निर्वाचनको पर्यवेक्षक स्वतन्त्र होउन्

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा परिचालित हुने पर्यवेक्षकका विषयमा आयोगको धारणा राखेका छन् । उनले त्यस्ता पर्यवेक्षकले कुनै दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रस्तुत भएको पाइएमा मान्य नहुने बताएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का लागि पर्यवेक्षण संस्थाहरूका लागि भनी आयोगले प्रशिक्षक प्रशिक्षण कार्यक्रम नै आयोजना गरेको छ । सो कार्यक्रममा थपलियाले विगतका निर्वाचनहरूमा केही उदाहरणले केही पर्यवेक्षकहरू दल र उम्मेदवारका रूपमा प्रस्तुत भएको पाइएकाले त्यस्तो नगर्न आग्रह गरिएको धारणा राखे । उनले निर्वाचन प्रक्रियाका लागि एक अभिन्न अङ्ग र एक प्रकारले नागरिक समाजको हैसियतमा पनि पर्यवेक्षक रहेको जनाउ दिए । उनले निर्वाचन आचारसंहिता, २०७९ को पालना गरेर पर्यवेक्षकले आफ्नो दायित्व निर्वाह गरी आयोगलाई निर्वाचन व्यवस्थानमा सघाउन आग्रह गरेका छन् ।
लोकतान्त्रिक व्यवस्थामा आवधिक निर्वाचनले नागरिकको अधिकार पुनर्जागरण गर्ने गर्दछ । यसले लोकतन्त्र बलियो भएको सन्देश जाने भएकाले यसका लागि उचित वातावरण बनाउन दलहरू, नागरिक समाज, आमसञ्चार र सबै पक्षको भूमिका हुने हुन्छ । संविधान र कानूनबमोजिम निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको दायित्व आयोगको रहेका कारण पनि यस्ता विषयमा आयोग निर्वाचनको पूर्वसन्ध्यामै सचेत हुनुलाई स्वाभाविक मानिएको छ । बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा खराब दलको विकल्प असल दल हुने र स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवार हुन पाउने हुन्छन् ।
कुनै पनि निर्वाचन निष्पक्ष हुनुपर्दछ । यसका लागि विभिन्न निकायको सहकार्य जरुरी हुन्छ । निर्वाचन गराउने दायित्व सरकार तथा निर्वाचन आयोगको मात्र नभएर यसले राजनीतिक व्यवस्थालाई नै राम्रो वा नराम्रो भन्ने संकेत गर्ने भएकाले निर्वाचनलाई एकदमै महत्वका साथ हेर्ने गरिन्छ । निर्वाचन के कसरी भयो भन्ने कुरा पर्यवेक्षक संस्थाले स्थलगत रुपमा निरिक्षण गरी गर्ने भएकाले पनि यसमा यस्ता संस्थाहरुको भूमिका महत्वपूर्ण हुन जाने हुन्छ । यसको प्रमुख कडीको रुपमा निर्वाचन आचारसंहिताको पालना भयो वा भएन भन्ने नै हुन्छ । आचार संहिताको पालना भएन भने त्यसले निर्वाचनलाई निष्पक्ष हुन दिंदैन । कुनै पनि दल वा निकायले निर्वाचनलाई सही र निष्पक्ष रुपमा भएको सन्देश दिनका लागि त्यसमा आचार संहिताको पालनाले महत्वपूर्ण योगदान दिने देखिन्छ । त्यसैगरी निर्वाचनलाई निष्पक्ष र सही ढंगबाट गराउनका लागि पर्यवेक्षक संस्थाहरुले पनि सहयोगी भूमिका निभाउनु पर्ने हुन्छ । यसका लागि उनीहरुले अन्य कुनै पनि निकायले निर्वाचन आचार संहिताको उल्लंघन गरेको पाएमा त्यसलाई आफ्नो प्रतिवेदनमा सही रुपमा बिनापूर्वाग्रह राख्नुपर्ने हुन्छ । यस्तो अवस्थामा अरुको कुरालाई त समेट्नुपर्ने हुन्छ नै त्यसैगरी आफूले समेत त्यसको पालना गर्नुपर्ने हुन्छ । यसका लागि पर्यवेक्षक संस्थाहरुले आफ्नो संस्था र संस्थामा आवद्ध मानिसहरुलाई दलहरुभन्दा माथि उठाएर राख्न सक्नुपर्ने हुन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *