शेयरमा पनि राजनीतिः फसाइरहेको छ सरकार !

Nayabimarsha (Weekly Newspaper from Nepal)

अनुसा थापा
सर्वोच्च अदालतले २०७८ असार २८ गते खड्गप्रसाद शर्मा ओलीको सरकारलाई हटायो । त्यसलगत्तै शेरबहादुर देउवाको सरकार बन्यो । ओली सरकारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल थिए । त्यतिबेला दिनको ८० करोडदेखि अर्ब रुपियाँसम्मको कारोबार शेयर बजारमा हुन्थ्यो । देउवाको सरकारमा अर्थमन्त्री हुनेबित्तिकै २०७८ साउन २१ गते एकै दिन रु.२२ अर्बको कारोबार भयो । अर्थमन्त्री शर्माकै पालामा रु.२२ अर्बको शेयरको मूल्य घटेर ४८ करोडमा आयो । देउवा सरकार हट्नेबित्तिकै माओवादी केन्द्रको सरकार बनेको छ ।
पुष्पकमल दाहाल प्रधानमन्त्रीको सरकार बन्ने अघिल्लो दिन एक रु.अर्ब २० करोडको शेयर कारोबार भएको थियो । दाहालको सरकारमा फेरि पनि उने विष्णुप्रसाद पौडेल अर्थमन्त्री छन् । उनी आउनेबित्तिकै एक दिनमा पाँच अर्ब चार करोडसम्म शेयर कारोबारको अभिलेख बनेको छ । विगत आठ महिनादेखि शेयर बजार चनमन्न थियो । शेयर निरन्तर ओरालो गतितिर दौडिरहेको थियो जुन अहिले आएर ह्वात्तै बढेको छ । १७ महिना अघिको तथ्याङ्क हेर्ने हो भने एकै दिन रु.२२ अर्बको कारोबार भएको शेयर रु.४८ करोडसम्म पनि झरेको थियो ।
त्यसपछि शेयर कारोबार बढ्ने अपेक्षा गरिएको थिएन । ओली सरकारमा शेयरको मूल्य घटिसकेको थियो । शेयरमा लगानी गर्नेहरु चुलुम्मै डुबिसकेका थिए । देउवा सरकार आउने बित्तिकै एक कित्ता शेयरको मूल्य रु.३२ सम्म पुग्यो । पछि बैंकमा देखिएको तरलताले शेयर कारोबारमा निकै प्रभाव प¥यो । बैंकले कर्जा दिन छाडेपछि, शेयरमा लगानी गर्ने पैसा नभएपछि रु.तीन हजार दुई सयको शेयर घटेर रु.एक हजार आठ सयमा आयो । पौडेल हटेर शर्मा आउनेबित्तिकै शेयरको मूल्यले आकाश छोयो ।
मौका छोपेर शेयर बेच्नेहरु जसोतसो बचे तर महंगोमा शेयर किन्नेहरुको बिल्लीबाठ भयो । अहिले फेरि पनि उही अवस्था बनेको छ । शर्मा हटेर पौडेल आउनेबित्तिकै शेयरमा हरियो बत्ती बलेको छ । यो हरियो बत्ती कतिञ्जेल बल्ने हो टुंगो छैन । अहिले शेयर किन्नेहरु जुनैबेला पनि डुब्न सक्छन् । सरकार परिवर्तन हुनेबित्तिकै शेयर कारोबारीहरु बाठाटाठा हुन्छन् । कारोबार बढ्यो भनेर दलालीहरुले सिधासाधी जनतालाई फसाउने गरेका छन् । आफूसँंग भएको शेयर मँहगोमा बेचेर तिनीहरु त किनारा लागि हाल्छन् ।
यसले शेयरमा लगानी गर्छ उसको उठीबास हुन्छ । हिजो ओली सरकारमै अर्थमन्त्री युवराज खतिवडा थिए । उनले शेयरमा लगानी नगर्न बारम्बार आग्रह गरेका थिए । उनले खुलेरै भनेका थिए, ‘शेयरमा लगानी गर्नु भनेको क्यासिनोमा गएर जुवा खेल्नु बराबर हो । एक दिन हार्छ अर्को दिन मार्छ । यसको कुनै ठेगान छैन । शेयरमा लगानी गर्दा सबै तहसनहस हुन सक्छ ।’ उनले यति भनेपछि शेयरको मूल्य स्वाटै घट्यो । शेयर किन्नेहरु सामसुम भइसकेका थिए ।
यता, बैंक फाइनेन्सले शेयरमा लगानी गर्न छोडेको थियो । शेयर लगानीकर्ताहरु रोएर हिँडेका थिए । आफ्नो कारोबार डुबाइदिएको भनेर शेयर लगानीकर्ताहरु आक्रोशित भएका थिए । खतिवडालाई हटाउनुपर्छ भनेर शेयर लगानीकर्ताहरु तात्कालीन प्रधानमन्त्री ओलीतिर पनि गए । जबसम्म खतिवडा हट्दैनन् तबसम्म शेयर नउकासिने तिनको भनाइ थियो । खतिवडा हटेको दिन शेयर कारोबारीहरुले भोजभतेर नै गरेका थिए । त्यसको केही दिन शेयरको मूल्य बढ्यो । पछि फेरि घट्दै आयो ।
त्यसपछि कार्यभार सम्हाल्न आएका पौडेल हटेको केहीसम्म पनि शेयरको कारोबार राम्रै चलेको थियो तर पुनः उही सन्नाटा देखियो । पौडलपछि आएका शर्मा हट्नेबित्तिकै अहिले शेयरको मूल्य बढेको छ । यो पनि कति दिनको रमझम हो हेर्न बाँकी छ । विगतदेखि अहिलेसम्मको शेयर कारोबार हेर्न हो भने सरकार परिवर्तनले धेरै प्रभाव पारेको छ । सरकार परिवर्तन भएको केही दिनसम्म शेयरको मूल्य बढ्छ । त्यसपछि निरन्तर घटिरहन्छ । डेढ वर्षअघि बैंक फाइनेन्सहरुले शेयर धितो राखेर कर्जा दिने गरेका थिए ।
त्यतिखेर बैंकहरुसँंग पनि लगानी गर्ने पैसा थियो । अहिले बैंककै ढुकुटी रित्तिएको छ । बैंकमा गम्भीर तरलता छ । अनि शेयर दलालीहरुले कुन आधारमा शेयरको मूल्य बढ्छ ? भनेर जनता फसाइरहेका छन् ? बैंकले शेयरलाई कर्जा दिन सक्ने अवस्था छैन । बैंकले बचतकर्ताको बचत नै फिर्ता गर्न सकेको छैन । सहकारीले त दुई हजार पनि दिन सक्दैनन् । अनि शेयर दलालीहरुले के भनेर शेयरको मूल्य बढाइरहेका छन् ? शेयर लगानीकर्ता र सरकार मिलेर सर्वसाधारणलाई फसाउन खोजेका छन् ।
माओवादी केन्द्रको सरकार आओस् या एमालेको जसले पनि उही सस्तो लोकप्रियता कमाउन खोज्ने हो । यी दुई दलका कार्यकर्ता बडो दाबी गर्दै हिँडेका छन्, ‘हाम्रो सरकार आउनेबित्तिकै शेयरको मूल्य बढ्यो ।’ शेयरमा पनि ठूलो राजनीति भयो । माओवादी र एमालेका कार्यकर्ताले कांग्रेसमाथि हिलो छ्याप्ने गरिरहेको छ । कांग्रेसको कारणले शेयरमा लगानी नबढेको र शेयर डुबेको हो भन्ने आरोप यिनीहरुले लगाइरहेका छन् । हाम्रो सरकार आउनेबित्तिकै शेयर उकासिएको भनिरहेका छन् ।
के कारणले शेयरको मूल्य बढ्यो ? यसको जवाफ यिनीहरुसंँग छैन । बैंकले शेयरमा लगानी गरेको छैन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको चार लाख कित्ता शेयर भएको कारणले मौद्धिक नीतिसमेत परिवतन गरे । उनले यही बेला शेयर बेच्ने छन् । बाठाटाठाले त ‘बलीको बोका’ बनाइहाल्छन् तर सर्वसाधारण चनाखो हुन जरुरी देखिएको छ । सबै विषयमा जानकारी नराखिकन र अध्ययन अनुसन्धान नगरिकन शेयरमा लगानी गर्नु भनेको ‘आफ्नो खुट्टामा आफैंले बञ्चरो’ हान्नु जस्तै हो ।
हिजो ३२ सयबाट १८ सयमा शेयर झर्दा लाखौंको बिल्लीबाठ भएको त छर्लङ्ग छ । भोलि शेयरको मूल्य बढ्छ र कमाउला भनेर त शेयरमा लगानी गरेका थिए । शेयरमा लगानी सोत्तर हुन्छ भनेर कसलाई थाहा थियो ? त्यसैले अब पनि शेयरमा लगानी गर्नुले धेरै जोखिम निम्त्याउन सक्छ । अहिले १८ सयको मूल्य बढेर २१ सयमा आएको छ । तीन सय नाफा हुने भएपछि शेयर लगानीकर्ताले त भटाभट बेचेका छन् । एक कित्ता शेयरमा तीन सय रुपियाँ बढ्नु ठूलो कुरा हो ।
अहिले जसले २१ सयमा शेयर किनेका छन् भोलि त्यसको मूल्य बढेन भने ? २२ सयमा पुग्यो भने त फाइदा होला । झरेर १८ सयमै आयो भने अहिलेका लगानीकर्ता त ‘घर न घाट’ को हुन्छन् ।
त्यसैले यस्तो जुवा र जनता डुबाउने कारोबार सरकारले बन्द गराउनुपर्छ । शेयर कारोबार बन्द नगराउने हो भने धेरै विस्थापन हुन्छ । धेरैको घर व्यवहार तहसनहस भएको छ । शेयर डुब्दा डिप्रेसनमा गएकाहरु यत्तिकै भेटिन्छन् । सर्वसाधारणले के बुझ्नुपर्छ भने अहिले तत्काल शेयरको मूल्य बढ्ने अवस्था छैन किनकि मान्छेसँंग बिहानबेलुका भात खाने पैसा छैन । बजारमा तरलता कायमै छ । सर्वसाधारणसँंग छोराछोरीको शुल्क तिर्ने पैसा छैन । काम गर्ने ठाउँमा तलब छैन । बैंकले बचत फिर्ता गर्न सकेको छैन । अनि के आधारमा बढ्यो शेयर ? दलालीहरुले सर्वसाधारणलाई ‘मुर्गा’ बनाउने काम गरिरहेका छन् । तिनको पछि लाग्दा आफ्नो घरबार नै उठीबास लाग्न सक्छ । शेयरमा लगानी गर्नेहरु आशको पछाडि दौडिरहेका छन् । आज बढ्छ कि भोलि बढ्छ भनेर उनीहरु पर्खेर बसिरहेका छन् ।
आफूसँंग भएको पैसा त तिनले डुबाइहाले । यता, त्यही शेयरको पछाडि दौडिँदादौडिँदा तिनको जिन्दगी खेर गइरहेको छ । शेयरको मूल्य बढ्छ भनेर कुर्दाकुर्दै बुढेस्काल लागिसकेको छ । जाँड खान नजानेकालाई मान्छेले आफ्नै पैसा खर्च गरेर पहिले जाँड खान सिकाउँछन् । त्यसपछि त उसलाई लत लाग्छ । अनि उसकै पैसामा अर्को व्यक्तिले सदैव जाँड खान्छ । जुवातास खेल्न जानेको छैन भने पनि दलालीहरुले सिकाउँछन् । पैसा छैन भने ऋण दिएर पनि खेल्न तम्साउँछन् ।
त्यही गर्दागर्दै आफ्नो सम्पत्ति सिद्ध्याउँछन् । जिन्दगी पनि तहसनहस बनाउँछन् । क्यासिनोको पैसा मा¥यो भने सञ्चालकले घरमै कर्मचारीसहित मान्छेलाई पठाउँछ । भोलिपल्टदेखि उसलाई घर लिन कर्मचारी पठाउँछ किनकि जितेको पैसा त सिद्ध्याउनुप¥यो । शेयर पनि त्यही नै हो । शेयर दलालीहरुले आफू नाफा कमाउनका लागि आफ्नो इष्टमित्र, आफन्त सबैलाई फसाउँछन् । शेयरमा नाफा हुन्छ भनेर शेयर किन्न लगाउँछन् अनि अरुलाई डुबाएर आफू उक्सिन्छन् ।
शेयरमा लगानी गर्ने ५४ लाख लगानीकर्ताहरु डुबेका छन् । यिनीहरु भागेर, मुख लुकाएर हिँडेका छन् । शेयरकै कारणले सम्बन्धविच्छेद भएको पनि बाहिर आएको छ । शेयर धितो राखेर बैंकबाट कर्जा लिएकाहरुले ऋण फिर्ता गर्न सकेका छैनन् । यिनीहरु कालोसूचीमा गइसकेका छन् । बैंकले ऋणीहरुको तीन पुस्ता पत्रिकामा निकालिरहेका छन् । नाफा खाने दाउमा बैंकबाट ऋण लिएर शेयरमा लगानी गरे । अहिले ऋण तिर्न नसकेर आफू त भाग्नप¥यो ।
छोराछोरीले समेत ऋण नपाउने भए । सरकारले कर लिने नाममा जनताको घरमा रुवाबासी बनायो । शेयरमा लगानी गर्न सिकाउने सरकार नै हो । जनता डुबाउने नै सरकार हो ।

नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीको अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई नगद जरिबाना गराएको छ । सञ्चालकमा रहँदा अनधिकृत रुपमा आफैं सञ्चालक रहेको कम्पनीको सेयर बिक्री गरेपछि बोर्डले न्यौपानेलाई नगद जरिबानासहित १० वर्ष कुनै पनि पब्लिक लिमिटेड कम्पनीको सञ्चालक वा व्यवस्थापक हुन नपाउने गरी कारबाही गरेको हो ।

२४ पुसमा बसको बोर्ड सञ्चालक समितिको बैंठकले कम्पनीका अध्यक्ष न्यौपानेलाई सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत धितोपत्र कारोबार गरेकोले धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०१ (७) अनुसार ७५ हजार रूपैयाँ जरिबाना गरिएको बोर्डले जनाएको छ ।

यस्तै उनलाई धितोपत्र सम्बन्धी ऐनको दफा १०८ अनुसार १० वर्षसम्म कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नसक्ने गरी कारबाही भएको बोर्डले जनाएको छ ।
‘कुनै संचालक, महाप्रवन्धक वा सो सरहको कुनै पद धारण गरेको व्यक्तिले दफा १०१ बमोजिम कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले १० बर्षको अवधि पूरा नभएसम्म कुनै पनि पब्लिक लि. कम्पनी वा संस्थाको सञ्चालक, महाप्रवन्धक वा सो सरहको पदमा बहाल हुन योग्य हुने छैन,’ धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०८ मा भनिएको छ ।

न्यौपानले रिडी पावरका अध्यक्ष रहँदा १९ चैत २०७७ देखि ४ भदौ २०७८ सम्म रिडी हाइड्रोपावरको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेका थिए । सो विषयमा बोर्ड विभागीय अध्यन गराएर ६ पुस २०७८ मै कारबाही सिफारिस भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *