उमेरहद बढाइनु स्वागतयोग्य

Nayabimarsha (Weekly Newspaper from Nepal)
सम्पादकीय

संघीय सरकारले संसदमा पेश गर्ने अन्तिम तयारी गरेको संघीय निजामती सेवा ऐन, २०७९ मा निजामती कर्मचारीको उमेरहद बढाइएको छ । अहिले ५८ वर्ष उमेरहद लागू हुँदै आएकोमा ऐनले ६० वर्षे उमेरहदको व्यवस्था गरेपछि उमेरहदका सम्बन्धमा नयाँ व्यवस्था हुने भएको हो । ऐनको परिच्छेद ७ मा ‘निजामती कर्मचारीले ६० वर्ष उमेरहद पूरा भएपछि अनिवार्य अवकाश पाउँछ ।’ भनी व्यवस्था भएको छ । यसैगरी उक्त ऐनमा २०८० असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवाबाहेक अन्य सेवाको निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद ५८ वर्ष कायम रहेनछ । यसरी आगामी असार मसान्तसम्मकालागि विद्यमान उमेरहद नै कायम रहे पनि त्यसपछि भने नयाँ व्यवस्था अनुसार हुने हुन्छ । उक्त ऐन अनुसार कर्मचारीको निवृत्तिभरण पाउने अवस्था र ५० वर्ष उमेर पुगेका कर्मचारीहरुले स्वेच्छिक अवकाश पाउने व्यवस्था समेत मिलाइने भएको छ । ‘निवृत्तिभरण पाउने अवस्था भएको, उमेरको हद ५० वर्ष पुगेको र एउटै श्रेणी वा तहमा १५ वर्ष सेवा अवधि पूरा गरेको निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा निजलाई एक श्रेणी वा तह माथिको पदमा बढुवा गरी स्वेच्छिक अवकाश दिन सकिने छ ।’ भनी नयाँ व्यवस्था गरिएकाले त्यस्तो सुविधा लिन चाहने कर्मचारीहरुले भने त्यस्तो सुविधा समेत लिन पाउने व्यवस्था गरिएको छ ।
यसैगरी ऐनले उपदानकोकालागि पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेको तर निवृत्तिभरण पाउने अवधि नपुगेको निजामती कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी पदबाट हटाइएमा उपदान पाउने उल्लेख गरेको छ । २० वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको निजामती कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी पदबाट हटाइएमा मासिक निवृत्तिभरण आजीवन पाउने व्यवस्था गरिएको छ ।
यसरी कर्मचारीको उमेरहदको विषयलाई लिएर विवाद भैरहेको अवस्थामा उक्त प्रस्तावित ऐनले स्पष्ट पार्ने अपेक्षा गरिएको छ । विश्वका विभिन्न देशहरुमा कम्तीमा ६० वर्षे सेवा अवधि राखिने गरेको छ । नेपालमै पनि औसत आयूमा वृद्धि भएको हालको अवस्थामा उमेरहद बढाइनु उचित हुने भनी सुझावहरु आउने गरेका थिए । यसैगरी निजामती सेवाबाट सेवानिवृत्त भएका धेरैजसो व्यक्तिहरुले ५८ वर्षपछि पनि विभिन्न निजी तथा अन्य सेवामा आफूलाई क्रियाशील राख्ने गरेको पाइएकाले पनि कर्मचारीको उमेरहद बढाइनुपर्ने माग बढ्दै आएको थियो । सरकारी सेवा सुविधा लिएर काम गर्न सक्ने उमेरमै सेवाबाट विदा हुनुभन्दा कम्तीमा ६० वर्षसम्म काम गरी आफ्नो सेवा अवधिलाई बढाउने मौका कर्मचारीलाई दिनु उचित हुने भएकाले यो प्रस्तावित व्यवस्था मुलुककोलागि लाभकर हुने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *