धूमपानको नियन्त्रणसँगै जनचेतना जरुरी

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय
काठमाडौं महानगरपालिकाले यही असोजको शुरु दिन अर्थात १ गतेबाट लागू हुने गरी सार्वजनिक स्थलमा धूमपान निषेध गर्ने निर्णयको परीक्षा शुरु भएको छ । महानगरले सूचना जारी गर्दै यसअघि नै सार्वजनिक स्थलमा धूमपान नगर्न आग्रह गरेको हो । सार्वजनिक स्थलमा धूमपान गरेमा महानगरपालिकाले कानून बमोजिम कारबाही गर्ने कुरा सूचनामा उल्लेख गरेको छ । महानगरको यो निर्णय कार्यान्वयन भएमा काठमाडौंले नयाँ मुहार पाउने भनी वातावरणवादीहरुसमेत मख्ख परेको अवस्था छ । महानगरको कदम यो अर्को राम्रो कदम भएकाले यसको पालना गर्नु सबैको कर्तव्य रहेको आम बुझाइ छ । सार्वजनिक स्थलमा धूमपान गर्नेलाई मात्र नभई यसको धुवाँको सम्पर्कमा आउने व्यक्तिलाई पनि यसले उत्तिकै नराम्रो असर पार्दछ ।
महानगरले सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुटखा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पद्धार्थको नशा लिने वा सेवन गर्ने कार्य निषेध गरेको छ । महानगरपालिकाको यो सूचना उल्लङ्घन गर्ने व्यक्तिलाई सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानून उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिए बामोजिमको जरिवाना गरिने जनाएको छ । सार्वजनिक स्थल भन्नाले कस्ता स्थलहरुलाई मानिन्छ भनी सर्वसाधारणमा अन्यौल छाएको छ । यस्तो कुराको विषयमा ऐनमा उल्लेख भए अनुसार सरकारी मातहतका सार्वजनिक संस्थाहरुमा, राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्य सम्बन्धि संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बालउद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कल कारखानाका कार्यस्थललाई सार्वजनिक स्थल मानिएको छ । यस्तै सार्वजनिक स्थल भित्र चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, रिसोर्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह, रङ्गशाला, कभर्डहल, शारीरिक सुगठन व्यापाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, डिमार्टमेण्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल, सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउन्टर पनि समेटिएका भनी ऐनमा उल्लेख छ ।
महानगरले यो व्यवस्थाका विषयमा पहिले पनि विभिन्न सूचनाहरु जारी गर्ने गरेको थियो । पहिला पनि यस्ता सूचनाहरु आउने गरेकाले यस पटकको यो सूचना पनि सूचनाकै रुपमा मात्र आई त्यसै रहने पो हो कि भन्ने आशंका पनि उब्जिएका छन् । पछिल्लो समय काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह (वालेन) निर्वाचित भएपछि उनी खरो रुपमा उत्रिन थालेका छन् । विभिन्न कार्यहरु गर्दै आएका प्रमुख साहले पछिल्लो समय जोखिम मोलेर विभिन्न निर्णयहरुलाई अघि बढाउँदै आएका छन् । यस्तो अवस्थामा यो निर्णय पनि पालना भएका खण्डमा यसले काठमाडौंका मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका अतिरिक्त वातावरणमा समेत राम्रो प्रभाव पार्ने देखिन्छ । यो कार्य कुनै व्यक्ति विशेषको पहलमा मात्र संभव हुने कुरा होइन । यसका लागि जनस्तरमा चेतना हुनु जरुरी छ । त्यसैगरी यसको पालनाका लागि महानगरपालिकाले पनि विभिन्न स्थानहरुमा ‘धूमपान गर्ने क्षेत्र’ हरु बनाएर यसका अम्मलीहरुलाई निश्चित ठाउँ तोकिदिएको खण्डमा अम्मलीहरुलाई पनि सहज हुने थियो भने अन्यलाई त्यसको मारबाट पार मिल्ने थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *