै सहकारीहरु खुलेका छन् । च्याउ जसरी यी संस्थाहरु उम्रिएका छन् । एउटै घरमा आधा दर्जनसम्म सहकारी छन् । बढी व्याजको लोभ देखाउँदै जनताको पैसा ठगिरहेका छन् । सहकारीबाट कर्जा लिने काम यतिखेर ठप्प बनिसकेको छ किनकि सहकारी लुट हो भन्ने कुरा बाहिर आइरहेका छन् ।
पहिले गाँउघरमा सामन्तीहरुले सीधासाधी, अशिक्षित जनतालाई पाँच हजार रुपियाँ दिएर तम्सुक गराएर उसको घरखेत नै खाइदिन्थे । शोषकहरुले गरिबलाई झनै गरिब बनाइदिन्थे । सहकारीहरुले ठ्याक्कै यसको सिको गरे । ५० लाखको जेथो छ भनेर १५ लाख रुपियाँ दिन्छ त्यो पनि सेवाशुल्क र घुस खाएर । तीन किस्ता तिर्न नसक्ने बित्तिकै जेथो खाइदिन्छ । यता, सहकारीहरुले गुण्डासमेत पालेका छन् । गुण्डामार्फत कर्जा खाने व्यक्तिलाई थर्काउँछन् । कर्जा दिएको दिनदेखि पैसा उठाउन शुरु गर्दछन् । आफ्नो ठगीधन्दा ढाकछोप गर्नका लागि ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, देखाउनका लागि सार्वजनिक काम गरेको नाटक रच्ने त्यो पनि आफ्नै दुईचार जना कर्मचारी लगेर । आफ्नै क्यामरा बोकेर । सहकारीहरुलाई अझै पनि सरकारले छाडा छोड्यो भने यिनीहरुले कति जनताको घरमा रुवाबासी निम्त्याउँछन् यसको अड्कल गर्न पनि गाह्रो छ । पाँच लाख कर्जा दिएको भनेर नेपाली कागजमा तमसुक गराउँछन् तर सेवाशुल्क, शेयर र घुस गरेर कर्जावालले जम्मा चार लाख रुपियाँ पाउँछन् ।
ब्याज भने पाँच लाखकै तिर्नुपर्ने बाध्यता छ । सहकारीले यसरी लुट्दा पनि बिलौना गर्ने ठाउँ कतै छैन । उनीहरुको विरोधमा आजसम्म कसैले मुख खोल्न सकेका छैनन् । सञ्चारकर्मीलाई पनि ठगीधन्दाको विरोधमा कलम चलाउन ढिलो भएजस्तो लाग्दैन ? हामी नेपाली जोमाथि पनि सजिलै विश्वास गर्छौं । विश्वासको आडमा थुप्रै नेपालीले धोका खाएका पनि होलान् । धोका पाएपछि टाउको हात राख्ने चलन हामीमा छ । सहकारीले लगानी गरेको गाडी, घरजग्गा र शेयरको खरिदबिक्रीमा मन्दी आइसकेको छ । शेयरमा लगानी गर्नेहरु सडकमा ओइरिएका छन् । सहकारीहरु जनताको पैसा फिर्ता गर्न नसक्ने स्थितिमा पुगिसकेका छन् । अब सडकछाप हुनेको संख्या झनै बढ्छ । सहकारीको कारणले लाखौं मानिसको घरबास उठ्ने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.