दलहरु चुनावी लेखाजोखामा

Nayabimarsha (Weekly Newspaper from Nepal)

मुख्य समाचार

भक्तपुर/ आगामी मंसिर ४ गते हुने भनिएको संघीय र प्रदेश सभाको निर्वाचनको मिति जति नजिकिंदै गएको छ उति नै दलहरुले आफ्नो दलको जितहारको लेखाजोखालाई बढावा दिएका छन् । निर्वाचनको मिति आउन एक महिनामात्र बाँकी रहेको अवस्थामा सबैजसो दलहरु आप्mनो आन्तरिक लेखाजोखा गर्न व्यस्त रहेका बताइएको छ । यसरी लेखाजोखा गरिनुलाई आफ्नो जितको अवस्था बुझ्नु भनिए पनि वास्तविकता भने भिन्न रहेको बताइन्छ । आन्तरिक लेखाजोखाका कारण आफ्नो दलको उम्मेदवारको हार निश्चित ठानिएको अवस्थामा आफ्ना मतदातालाई अर्कैतिर मतदान गर्न लगाएर निर्वाचन परिणामलाई नै फेरबदल गरिदिने उद्देश्य राखिएको बताइएको छ । आफू हार्ने अवस्थामा आफ्ना लक्षित शत्रु दलको उम्मेदवारलाई पछार्नका लागि तयारी थाल्ने उद्देश्यका साथ दलहरु आन्तरिक लेखाजोखामा देखिएका हुन् ।
दलहरुले यस पटक आफूले जित्ने भन्दा पनि कसरी अरुलाई हराउने भन्ने नीतिलाई प्राथमिकता दिएको बताइन्छ । यसका लागि उनीहरुले कतै गठबन्धन त कतै तालमेल गरेका छन् । उनीहरुले कतिपय स्थानमा अन्तर्घात गरेर भए पनि आत्मतुष्टी लिने अवस्था देखिएको भनी चर्चा चलेको छ । यस पटकको निर्वाचनमा सबैजसो दलहरुले सिद्धान्त, आदर्श र नैतिकतालाई तिलाञ्जलि दिएको भनी भन्न थालिएको छ ।
नेपाली कांग्रेसको नेतृत्वमा बनेको सत्तारुढ गठबन्धनमा कम्युनिष्ट पृष्ठभूमि भएका दलहरुको बाहुल्यता रहेको छ । यो गठबन्धनमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा कम्युनिष्ट पृष्ठभूमिका दलहरु हुन् । पछिल्लो समय यो गठबन्धनमा आएको लोकतान्त्रिक समाजवादी पार्टी भने तराईको मुद्दालाई उठान गर्ने दलको रुपमा रहेको छ ।
उता, नेकपा (एमाले) को नेतृत्वमा अर्को अघोषित गठबन्धन बनेको छ । उक्त गठबन्धनमा आवद्ध दलहरुको अवस्था हेर्दा भने त्यसमा गैह्र कम्युनिष्ट दलहरुको बाहुल्यता देखिन्छ । उक्त गठबन्धनमा राप्रपा, राप्रपा नेपाल, परिवार दल, जनता समाजवादी पार्टी जस्ता गैह्र कम्यनिष्ट दलहरु सामेल छन् । एमालेले आफू एक्लै निर्वाचनमा होमिने भने पनि सबैभन्दा बढी संख्याको तथा एकदमै अप्राकृतिक गठबन्धन बनाएर गएको बताइन्छ ।
एमालेले दलहरुसँगमात्र नभई विभिन्न व्यक्तिसँग समेत गठबन्धन गरेको छ । एमालेले डडेलधुरामा आफ्नो उम्मेदवार उठाएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाका विरुद्ध आफ्नो उम्मेदवार नउठाई एमालेका मतदातालाई देउवाविरोधी उम्मेदवारलाई मतदान गर्ने सोचका साथ त्यहाँ पहिले नेपाली कांग्रेस (बी.पी.) का उम्मेदवार कर्णबहादुर मल्ललाई सघाउने निर्णय गरेको थियो । पछि गएर त्यहाँको तालमेललाई समेत मान्यता नदिने मनस्थितिमा एमाले पुगेको छ । एमालेले त्यहाँ कसलाई मतदान गर्ने भनी अझैसम्म पनि स्पष्ट पार्न सकेको छैन ।
यसैगरी तनहूँ क्षेत्र नं.१ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका विरुद्ध कांग्रेसकै विद्रोही उम्मेदवारका रुपमा उठेका गोविन्दराज जोशीलाई एमालेले सघाउने भएको छ । त्यहाँ पनि जोशी पक्षधरहरुसँग एमालेले तालमेल गर्ने भएको बताइन्छ । उता, हृदयेश त्रिपाठीदेखि सि.के. राउतसम्मसँग एमालेले भित्री रुपमा साँठगाँठ गर्ने चर्चा चलेको छ । यसरी सबैभन्दा बढी संख्यामा तालमेल तथा गठबन्धन गर्ने एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली भने आफ्नो दल गठबन्धनको विरुद्धमा रहेको भनी कुर्लन भने छाडेका छैनन् ।
सबैजसो दलहरुमा अन्तर्घातको सम्भावना बढी रहेको देखिएको छ । सोही कारण पनि दलहरु आन्तरिक जित हारको प्रक्षेपण गर्न अलि गाह्रो अवस्थामा रहेका बताइएको छ । उनीहरुले आन्तरिक अवस्थालाई ख्याल गरी आफू पराजित हुने स्थानमा अर्को दलको उम्मेदवारलाई सघाउने संभावना झनै बढी रहेको बताइन्छ ।
यस पटकको निर्वाचनमा आफैं केन्द्रीय अध्यक्ष रहेर पनि अर्को दलको चुनाव चिन्हबाट उम्मेदवार बन्नेसम्मका कार्य भएको छ । यस क्रममा परिवार दलका अध्यक्ष एकनाथ ढकाल, हृदयेश त्रिपाठीदेखि राप्रपाको विकल्पमा राप्रपा नेपाल गठन गरेका कमलबहादुर थापासमेत रहेका छन् । उनीहरु आफ्नो दलको केन्द्रीय अध्यक्ष भएर पनि एमालेको चुनाव चिन्ह लिएर उम्मेदवार बन्ने हासोलाग्दो कार्य गरिरहेका छन् । यो मामलामा बाबुराम भट्टराईको समाजवादी पार्टी समेत अछुतो नरहेको अवस्था छ । उक्त दलका अध्यक्षको हैसियतमा रहेका महिन्द्र राय यादव भने नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर लोसपाका राजेन्द्र महतोको विरुद्धमा उत्रिएका छन् ।
प्रतिनिधिसभालाई अकालमै पटक पटक विघटन गर्ने एमालेलाई यस पटकको निर्वाचनमार्फतबाट धुलो चटाउनुपर्छ भन्ने मान्यताका साथ गठबन्धनमा रहेका दलहरु लागि परेको अवस्था छ । सत्तारुढ गठबन्धनमा रहेकै अवस्थामा प्रमुख प्रतिपक्षी दल एमालेसँग लसपस गर्न पुगेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीले एमालेसँग गठबन्धन गरेको छ । जसपा आफूतिर आएको कुरालाई गठबन्धन तोडेको उपलब्धीका रुपमा एमालेका अध्यक्ष ओलीले लिने गरेका छन् । जसपा गठबन्धनबाट बाहिरिएकै दिन उसको ठाउँमा महन्थ ठाकुर नेतृत्वको लोसपालाई लगी सत्तारुढ गठबन्धनले तराईमा आफूलाई कमजोर हुन नदिएको अवस्था छ ।
यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको उम्मेदवारी पनि प्रशस्त मात्रामा परेको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी नगरपालिका, बर्दीबास नगरपालिकाको प्रमुखमा स्वतन्त्रले जितेका कारण पनि संघीय र प्रदेश स्तरीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरुको लर्को लागेको देखिएको छ । कतिपय स्थानमा त दलको उम्मेदवारी समेत त्यागेर स्वतन्त्र भनी उम्मेदवार बनेका देखिएको छ ।
एमालेको पोलिटब्युरो सदस्य समेत रही मधेश प्रदेशमा राम्रो जनाधार बनाएका प्रभू साहले एमालेबाट पाएको टिकट त्यागेर उम्मेदवारी दिएका छन् । उनले एमालेबाट विद्रोह गरी २५ जनालाई त मधेश प्रदेशमा संघ र प्रदेशमा गरी उम्मेदवार नै बनाएका छन् ।
यसरी एमालेबाट विद्रोह गरी उम्मेदवारी दिएका साहको पक्षमा सत्तारुढ गठबन्धन उभिएको छ । साहले उम्मेदवारी दिएको रौतहटको उनको क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रले उम्मेदवार उठाएको थियो । आफ्ना उम्मेदवारलाई निष्कृय बस्न लगाई माओवादी केन्द्रले गठबन्धनका तर्फबाट साहलाई मतदान गरिने निर्णय गरेको छ ।
यसैगरी रुपन्देही निर्वाचन क्षेत्र नं.१ मा पनि अनौठो प्रकारको निर्वाचन प्रक्रियाले बढावा पाएको छ । एमालेबाट टिकट पाउन वंचित गरिएका घनश्याम भूसालले स्वतन्त्र उम्मेदवारी दर्ता गराए । उनले उम्मेदवारी दिएको अवस्थामा सो क्षेत्रबाट गठबन्धनका तर्फबाट माओवादी केन्द्रले उम्मेदवारी पाएको अवस्थामा उसले आफ्नो उम्मेदवारी फिर्ता लिएर उनै भूसाललाई सघाउने निर्णय गरेको छ ।
उता, सत्तारुढ गठबन्धनका प्रमुख अर्थात प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा भने गठबन्धनको कुरा धरापमा परेको छ । देउवालाई हराउन भनी एमालेले संघमा उम्मेदवारी नदिई कांग्रेसबाट विद्रोह गरेका तथा कांग्रेस (बी.पी.) को तर्फबाट उम्मेदवार बनेका कर्णबहादुर मल्ललाई सघाउने निर्णय एमालेले गरेको थियो । पछि कुरा नमिल्दा एमाले मल्ललाई सघाउने निर्णय फिर्ता लिएको अवस्था छ । एमाले फिर्ता हुनासाथ मल्ललाई सघाउने भनी सत्तारुढ गठबन्धनकै नेकपा (एकीकृत समाजवादी) को जिल्ला समितिले निर्णय गरेको छ । उक्त निर्णय केन्द्रको नीति विपरित भएको भनी एकीकृत समाजवादीका महासचिवले सो निर्णय फिर्ता लिन भनी जिल्लालाई निर्देशन दिए पनि त्यसको पालना नगर्ने भनी जिल्लाले केन्द्रलाई जबाफ दिएको छ ।
एकीकृत समाजवादीका तर्फबाट प्रदेशमा उम्मेदवारी दिएका उम्मेदवारलाई कांग्रेस (बी.पी.) ले सहयोग गर्ने तथा त्यसको बदलामा संघमा मल्ललाई एकीकृत समाजवादीले सहयोग गर्ने निर्णयमा फेरबदल नहुने भनी जिल्लाले जबाफ दिएको छ । उनीहरुले आफूहरु कारबाही भोग्न समेत तयार रहेको भनी जबाफ दिएपछि सत्तारुढ गठबन्धनको मूल मर्ममाथि गबठन्धनका मूलमाथि नै प्रहार गरिने अवस्था देखिएको छ ।
यस पटकको निर्वाचनमा अझ रोचक कुरा पनि देखिएको छ । राप्रपासँग असहमति जनाउँदै राप्रपाको निर्वाचनमा पराजय भोगेका कमलबहादुर थापाले राप्रपा नेपाललाई ब्यूँत्याएका थिए । त्यसरी राप्रपा नेपालको अध्यक्ष बन्न पुगेका थापा र उनको विपरित ध्रवमा रहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफ्नो गठबन्धनमा एमालेले पारेको देखिएको छ । आफूहरु मिल्न नसक्ने अवस्थामा रहेका राप्रपा र राप्रपा नेपाल एमालेको बैशाखी बन्न भने तयार भएका छन् ।
निष्ठाको राजनीति गर्ने भनी अलि छुट्टै पहिचान बनाएका लिङ्देन झापामा आपूmले जित्न सकिएकी भनी एमालेलाई साथ दिन तयार भएका छन् । एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली समेत निर्वाचन परिणाम कस्तो आउला भनी झस्किरहेको अवस्थामा राप्रपाको साथमा झापामा जित्न सकिएलाकी भनी स्वार्थको राजनीतिमा आइपुगेका छन् । लिङ्देनसँग जोरी खोज्दै निस्किएका कमलबहादुर थापा भने आफ्नो औचित्य नै विर्सिएर एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनी जग हसाउने कार्य गर्दै आएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *