विराट अनुपम
इटहरी/ सात दशक लामो सत्ता सम्हालेर गत बिहीबार (सेप्टेम्बर ८÷भदौ २३) मा मृत्यु भएकी बेलायती महारानी एलिजाबेथले दुई पटक नेपाल भ्रमण गरेकी थिइन् । पहिलो भ्रमण सन् १९६१ फेब्रुअरी २६ देखि २८ (२०१७ फागुन १५ देखि १७) सम्म भएको थियो ।
२०१७ पुस १ गते (१९६० डिसेम्बर १५) को महेन्द्रको ‘टेकओभर’ पछि भएको भ्रमण भएकाले अस्वाभाविक थियो । आफूलाई प्रजातन्त्रको जननी मान्ने बेलायतले प्रजातान्त्रिक पद्धतिबाट निर्माण भएको नेपालको प्रथम जननिर्वाचित सरकार र सिस्टमलाई भंग गरेर प्रत्यक्ष सत्ता हातमा लिएका राजा महेन्द्रको कदमको गरमागर्मीकै समयमा महारानी एलिजाबेथ नेपाल आएकी थिइन् ।
महेन्द्रको ‘टेकओभर’ भएको साढे दुई महिनामा भएको उक्त भ्रमण रोक्न नेपाली कांग्रेसले धेरै जोडबल गरेको थियो । नेपालको प्रजातन्त्र हत्याइएकाले बेलायत जस्तो प्रजातन्त्रको जननी देशको महारानीले भ्रमण गरेर महेन्द्रलाई साथ दिनुहुन्न भन्ने कांग्रेसको ‘लबिङ’ थियो । कांग्रेसको मात्रै हैन बेलायतकै प्रतिपक्षी दल लेबर पार्टीले पनि भ्रमण रोक्न माग गरेको नेपालको परराष्ट्र मामिलामा विद्यावारिधि सोध गरेका भारतीय विज्ञ एसडी मुनीको पुस्तक ‘फरेन पलिसी अफ नेपाल’ मा उल्लेख गरिएको छ । मुनीको पुस्तकका अनुसार लेबर पार्टीले महेन्द्रको ‘टेकओभर’ को विरोध पनि गरेको थियो । उक्त विरोधको समाचार ‘द स्टेट्सम्यान’ को सन् १९६१ को जनवरी ७ र १३ तथा मार्च १६ मा प्रकाशित भएका थिए ।
महारानीको भ्रमण अगाडि कांग्रेसको ‘लबिङ’ कै कारण भ्रमणको माहोल बुझ्न बेलायतका एक मन्त्रीले एक महिना अगाडि नै नेपालको भ्रमण गरेर अवस्थाको जानकारी लिएका थिए । बेलायतका युद्धमन्त्री जोन प्रोफ्युमो नेपाल आएर अवस्था बुझेका थिए । प्रोफ्युमोदेखि महारानीको भ्रमणसम्ममा कांग्रेसले पर्चा तथा पम्प्लेटहरु छरेर भ्रमण रद्ध गर्न आग्रह गरेको थियो । ती तमाम विरोधका बावजुद महारानीको भ्रमण भएको थियो ।
महेन्द्र र महारानीको सत्तारोहण लगभगसँगै भएको हो । सन् १९५२ को फेब्रुअरी ६ (२००८ माघ २३ गते) बाट महारानी भएकी थिइन् एलिजाबेथ । त्यो समयमा उनको उमेरमात्रै २५ वर्ष थियो । महेन्द्रको सत्तारोहण त्यसको तीन वर्षपछि सन् १९५५ मार्चमा भएको थियो । महेन्द्र त्यति बेला ३५ वर्षका थिए ।
भ्रमणमा नेपालका राष्ट्र प्रमुख महेन्द्र र बेलायती राष्ट्र प्रमुख महारानी एलिजाबेथ दुवैले एक–अर्काको देशको परम्परादेखि चलिआएको मित्रताको कुरा गरेका थिए । महेन्द्रले रात्रीभोज भाषणमा आफूले ल्याएको प्रजातन्त्र (पञ्चायत) ले तत्काल नतिजा राम्रो नदेखाए पनि दीर्घकालमा राम्रो हुने तर्क गरेको मुनीको पुस्तकमा उल्लेख छ । जवाफमा महारानी एलिजबेथले भनेकी थिइन्, ‘तपाईंको सरोकारमा तपाईं एक्लै हुनुहुन्न ।’
भ्रमणको दौरानमा महारानीले हालको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघ र गैंडा सुटिङमा सहभागी भएकी थिइन् । बाघ र गैंडाको शिकार गर्ने परम्परा बेलायतीहरुलाई राणा शासकले चलाएको एक चलन थियो । चन्द्रशमशेरको प्रधानमन्त्रीत्व कालमा बेलायतका राजा जर्ज पाँचौंको सन् १९११ को नेपाल भ्रमणमा समेत शिकार गरिएको थियो । महेन्द्रले तीन सय २७ हात्तीको जोहो गरेर महारानीलाई शिकारको व्यवस्था गरेका थिए ।
चितवनपछि महारानीले भिक्टोरिया क्रस विजेता गोर्खा योद्धा लालबहादुर थापासमेत सहभागी भएको पहिलो दोस्रो विश्व युद्धका २०० वरिष्ठ योद्धासँग भेटघाट गरेको ‘ब्रिटिस पाथे’ नामक च्यानलले बनाएको भ्रमणको एक छोटो डकुमेन्ट्रीमा उल्लेख छ । डकुमेन्ट्रीमा महारानीले नेपाल भ्रमण सक्नु अगाडिको प्रसंगमा नेपाललाई ‘महेन्द्रको रोमान्टिक अधिराज्य’ भनेर व्याख्या गरिएको छ । – नेपाल प्रेसबाट)
सगरमाथा आरोहणको समाचार महारानीलाई लुकाइयो
सन् १९२२ मा सगरमाथा आरोहणको लागि सुनियोजित र व्यावसायिक अभियान शुरु भएको थियो अर्थात् आजभन्दा ठ्याक्कै एक सय वर्ष अगाडि । विश्वको यो सर्वोच्च शिखर आरोहणको पहिलो सफल अभियान पूरा गर्न ३१ वर्ष लाग्यो ।
सन् १९५३ मे २९ मा नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेको बारेमा विश्वका बाँकी समुदायलाई जानकारी दिइएको इतिहास पनि कम रोमाञ्चक छैन । सबैभन्दा अचम्मको कुरा के छ भने यति ठूलो खबरलाई पाँच दिनसम्म चरम गोप्य रुपमा सारा संसारबाट लुकाएर राखिएको थियो ताकि लण्डनमा महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेकको सूचना बिहानै घोषणा गर्न सकियोस् ।
आजको युगमा सायद यो कुरा कल्पना पनि गर्न सकिँदैन । त्यतिबेला यो काम सहज थिएन । त्यसबेला द टाइम्सका संवाददाता जेम्स मोरिसले यसका लागि धेरै संघर्ष गर्नुपरेको थियो । मोरिस सगरमाथा आरोहण कभर गर्न ‘आधिकारिक संवाददाता’ थिए । ब्रिटिश सरकारको आर्थिक सहयोगमा यो पूर्णतया ब्रिटिश सगरमाथा आरोहण अभियान थियो । यस अभियानको एउटा उद्देश्य रानीलाई उनको राज्याभिषेकको अवसरमा विशेष उपहार दिनु थियो । त्यो विशेष उपहार सगरमाथा विजयको खबर थियो ।
जेम्स मोरिसले पछि यस अभियानका बारेमा ‘कोरोनेसन एभरेस्ट’ नामक पुस्तक लेखे । उनले यो अचम्मको घटनाको बारेमा विस्तृत रूपमा उल्लेख गरे । ‘द टाइम्स’ म्यागजिनले पछि लेख्यो, ‘सांकेतिक शब्द वा कोडको प्रयोग गरेर तयार पारिएको हाम्रो त्यो ‘स्कूप’ ले रानीको राज्याभिषेकको आनन्दलाई कैयौं गुणा बढाएको थियो ।’
तेन्जिङ नोर्गेका छोरा जमलिङ तेन्जिङ आफैं पनि पर्वतारोही हुन् र सगरमाथा आरोहण गरेका छन् । उनले बीबीसी बंगलालाई भने, ‘सम्पूर्ण मामिला निकै गोप्य राखिएको थियो । बेलायतले रानीको राज्याभिषेकअघि युनियन ज्याक सगरमाथामा फहराइयोस् भन्ने चाहना राखेको थियो । यो भन्न सकिन्छ कि यो खबर राज्याभिषेकको दिन रानीलाई साम्राज्यको तर्फबाट एउटा अद्भूत उपहार थियो ।’
उनका बुबाले सगरमाथामा बेलायतको राष्ट्रिय झण्डा मात्र होइन संयुक्त राष्ट्र संघ, नेपाल र भारतको झण्डा पनि फहराएर आएका थिए । जेम्स मोरिस मात्र होइन अन्य दुई वरिष्ठ पत्रकार पनि त्यसबेला सगरमाथा आरोहणको खबर पठाउन नेपालको खुम्बु क्षेत्रमा घुमिरहेका थिए ।
पर्वतारोहण इतिहासकार मार्क होरेलका अनुसार, ‘यद्यपि जेम्स मोरिसलाई त्यो अभियान कभर गर्नको लागि ठेक्का दिइएको थियो तर डेली मेलका राल्फ इजार्ड र रोयटर्सका पिटर ज्याक्सन पनि त्यतिबेला त्यहाँ क्याम्पमा बसिरहेका थिए ।’
‘ती मानिसहरू पनि दिनहुँ गाईड र भरियाहरू राखेर यता–उता घुमिरहेका थिए र अभियान कत्तिको अगाडि बढ्यो वा को निराश भएर फर्किए जस्ता सबै जानकारी सङ्कलन गरिरहेका थिए ।’ कुनै पनि आरोहण अलिकति सफल वा असफल भएमा सगरमाथा आधार शिविरबाट नै ‘धावक’ मार्फत तलको नाम्चे बजार भन्ने पहाडी गाउँमा त्यो खबर पठाइन्थ्यो । नजिकैको टेलिग्राफ अफिस त्यहीँ थियो ।
प्रहरीको सेवामा रहेका तिवारी नामका एकजना सज्जन त्यही टेलिग्राफ अफिसमा अपरेटरको रूपमा कार्यरत थिए । कुनै गोप्य खबर पठाएको अवस्थामा त्यो धावक वा तिवारीलाई सोधपुछ गर्दा पर्दाफास हुने खतरा थियो । यसबाहेक टेलिग्राफबाट पठाइएका सूचना कान थापेर जो कोहीले सुन्न सक्ने थिए । यसकारण जेम्स मोरिसले अभियानको समाचार सांकेतिक वा गोप्य कोडमार्फत काठमाडौं हुँदै लण्डन पठाउने निर्णय गरेका थिए । जेम्स मोरिसबाहेक यो गोप्य कोड काठमाडौंस्थित ‘द टाइम्स’का अर्का पत्रकार आर्थर हचिन्सनलाई मात्र थाहा थियो । लन्डनमा समाचार पठाउनको लागि हचिन्सन जिम्मेवार थिए । पछि अनिच्छुक भए पनि तिवारीलाई पनि यसबारे बताउनुपर्ने भएको थियो ।
बनाइएको कोड शब्दहरूको सूची पजल जस्तै थियो । एडमन्ड हिलारीको सट्टा ‘एडभान्स्ड बेस्ड एबन्डन्ड’ र तेन्जिङ नोर्गेको सट्टा ‘अवेटिङ इम्प्रुभमेन्ट’ भन्ने निर्णय भयो । यी शब्द सुन्दा मौसम सुध्रिन्छ कि भनेर पर्खिइँदैछ भनेको जस्तो लाग्थ्यो । यस्ता धेरै शब्द थिए । अर्कोतर्फ लण्डनस्थित टाइम्सको सम्पादकीय टोलीले पनि सगरमाथा आरोहण गरेको अवस्थामा मात्रै यो कोड प्रयोग गरिने बताएको थियो । जेम्सले बाँकी समाचारहरू सरल शब्दहरूमा मात्र पठाउनेछन् भन्ने तय थियो । यही कारण हिलारी र तेन्जिङको सगरमाथा आरोहण सफलतापूर्वक सम्पन्न भएको भोलिपल्ट बेस क्याम्पमा बसेर जेम्स मोरिसले आफ्नो टाइपराइटरमा यस्तो सन्देश टाइप गरेका थिए । ‘स्नो कन्डिसन्स ब्याड स्टप एडभान्स्ड बेस्ड एबन्डन्ड यस्टर्डे स्टप अवेटिङ इम्प्रुभमेन्ट अल वेल ।’
यो वाक्यलाई एक नजरमा पढ्दा अभियान रद्द भएको महसुस हुनु स्वाभाविक हो तर यसको वास्तविक अर्थ थियो ‘पछिल्लो दिन (२९ मे) मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथाको चुचुरो जितेका छन् । सबै राम्रै चलिरहेको छ । ‘स्नो कन्डिसन्स ब्याड’ भनेको सगरमाथा आरोहण पूरा भइसक्यो भनिएको थियो ।
यो सन्देश लिएर एक धावक नाम्चे बजारतिर दौडे । त्यहाँबाट यो सन्देश तिवारीले आफ्नो रेडियोबाट काठमाडौंमा आर्थर हचिन्सनलाई पठाए । यो जानकारी हचिन्सनको माध्यमबाट सोही दिन दिउँसो लन्डनस्थित टाइम्सको कार्यालयमा पुग्यो । भोलिपल्ट रोयटर्सका पिटर ज्याक्सनसँग जेम्स मोरिसको नाम्चे बजारमा अचानक भेट पनि भयो । त्यसपछि मोरिसले बेलायती अभियान असफल भएको जस्तो नाटक गरे । अर्को वर्ष सगरमाथा आरोहणको अनुमति फ्रान्सले किनेको थियो । उनीहरूलाई औंल्याएर, मोरिसले भने, ‘तपाईंलाई थाहा छ फ्रान्सेलीहरूले यो गर्छन् ।’ पिटर ज्याक्सनको मनमा अलिकति शंका पक्कै थियो तर उनले साथीलाई केही भनेनन् ।
जुन २ को बिहान, ‘द टाइम्स’ को शीर्षक थियो–एभरेष्ट कंकर्डः हिलारी एण्ड तेन्जिङ रिच द समिट । अर्थात् सगरमाथा विजय – हिलारी र तेन्जिङ शिखरमा पुगे । त्यसको ठीक छेउमा त्यो दिन रानीको राज्याभिषेक हुने खबर पनि आयो । जसमा राज्याभिषेकका लागि तोकिएको रुटमा हजारौं मानिसले लण्डनका सडकमा कसरी रात बिताएका छन् भन्ने जानकारी दिइएको थियो ।
जेम्स मोरिस त्यो दिन नाम्चे बजारबाट करिब छ माइल दक्षिणमा ओर्लिएका थिए । दूधकोशी नदीको छेउमा रहेको आफ्नो पालमा रेडियोमा बीबीसी राख्दै अन्ततः सगरमाथामा मानिसको खुट्टा खसेको सुने र महारानी एलिजाबेथलाई पनि अभिषेक हुनुअघि नै यो खुशीको खबर दिइएको थियो ।
जेम्स मोरिस त्यो दिन नाम्चे बजारबाट करिब छ माइल दक्षिणमा ओर्लिएका थिए । दूधकोशी नदीको छेउमा रहेको आफ्नो पालमा रेडियोमा बीबीसी बजाउँदै उनले अन्ततः सगरमाथामा मानिसको पाइला परेको र यो खुसीको खबर महारानी एलिजाबेथलाई पनि अभिषेक हुनुअघि नै दिइएको समाचार सुने । त्यस दिन संवाददाताले पनि सगरमाथा विजयको खबर पहिलो पटक द टाइम्सबाट प्राप्त भएको बताए । यो खबर सुनेपछि जेम्सको अनुहार र आँखामा सन्तुष्टिको आनन्द फैलियो । उनले यो कुरा पछि ‘कोरोनेसन एभरेस्ट’ नामक पुस्तकमा लेखेका थिए ।
यो समाचारले रानीको राज्याभिषेकको ऐतिहासिक क्षणलाई नयाँ उचाइ दिएको बेलायती सञ्चारमाध्यममा पनि सामान्य धारणा थियो । यो खबर चार–पाँच दिन लुकाएर राख्दा सार्थक भएको उनीहरूको भनाइ थियो । के रानी एलिजाबेथ द्वितीय आफैं यो खबरसँंग खुसी थिइनन् ?
यो सास रोक्ने कथाका लगभग सबै पात्रहरू अब यो संसारमा छैनन् । पत्रकार जेम्स मोरिस एक ट्रान्सजेन्डर थिए । उनले पछि आफ्नो लिंग परिवर्तन गरी महिला बनिन् र जेन मोरिस नाम राखिन् । उनी ट्राभल लेखकका रूपमा पनि निकै चर्चित थिए । उनको नोभेम्बर २०२० मा ९४ वर्षको उमेरमा वेल्समा निधन भएको थियो ।
एडमन्ड हिलारीलाई सन् १९५३ मा सगरमाथा विजयको वर्षमै नाइटहुड सम्मान प्रदान गरिएको थियो । उनको ८८ वर्षको उमेरमा न्यूजिल्याण्डको अकल्याण्डमा निधन भयो । उनका आजीवन साथी तेन्जिङ नोर्गे पछि भारतको दार्जिलिङमा बस्न थाले । उनको ७२ वर्षको उमेरमा ९ मे १९६८ मा मृत्यु भएको थियो । तेन्जिङका छोरा जमलिङ तेन्जिङ आफै पनि एक दक्ष पर्वतारोही हुन् र सगरमाथा आरोहण गरेका छन् । जमलिङले विश्व सगरमाथा दिवसको अवसरमा मे २९, २०१३ मा एलिजाबेथ द्वितीयलाई भेटेका थिए ।
बेलायतको रोयल जियोग्राफिकल सोसाइटीले सगरमाथा आरोहणको ६०औँ वर्षगाँठको उपलक्ष्यमा त्यस वर्ष मे २९ मा लन्डनमा भव्य समारोहको आयोजना गरेको थियो जसमा विश्वभरका चर्चित पर्वतारोहीहरुको सहभागिता रहेको थियो ।
एलिजाबेथ द्वितीय समारोहकी प्रमुख अतिथि थिइन् । उक्त समारोहमा तेन्जिङ नोर्गेका छोरालाई पनि निमन्त्रणा गरिएको थियो । एलिजाबेथको सन्दर्भमा जामलिंग नोर्गेले बीबीसी बंगलालाई भने, ‘उनी धेरै विनम्र र सम्मानित महिला थिइन् । निजी कुराकानीको क्रममा उनले मेरो बुबाको उल्लेख गरिन् र राज्याभिषेक दिवसको सम्झनाहरू साझा गरिन् ।’
जसको राज्याभिषेकको पललाई अझ अविस्मरणीय र रमाइलो बनाउन यति धेरै गरियो, ती रानीले पनि सेप्टेम्बर ८ मा स्कटल्याण्डको बालमोरल प्यालेसमा ९६ वर्षको उमेरमा यस संसारबाट सदाका लागि बिदा लिइन् । (डिसी नेपालबाट)