सम्पादकीय
काठमाडौं महानगरपालिकालले नेपाली बाजाहरुको संरक्षण तथा व्यवस्थापनका लागि चासो देखाएको छ । महानगरपालिकाले ज्यापू महागुठी अन्तर्गतका ६३ वटा परम्परागत टोल र गुँला बाजा संरक्षण तथा व्यवस्थापन संघअन्तर्गतका २३ वटा समूहलाई आर्थिक सहयोग गरी यसका लागि चासो देखाएको हो । गुँला बाजा र परम्परागत ज्यापू गुठी, खलः पुचलाई परम्परागत बाजा संरक्षण तथा वाद्य कला पुस्तान्तरण कार्यका लागि ८६ वटा संस्थालाई दुई÷दुई लाख रुपियाँको अनुदान दिएको हो । महानगरको नेतृत्वमा बालेन्द्र साह (वालेन) आएपछि नेपाली बाजालाई विश्वव्यापी रुपमा चिनाउनका लागि प्रयास थालिएको छ । उनले नदी सभ्यता र काठमाडौंबासीका परम्परागत चालचलनका बीचमा स्वभावले नै अभिन्न सम्बन्ध रहेको बताउने गरेका छन् । परम्परागत बाजाको अभिलेख राख्ने, बाजा बजाउन इच्छुकहरुका लागि ट्युटोरियल बनाउने, बाजा बजाउनेलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई काठमाडौं महानगरले प्राथमिकतामा राखेको छ ।
गुँला बाजा व्यवस्थापन तथा संरक्षण संघले बुद्धभूमि लुम्बिनीबाट काठमाडौं आएका शाक्यहरुसँगै गुँला बाजाको संस्कार काठमाडौं उपत्यकामा भित्रिएको बताइन्छ । यी बाजा समूहमध्ये चारुमती र जयबागेवरी धा बाजं खल गुँला पर्वका अवसरमा बाजा बजाउँदै पशुपतिको यात्रा गर्ने गरिन्छ । अन्य २१ वटा समूहले स्वयम्भूको यात्रा गर्ने गर्दछन् । न्हूः द (नेपाल संवत) को नवौँ महिना अवधिभर गुँला बाजा बनाउने चलन काठमाडौं रहेको छ । यसरी नेपाली बाजाहरुको संरक्षण तथा व्यवस्थापनको लागि काठमाडौं महानगरपालिकाले गरेको यो कार्यलाई सरोकारवालाहरुले सकारात्मक रुपमा लिएका छन् । यी बाजासँग खासगरी काठमाडौंबासीको संस्कार तथा संस्कृति समेत जोडिएको छ ।
महानगरका प्रमुख वालेनले गरेको यो कार्यले नेपाली बाजाहरुलाई विश्वमाझ चिनाउन सहयोगी भूमिका खेल्ने देखिन्छ । एकातिर महानगरपालिकाले राम्रो कार्यक्रम राखेर सहयोग गर्दा नै त्यसले विश्वव्यापी रुपमा सञ्चारमा सकारात्मक सन्देश जान्छ भने अर्कातिर नेपाली बाजाहरुको बारेमा विश्वव्यापी रुपमा चासो बढ्ने अवस्था आउँछ । विदेशी संस्कृतिको कुप्रभावमा पर्दै गएको नेपालमा हाम्रा आफ्ना पहिचानहरुको संरक्षण गर्नु अत्यावश्यक रहेको छ । प्रमुख साह आफू पनि संगीतप्रेमी भएका कारण मात्र होइन कि उनले विश्वव्यापी रुपमा नेपाली पहिचानहरुलाई चिनाउनका लागि प्रयास गर्दै आएको कुरालाई सकारात्मक रुपमा लिइनुपर्छ । काठमाडौं महानगर क्षेत्रका बाटाहरुलाई व्यवस्थित गर्ने कार्यमा मात्र होइन कि उनले बाग्मती सभ्यतालाई पुनस्र्थापित गर्नका लागि बागमती नदी क्षेत्रलाई खुला र सफा राख्ने अभियान समेत चलाएका छन् । यो कुरालाई पनि सकारात्मक रुपमा लिनुपर्छ । त्यसका लागि भने सो क्षेत्रमा बसोबास गर्दै आएका वास्तविक सुकुम्बासीहरुको सही पहिचान गरी उनीहरुको व्यवस्थापनलागि सरकारले कदम चाल्नुपर्ने हुन्छ । महानगरपालिकाले नगरलाई सुन्दर, सफा र हराभरा बनाउनका लागि पनि विभिन्न किसिमका कार्यहरु गर्दा सरकारले नै त्यसमा अवरोध पु¥याइरहेको जस्तो देखिएको छ । त्यसैको विरोधस्वरुप प्रमुख साहले सिंहदरबार क्षेत्रको फोहोर नउठाउने घोषणा गरी त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउने कार्य पनि गरेका छन् । यसरी हाम्रो आफ्नो पहिचान जोडिएका बाजाहरु तथा पहिचानलाई जोगाउने, संरक्षण गर्ने कार्यकालागि महानगरले थप कार्यहरु गर्दै जानु आजको आवश्यकता पनि हो । यो कुरामा कुनै व्यक्तिको ख्यातिलाई जोड्नु आवश्यक छैन । राम्रो कामलाई राम्रो भन्नुपर्छ । कसैसँग आग्रह वा पूर्वाग्रह राख्नु आवश्यक हुँदैन ।