सम्पादकीय
वर्तमान सरकारको नेतृत्व गर्ने दल हो नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेलिनवादी) । यो दललाई पूरा नामले भन्दा पनि छोटकरीमा नेकपा (एमाले) भन्दा बढीमात्रामा चिनिने गर्दछ । अझ कतिपय अवस्थामा एमाले मात्र भन्दा पनि यही दललाई चिन्ने गरिन्छ । खासगरी २०४६ सालको परिवर्तनपछि नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकीकरण गरेर बनेको यो दल त्यसपछि नेकपा (एमाले) भनी चिनिन थालेको हो । यो दलको हालका अध्यक्ष खड्गप्रसाद शर्मा ओली हुन् । उनै ओली अहिले प्रधानमन्त्री पनि छन् । यसरी हेर्दा नेकपा (एमाले) का अध्यक्ष ओली र प्रधानमन्त्री ओली एकै व्यक्ति हुन् । उनकै नेतृत्वमा वर्तमान सरकार तथा नेकपा (एमाले) रहेको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीका हैसियतमा उनले गर्ने धेरैजसो कार्यहरुलाई नेकपा (एमाले) सँग जोडेर पनि हेर्ने गरिन्छ । यो स्वभाविक पनि हो ।
पछिल्लो समय मुलुक बाढी पहिरोको मारमा परेको अवस्था छ । दशैंको मुखमा आएको बाढी पहिरोको कारण दुई सयभन्दा बढी व्यक्तिको मृत्यु भयो भने धेरै मानिसहरु हराइरहेका छन् । यसैगरी अन्य पशुपंक्षीको त हिसाब किताव नै छैन । गरिब जनता बाढी पहिरोको कारण घरबारविहीनको अवस्थामा पुगेका छन् । उनीहरु सानो राहतको पर्खाइमा रहेको बेला छ । उनीहरुका लागि सानो सहयोग पनि ठूलो हुने अवस्था छ । यस्तो बेलामा प्रधानमन्त्री वा उनको दलको मुख्य ध्याउन्न पीडित जनताको आहतमा मल्हम लगाउनु पर्ने हो । त्यसैगरी कम्युनिष्ट नाम जोडिएको नाकधारी दलबाट पीडित जनताले भुँइमान्छेको पक्षमा सरकारले निर्णय गर्ने अपेक्षा गर्नु स्वभाविक हो । तर, परिस्थिति ठीक विपरित देखिएको छ । सरकार चलाउने प्रधानमन्त्रीको ध्याउन्न गरिब वा पीडित जनताको पक्षमा नभई आफू र आफ्नो दलको दुनो सोझ्याउनु नै रहेको देखिएको छ । विवादित व्यवसायी मीनबहादुर गुरुङबाट आफ्नो दलको नाममा जग्गा प्राप्ति गरी भवनसमेत बनाउने तारतम्य प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीले मिलाएका छन् । त्यसरी विवादित व्यापारी जो अदालतमा भ्रष्टाचारको मुद्दा खेपी रहेका छन्, तिनैको दान भन्दै प्रधानमन्त्री समेत रहेका ओली आफ्नो दलको नाममा जग्गा लिन तथा त्यसमा उनै व्यापारीबाट भवन बनाउन पाउँदा मख्ख देखिएका छन् ।
ओलीको यो व्यापारी पोस्ने तथा नेपाली जनताको खुशी खोस्ने कार्यले भँुइमान्छे अर्थात सर्वसाधारणमा निराशा छाएको छ । निर्वाचनको समयमा गरिब तथा भुँइमान्छेको पक्षमा आफूलाई खरो उतार्ने नारा दिने गरेको एमाले तथा सोही दलका नेताहरु अहिले विवादित व्यापारीबाट जग्गा बक्सिस लिने आशामा आफ्नो धर्म विर्सन पुगेको अवस्था छ । दलको नाममा कम्युनिष्ट नाम राखेर एमाले तथा एमालेका नेताहरुले कम्युनिष्ट शब्दकै बद्नामी गरिरहेको अवस्था छ । उनीहरुले सर्वहारा, गरिब जनताको पक्षमा भन्दा पनि मालिक वर्गका लागि कार्य गर्दै आउँदा कम्युनिष्टप्रति आस्था राख्नेहरुको मर्ममाथि प्रहार भएको छ । जनताको पक्षमा आफूलाई उभ्याउनु पर्ने एमाले नामको दलले आफ्नो स्वार्थको लागि जस्तो पनि स्वीकार्न तरार रहेको भनी आलोचना भैरहेको छ । यसरी एमालेले विवादित व्यापारीसँग दान लिए बापत उनलाई राजनीतिक संरक्षण दिने निश्चित छ । दाता भ्रष्टाचार मुद्दामा हिरासतमा रहिसकेका व्यक्ति हुन् । उनको मुद्दा अदालतमा विचाराधीन छ । यस्तो अवस्थामा उनलाई प्रधानमन्त्री ओलीले राजनीतिक आडमा कुनै जुक्ति निकाल्ने संभावना रहेको भनी सर्वत्र चासो छाएको अवस्था छ । व्यापारीसँग साँठगाँठ भएको भनी यसको आलोचना भैरहेको छ । एमालेमा केन्द्रीयस्तरका नेतानेतृहरुले समेत यो कुराको आलोचना गर्न थालेका छन् । यो कुराको आलोचना गर्ने भीमबहादुर रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई सम्मान गर्नुको साटो उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय एमालेले गरेको छ । यस्तो हर्कत गर्ने एमालेलाई कम्युनिष्ट भन्दा पनि कमाउनिष्ट नाम सुहाउने भनी चर्चा चलिरहेको छ । त्यसैले एमालेले यो आरोपबाट मुक्त हुनका लागि आफूलाई सही मार्गमा लान सक्नु आजको आवश्यकता हो ।