समानुपातिकमा दलहरुलाई सकस : सच्याउन दबाब तालमेलमा बेमेल

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ आगामी मंसिर ४ गते हुने भनिएको संघीय तथा प्रदेशसभाको निर्वाचनको विषयलाई लिएर सबैजसो दलहरुमा समस्या देखिएको छ । खासगरी समानुपातिक निर्वाचनका लागि भनी नामहरु पठाइएको विषयले दलहरुलाई समस्यामा पारिदिएको हो । समानुपातिक निर्वाचन प्रणालीको उद्देश्यविपरित दलहरुले उम्मेदवारको नामहरु सिफारिस गरी पठाएको विषयलाई लिएर सबैजसो दलहरुमा विवाद उत्पन्न भएको छ । त्यसरी पठाइएका नामहरुमा केही संशोधन गर्नुपरे आज शुक्रबारसम्म गर्न सकिने भनी निर्वाचन आयोगले समय तोकेका कारण केही दलहरुले आज ती नामहरुमा संशोधन गर्ने सम्भावना रहेको भनी समाचार स्रोतले जानकारी गराएको छ ।
निर्वाचन आयोगले आज कार्यालय समयसम्मका लागि भनी नाम सच्याउन सकिने भनी समय दिएका कारण नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुले आफूले बुझाएको बन्दसूचीमा केही मात्रामा संशोधन गर्ने भनी समाचार स्रोतले जानकारी दिएको छ । खासगरी कांग्रेसमा नामका विषयमा विवाद हुँदै आएको छ । कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी ढंगबाट नाम सिफारिस गराएको भन्दै देउवा विरोधीहरु त्यसको विरुद्धमा आन्दोलित नै भएको अवस्था छ ।
उनीहरुले कांग्रेसको मुख्यालयमा बुधबार र विहीबार धर्ना दिएका छन् । ‘समानुपातिकमा जनाधार नभएका, कुनै पनि चुनावमा नहोमिएका, आरक्षणमा परेका, विशिष्ट कारणले कुनै व्यक्तिलाई सांसद् बनाउनै पर्ने भन्ने खालका व्यक्तिहरु, प्रत्यक्ष निर्वाचनमा उठ्ने हैसियत नभएकाहरुलाई समेट्ने मनसाय राखिएको स्रोतको दाबी छ । यस्तो समानुपातिकमा पटक पटक मन्त्री बनेका, प्रत्यक्ष चुनाव जितेर आएका, विगतमा सांसद भैसकेको व्यक्तिहरुलाई समेत समेट्ने गलत कार्यहरु भैरहेका छन् ।’ कांग्रेसका नेता गुरुराज घिमिरे भन्छन् । उनका अनुसार समानुपातिक निर्वाचन प्रणाली जुन उद्देश्यका साथ राखिएको हो त्यस विपरित निर्वाचनमा प्रत्यक्ष होमिनसक्नेहरुले पनि अरुको अधिकार वंचित गरेको अवस्था देखिन्छ ।
पछिल्लो समय देउवालाई दबाब दिंदै आएका घिमिरे आफू समानुपातिकमा बस्नका लागि नभई समग्र प्रणालीको रक्षाका लागि आवाज उठाउन लागिपरेको बताउँछन् । समानुपातिकको नामको अग्रपंक्तिमा शीर्ष नेताहरु नै परेका कारण समेत त्यसको आलोचना भैरहेको छ । यसैगरी कतिपय नेताहरुले आफ्ना पत्नी तथा छोरा छोरीहरुलाई समेत समानुपातिकको अग्रस्थानमा राखी समानुपातिक निर्वाचन प्रणालीलाई बद्नाम गराएको बताइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिकको पहिलो नम्बरमा को बस्ने भनी विवाद चर्किदा गोप्य मतदान नै गर्नु परेको थियो । पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीमध्ये कसलाई पहिलो नं.मा राख्ने भनी जुँगाको लडाइँ हुँदा गोप्य मतदान गरिँदा राणाको पक्षमा बहुमत देखिएको थियो । सोही अनुसार राणालाई पहिलो नं.तथा लोहनीलाई दोस्रो नं.मा राखी बन्दसूची बुझाउने कार्य राप्रपाले गरेको थियो ।
उता, कांग्रेसमा पनि विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, फरमुल्ला मंसुरमात्र होइन कि डा.आरजू राणा देउवा, मञ्जू खाँणलगायतलाई अग्रस्थानमा राखी सिफारिस गरिएपछि विवाद देखिएको छ । यसैगरी कतिपय उम्मेदवारहरु अपरिचित अनुहारहरु परेकाले उनीहरुको नाममा मत माग्नका लागि समस्या पर्ने अवस्था आएको भनी सभापति देउवालाई कांग्रेसका अन्य नेताहरुले दबाब दिएका छन् । देउवाले नाम सच्याउने विषयमा आफू सकारात्मक रहेको जनाउ दिए पनि कांग्रेसका अन्य नेताहरुले भने त्यसलाई शंकाको हिसाबले हेरेका छन् ।
उता, माओवादी केन्द्र, एमाले, नेकपा (एस) लगायतका दलहरुका समेत विवादै कायम रहेका छन् । ती दलहरुमा नातावाद, कृपावाद आदिले काम गरेको भनी इमान्दार कार्यकर्ता त्यसको विरुद्धमा उत्रिएका छन् । उता, तराई केन्द्रित दलहरुमा समेत यही विषय समस्याका रुपमा देखा परेको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नी छोरीलाई पहिलो स्थानमा पारेको भनी उनको आलोचना भैरहेको छ । यसैगरी जनता समाजवादी पार्टीमा समेत उपेन्द्र यादवले राम्रालाई भन्दा पनि हाम्रालाई महत्व दिएको भनी उनको समेत आलोचना भैरहेको छ ।
यसरी सबैजसो दलहरुमा समानुपातिकको नाम सिफारिसले समस्या उत्पन्न गराएको भनी एकले अर्कोलाई दोष दिने कार्य भैरहेको अवस्था छ । यही विषयलाई लिएर आगामी निर्वाचनमा तालमेल गर्ने भनिएका दलहरुमा समेत समस्या उत्पन्न हुन थालेको छ । समानुपातिकमा सिफारिसमा परेका नामहरुमा विवाद हँुदा त्यसको असर अन्तर्घातसम्म पुग्ने खतरा कायम रहेको छ । त्यस्तो भएको खण्डमा उनीहरुले आफ्नो दलको उम्मेदवारमाथि अन्तरघात गर्ने मात्र नभई तालमेल वा गठबन्धनमा रहेका दलहरुलाई समेत अन्तरघात गर्ने खतरा बढेर गएको अवस्था छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *