मंसिरमा संघीय र प्रदेशसभाको निर्वाचन : आ–आफ्नै तयारी विभिन्न विकल्प खुला

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर÷ संघीय र प्रदेशसभा निर्वाचनको आगामी मंसिरमा हुने भएको छ । निर्वाचनको मिति तोक्नका लागि निर्वाचन आयोगले मंसिरको ४ गते उपयुक्त हुने भनी आयोगले सिफारिस गरेका कारण सरकार उक्त मितिमा निर्वाचन गराउने अवस्थामा पुगेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जानकारी गराइएको छ । निर्वाचन कहिले गराउने भनी सत्तारुढ दलहरुका बीचमा पटक पटक वार्ताहरु भएका थिए । बिहीबार समेत यो विषयलाई लिएर सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । गठबन्धनको बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न प्रस्ताव गरेका थिए । अन्य दलहरुले समेत आन्तरिक छलफल गरी निर्वाचनको मिति तोक्न सकारात्मक जबाफ दिएका कारण निर्वाचनको मिति तोक्ने अवस्थामा सरकार पुगेको हो ।
अबको संघीय र प्रदेशको निर्वाचन एकै चरणमा हुने भएको छ । गत स्थानीय निर्वाचन एकै चरणमा सम्पन्न गराउन वर्तमान सरकार सफल भएका कारण पनि आगामी संघीय र प्रदेशसभाको निर्वाचन पनि एकै चरणमा गर्ने तयारीमा सरकार लागेको हो । आगामी निर्वाचनको मितिका विषयमा सत्तारुढ दलहरुमा केही मत भिन्नता पनि देखिएका थिए । खासगरी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले मंसिरमा भन्दा पनि फागुनमा निर्वाचन गराउँदा उचित हुने मनसाय राखे पनि प्रधानमन्त्री देउवा भने मंसिरमै निर्वाचन गराउने पक्षमा देखिएका हुन् ।
ज्योतिषीको ज्योतिषमा समेत विश्वास राख्ने देउवालाई उनका निजी ज्योतिषले आगामी मंसिर ४ गते निर्वाचन गर्नु उचित हुने भनी सुझाएको पनि चर्चामा आएको छ । सोही कारण पनि देउवाले उक्त दिनलाई राम्रो ठानेको पनि चर्चामा रहेको विषय हो ।
हालको प्रतिनिधिसभालाई दुई पटक विघटन गर्न सिफारिस गरेका नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको यस विषयमा प्रतिक्रिया आइसकेको छैन । सधैं विघटनको पक्षमा देखिएका ओलीले समेत आगामी निर्वाचनको मितिमा आपत्ति नगर्ने विश्वासका साथ सरकारले निर्वाचन गराउने तयारी थालेको हो । एमाले प्रमुख प्रतिपक्षी दल समेत रहेको हालको अवस्थामा उक्त दलले यस विषयलाई कसरी लिन्छ भन्ने चासो पनि राजनीतिक वृत्तमा चलिरहेको स्थिति छ । एमालेले पनि निर्वाचनलाई आफ्नो दलले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएको छ । मिति तोक्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी दल एमालेलाई नसोधिएको भन्ने कुरामा एमालेको गुनासो रहे पनि निर्वाचन हुने भन्ने कुरामा उसको कुनै पनि विरोध नरहेको बताइएको छ ।
यसरी निर्वाचनको मिति तोकिने अवस्था आएपछि दलहरु आ–आफ्नै तयारीमा लाग्ने देखिएको छ । खासगरी सबैजसो दलहरुले आप्mनो दललाई अनुकुल हुने गरी वातावरण बनाउने देखिएको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुमा भने गठबन्धनका दलहरुका बीचमा के कसरी तालमेल गर्ने वा यसलाई कायम राख्ने भन्ने कुराले महत्व पाउन थालको छ ।
सत्तारुढ गठबन्धन भित्र पनि विभिन्न किसिमका विचार र धारणाहरुले मान्यता पाइरहेका कारण हालसम्म पनि निश्चित खाका कोरिएको अवस्था छैन । गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेसको पहिलो प्राथमिकता सबै दलहरुले छुट्टाछुुट्टै प्रतिस्पर्धा गर्ने अवस्था आओस् भन्ने नै रहेको छ । त्यस्तो अवस्था नरहँदा आफ्नो दलको अवस्था अहिलेको स्थितिमा राम्रो रहेको बुझाइमा रहेको कांग्रेसले अन्य घटकहरुसँग गठबन्धन गर्दा आफ्नो स्पष्ट बह्मत आउने गरी आन्तरिक तयारी गरेको अवस्था छ ।
कांग्रेसको यो तयारी जानकारी पाएका सत्तारुढ घटकका अन्य दलहरु भने कांग्रेससँग बढीभन्दा बढी सिट लिने वातावरण बनाउने पक्षमा देखिएका छन् । त्यसका लागि उनीहरुले आफूहरुले अर्को गठबन्धन बनाउन पनि सक्ने भन्दै कांग्रेसलाई तर्साउने कार्य गर्दै आएका छन् । उनीहरुले घरी एमालेसँग पनि मिल्न सकिने त घरी गठबन्धन भित्रैबाट अर्को उपगठबन्धनसमेत गर्न सकिने तयारी सार्वजनिक गरेका छन् ।
यसैगरी माओवादी केन्द्र र एकीकृत समाजवादीले उस्तै परे कम्युनिष्ट सोचका दलहरुलाई एक ठाउँमा ल्याई ‘समाजवादी केन्द्र’ बनाउने समेतको विकल्पमा आफूहरु रहेको जनाउ दिएका छन् ।
उता, प्रमुख प्रतिपक्षी दल एमालेको मुख्य ध्याउन्न भने हालको गठबन्धनलाई जसरी सकिन्छ तोड्ने नै भन्ने रहेको छ । यसका लागि एमालेले विभिन्न किसिमका तयारी तथा चालबाजी गर्दै आएको छ । एमालेले गठबन्धन भत्काउन नसके स्थानीय चुनावमा जस्तै जहाँ जोसँग मिल्दा हुन्छ त्यतै लाग्ने तयारी गरिरहेको पनि समाचार स्रोतले बताएको छ । यसका लागि राप्रपा नेपाल, राप्रपा तथा अन्य जुनसुकै दलहरुसँग गठबन्धनमा जान सक्ने अवस्थामा एमाले रहेको बताइन्छ ।
यसैगरी दोधारको अवस्थामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि रहेको छ । यो दललाई एमालेले आफूसँग गठबन्धन गराउन लागिपरेको अवस्था छ । एमालेसँग मिल्दा फाइदा कि कांग्रेससँग मिल्दा भन्ने कुरामा यो दलले हिसाब किताब गरिरहेको स्थिति छ । अध्यक्ष महन्थ ठाकुर भने कांग्रेससँग मिलेर जाने पक्षमा रहेका बताइन्छ । हालको सरकारले नागरिकता विधेयक ल्याएका कारण पनि ठाकुर कांग्रेसप्रति सकारात्मक देखिएका हुन् ।
त्यसो त निर्वाचनको आचार संहिता लागू हुनुपूर्व नै लोसपालाई सरकारमा सामेल गराउने तयारीमा देउवा र ठाकुर रहेको पनि चर्चा चलिरहेको छ । देउवाले आफैंले सम्हालिरहेका दुइटा मन्त्रालय लोसपालाई दिएर सरकारमा सामेल गराउने तयारीमा उनी रहेको पनि बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *