काँग्रेसमा सहमहामन्त्रीहरु भूमिकाविहीन

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/नेपाली काँग्रेसको १३ औँ महाधिवेशनसम्म एकजना मात्र रहने गरेको सहमहामन्त्रीको पद १४ औँ महाधिवेशनमा बढाएर आठजना बनाइएको छ । निर्वाचित आठजना सहमहामन्त्रीहरुमा फर्मुल्लाह मन्सुर, उमाकान्त चौधरी (खानेपानी मन्त्री), महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङदम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार रहेका छन् ।
काँग्रेस पदाधिकारीहरुमध्ये बाँकी २० जना मनोनीत केन्द्रीय सदस्य र कोषाध्यक्ष पनि रिक्त छ । काँग्रेसको विधानमा सभापति, महामन्त्री र कोषाध्यक्ष पदको बढी जिम्मेवारी हुने भएकाले उपसभापति र सहमहामन्त्रीको भूमिका ओझेलमा परेको छ । विधानमा काम, कर्तव्य र अधिकारको व्यवस्था नभए पनि सभापति देउवाले आपूm निकट उपसभापति पूर्णबहादुर खड्कालाई स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको जिम्म दिएका थिए ।
दुर्भाग्य खड्का आफ्नै गृहनगरमा पराजित भएका थिए भने अर्का उपसभापति धनराज गुरुङले आफ्नो क्षेत्रमा एमाले क्लिनस्वीप गरेका थिए । उपसभापति गुरुङले जिम्मेवारी नपाएको अवस्थामा सभापति देउवाले खड्कालाई पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा मनोनयन गरेका छन् । यसअघि उक्त पदको जिम्मेवारी नेता विमलेन्द्र निधिले सम्हालेका थिए । पार्टीको १४ औँ महाधिवेशन भएको सात महिना बितिसक्दा पनि गत चैतपछि केन्द्रीय समितिको बैठक हुन नसकेको अवस्था छ । यस्तै भातृ संस्थाहरुलाई पूर्णता दिन नसकेको, सभापति देउवाले जिल्लाबाट आएका काँग्रेसका महासमिति सदस्य र जनप्रतिनिधिको गुनासो नसुन्ने गरेको र देउवा सत्ता जोगाउन मात्रै लागिपरेको आरोप लागेको छ ।
स्थानीय तहको अपार सफलतापछि अब संघ र प्रदेशको निर्वाचनको जिम्मेवारी सहमहामन्त्रीहरुलाई दिएर सातै प्रदेशमा खटाउनुपर्ने जानकारहरुले बताएका छन् ।

जसपालाई पनि मन्त्री फेर्न दबाब
काठमाडौँ÷ मन्त्री परिवर्तन गर्ने नेकपा (एकीकृत समाजवादी) को निर्णय २३ दिनपछि कार्यान्वयन भएको छ । गत जेठ २२ गते सिफारिस भएका नेकपा एसका चारजना मन्त्रीहरुले असार १३ गते शपथ ग्रहणपछि पदवहाली गरेका छन् ।
नेकपा एसका चारजना नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ (संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन), मेटमणि चौधरी (शहरी विकास), शेरबहादुर कुँवर (श्रम तथा रोजगार), भवानी खापुङ (स्वास्थ्य तथा जनसंख्या) र हिराचन्द्र के.सी. (स्वास्थ्य राज्यमन्त्री) बनेका छन् । खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए ।
नेकपा एसले फिर्ता बोलाएका मन्त्रीहरुले सकेसम्म असार महिनासम्म धानिएर असारे विकास हात पार्न जोडबल गरेका थिए भने शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले त मन्त्रालयमा रुवाबासी नै गरेकी थिइन् ।
नेकपा एसले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय असार १३ गते राति बसेको अध्यक्ष पक्षधर कार्यकारिणी समितिको बैठकले गरेको छ । जसपाबाट हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, रेणुकुमारी यादव ( भौतिक पूर्वाधार तथा यातायात), रामसहायप्रसाद यादव (वन) र महिन्द्र राय यादव (कृषि तथा पशुपंक्षी विकास) मन्त्री छन् ।
कार्यकारिणी समितिमा बहुमत रहेकाले अध्यक्ष उपेन्द्र यादवले मन्त्री रेणु यादवबाहेक बाँकी सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको समाचार स्रोतले बताएको छ । अध्यक्ष यादवले मन्त्री फिर्ता बोलाउनेबारे माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई गत असार १३ गते भेटेर सहयोग गर्न आग्रह गरेका छन् । जसपाबाट बन्ने नयाँ मन्त्रीहरुमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र अमृता अग्रहरिको नाम चर्चामा छ ।
यता, काँग्रेसबाट मन्त्री परिवर्तन नगर्ने सोचमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सुजाता कोइराला, पुष्पा भुसाल, डा. डिला संग्रौला, सञ्जय गौतम, राजन के.सी., तेजुलाल चौधरी, बहादुरसिंह लामा र जिपछिरिङ लामाले पनि इच्छा प्रकट गरेपछि दबाब बढेको बताइएको छ । काँग्रेसमा परराष्ट्रमन्त्री नारायण खड्का र महिला, बालबालिका तथा समाज कल्याणमन्त्री उमा रेग्मीको क्षमता सन्तोषजनक मानिएको छैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *