कोरोनाको नियन्त्रणमा सतर्कता जरुरी (सम्पादकीय)

Nayabimarsha (Weekly Newspaper from Nepal)

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । यसको असर हाम्रो देश नेपालमा पनि परिरहेको छ । समग्रमा नेपालमा समस्या देखिएको हालको अवस्थामा नेपालको सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ । यसरी संक्रमण बढिरहेको अवस्थामा पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने कमै अपनाइएको देखिन्छ । भारतका विभिन्न शहरहरुमा सङ्क्रमण बढेसँगै सो क्षेत्रमा पनि कोरोना भाइरसका संक्रमणकारीहरुको संख्यामा बढोत्तरी भएको देखिन्छ । त्यस क्षेत्रको गड्डाचौकी, गौरीफन्टा र बैतडीको झुुलाघाट नाकाबाट भारतमा रहेका नेपालीजन स्वदेश फर्किने क्रममा दिनहुँजसो सङ्क्रमण देखिने क्रम बढेको हो । त्यहाँका सबै सीमानाकामा प्रदेश सरकारको पहलमा स्वास्थ्य सहायता कक्षमा स्वास्थ्यकर्मीहरुको टोलीले कोरोना परीक्षणको कार्यहरु गर्दा उनीहरुमा कोरोना भाइरससहित त्यसविरुद्धको खोप अभियान पनि सञ्चालन गरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा भारतबाट स्वदेश फर्किने दैनिकजसो सयजना नेपालीमा कोरोना देखिने गरेको छ । निर्देशनालयका अनुसार एकै दिन कञ्चनपुरको गड्डाचौकी नाकामा ७४, कैलालीको गौरीफन्टा नाकामा १९, बैतडीको झुलाघाट नाकामा एक गरी ९४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणमा कैलालीको सेती प्रादेशिक अस्पतालमा २१, महाकाली प्रादेशिक अस्पतालमा एक, डडेल्धुरा अस्पतालमा दुई र अछाममा एक जनामा सङ्क्रमण देखिएको जनाइएको छ ।
यस्तो अवस्थामा यसको संक्रमणलाई रोक्नका लागि मास्क लगाउने तथा भीडभाड नगर्नु उत्तम उपायको रुपमा रहेको कुरा जगजाहेर छ । यस्तो अथार्थ भए पनि चेतनामूलक सूचना पनि जारी नगरिएको अवस्था देखिन्छ । यसैगरी सङ्क्रमणबाट बच्नका लागि सर्वसाधारणले सचेतना अपनाउनुपर्ने अवस्था छ । कोरोना महामारी सुरु भएयता सुदूरपश्चिममा तीन सय ८८ जनाले ज्यान गुमाइसकेको अवस्थामा सो क्षेत्रका जनताले झनै सचेतना अपनाउनु जरुरी देखिएको छ । कैलालीमा एक सय ७८, कञ्चनपुरमा एक सय २८, डडेल्धुरामा २२, बैतडीमा १७, डोटीमा १२, बझाङमा १०, अछाममा नौ, बाजुरामा पाँच र दार्चुलामा तीन जनाले ज्यान गुमाएको निर्देशनालयको तथ्याङ्कबाट देखाएको छ ।
कोरोना संक्रमणको दर बढेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा लगाइएको खोपको मात्रा पनि कम नै रहेको तथ्यांकले देखाएको छ । २७ लाख बढी जनसंख्या भएको सो क्षेत्रमा १८ लाख एक हजार जनाले मात्र खोप लगाएका छन् । प्रदेश सरकारले २२ लाखभन्दा बढीलाई खोप लगाउने लक्ष्य लिए पनि त्यो पूरा हुन नसकेको अवस्था छ । यस्तो अवस्थामा खोप लगाउने कार्य र सचेतनाको जरुरी देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा समेत रहेको त्यस क्षेत्रमा देखिएको समस्याप्रति प्रधानमन्त्रीले समेत समयमै पहल गर्नु जरुरी देखिन्छ । यस्तो अवस्थामा सरकारको मुख मात्र जनताले नताकी आफ्नै तर्फबाट पनि संक्रमण रोक्ने कार्यलाई सहयोग पुग्नेगरी कार्य गर्नु उचित हुन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *