निर्वाचनको वातावरणसँगै निराशा : गठबन्धनले समस्या नेताहरुको आलोचना

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ आगामी मंसिर ५ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली आएको छ । उनीहरुले निर्वाचन चिन्ह समेत पाएको अवस्था छ । उनीहरुले निर्वाचन चिन्ह पाएपछि मुलुक निर्वाचनमय भएको छ । उम्मेदवारहरु आफ्नो निर्वाचन चिन्ह लिएर मतदाता समक्ष पुगिरहेका छन् ।
यस पटकको निर्वाचनको वातावरण देखेर मतदाताहरुमा भने निराशा छाएको बताइन्छ । अघिल्लो निर्वाचनमा केही दलहरुले केही ठाउँहरुमा तालमेल तथा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले देशव्यापी रुपमा गठबन्धन गरेका थिए । यस पटकको निर्वाचनमा भने नेपाल मजदुर किसान पार्टी बाहेक सबैजसो दलहरु कुनै नै कुनै रुपमा गठबन्धनको पक्षमा उभिएका छन् । यस्तो अवस्थामा आम मतदातामा भने निराशा छाएको चर्चा छ । गठबन्धनका कारण मतदाताहरुले धेरैजसो ठाउँहरुमा सबै मतपत्रमा आफूले आस्था राख्ने दलको चुनाव चिन्हमा मतदान गर्न नपाउने अवस्था सिर्जना भएको छ ।
गठबन्धनका कारण मतदाताहरुले विभिन्न चुनाव चिन्हमा खोजी खोजी मतदान गर्नुपर्ने अवस्था देखिएको छ । खासगरी सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु अर्थात नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा घोषित रुपमा गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् । यस्तै, नेकपा (एमाले) ले आफ्नो दल एक्लै चुनावमा लड्ने भने पनि उसले पनि आफ्नो नेतृत्वमा अर्को गठबन्धन बनाएको छ । एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले गठबन्धन नभनी आफ्नो दलले तालमेलमात्र गरेको भनी अथ्र्याउने गरे पनि आम बुझाइमा भने यो अर्को गठबन्धन रहेको मानिएको छ ।
एमाले नेतृत्वले जे जसरी आफ्नो गठबन्धनलाई लुकाउन खोजे पनि त्यो सत्तारुढ गठबन्धनभन्दा संख्यात्मक रुपमा बढी रहेको दाबी अधिवक्ता भवानीप्रसाद अधिकारी गर्दछन् । उनका अनुसार एमाले नेतृत्वमा राप्रपा, राप्रपा नेपाल, जनता समाजवादी पार्टी नेपाल, परिवार दल मात्र नभएर गोविन्दराज जोशी, ने.का. (बी.पी.) का कर्णबहादुर मल्ल, कांग्रेसका विद्रोही उम्मेदवार दिनेश कोइरालामात्र होइन कि हृदेयश त्रिपाठीको दलसमेत रहेको देखिन्छ ।
बरु सत्तारुढ गठबन्धनमा रहेका दलहरुले कतिपय स्थानहरुमा स्वस्थ प्रतिस्पर्धा गरेको देखिए पनि एमाले भने आफ्नो जित्नलाई भन्दा पनि गठबन्धनका उम्मेदवारहरुलाई हराउन सकिन्छ कि भनी जो सँग जस्तोसुकै तालमेल गर्न लागिपरेको छ । एमालेले आफ्नो बहुमत आउने भनी हुंँन्कार्दै आए पनि पछिल्लो अवस्थालाई ख्याल गर्दा बहुमत स्थानमा समेत आफ्ना उम्मेदवारहरु उठाउन नसकेको अवस्था देखिएको छ । एमालेले खासगरी एकीकृत समाजवादी र माओवादी केन्द्रलाई रोक्नका लागि जे जस्तो हत्कण्डा अपनाउनुपर्ने भए पनि अपनाउने नीति लिएको देखिन्छ ।
आम जनताले भने सबै दलका बीचमा स्वस्थ प्रतिस्पर्धा चाहेका थिए । कुनै पनि किसिमको गठबन्धन नभएको अवस्थामा मात्र आफूले चाहेको दलको चुनाव चिन्हमा मतदान गर्न पाइने भएका कारण पनि आम जनता त्यस्तो पक्षमा देखिएका थिए । २०७४ सालमा भएको आम निर्वाचनबाट प्रधानमन्त्री बन्न पुगेका एमालेका ओलीले आफ्नो बहुमतलाई कायम राख्न नसक्दा समस्या आएको थियो । तात्कालीन ने.क.पा.मा देखिएको समस्याका कारण ओलीले दुई पटक प्रतिनिधिसभालाई विघटन गरिदिएका थिए । उनले विघटन गरे पनि सर्वोच्च अदालतले भने प्रतिनिधिसभालाई ब्युँत्याइदिएको थियो । सोही कारण प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूर्णरुपमा पूरा गरी आगामी मंसिर ५ गते आवधिक निर्वाचन हुने अवस्था आएको हो ।
मुख्य दलहरु कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपा आदिले गठबन्धन संस्कारलाई अघि सारेका कारण नेता, कार्यकर्ताबाट भने आलोचना खेप्नु परेको छ । कतिपय स्थानमा आप्mना दलका उम्मेदवारको उम्मेदवारी खोस्ने कार्य गरी अरु उम्मेदवारलाई समर्थन गर्नेसम्मको नाजायज कार्य गरिएको छ । यस कार्यमा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको बढी आलोचना भैरहेको छ । उनले आफ्ना घोषित उम्मेदवारहरुको टिकट खोसेर अन्य उम्मेदवारहरुलाई समर्थन गर्ने कार्य गरेका थिए ।
उता, एमालेबाट उम्मेदवार बन्ने तयारीमा रही खल्तीमा टिकट लिएर बसेका एमालेका पोलिटब्युरो सदस्य प्रभु साहले अन्तिम समयमा आएर स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी दर्ता गराए । उनले एमालेको टिकट नलिएको भनी एमाले पंक्तिबाट उनको आलोचना भैरहे पनि उनले एमालेले बाटो विराएर जसपासँग गठबन्धन गरेका कारण आफू र आफ्नो समूहले एमालेमा विद्रोह गरेको जिकिर गर्दै आएका छन् ।
यसरी दलहरुले आफ्नो निर्वाचन चिन्हलाई मतदातासमक्ष पु¥याएर दलको अस्थित्वलाई कायम राख्नुको सट्टा अन्य दलको चिन्हमा मतदान गर्न लगाउने संस्कार थालेकोे भनी समर्थनभन्दा पनि आलोचना बढीमात्रामा भैरहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *