स्वामी आनन्द अरुण
तनाव अहिलेको युगको सबैभन्दा जटिल मानसिक समस्या हो । वैज्ञानिक विकासको सहयोगले जुन–जुन देशमा जीवनशैली जति–जति परिवर्तन भइरहेका छन्, त्यति–त्यति नै त्यहाँका मानिस बढी तनावमा बाच्न बाध्य भइरहेका छन् । सन् २००० मा गरिएको एक सर्वेक्षणमा युरोप र अमेरिकामा ७३ प्रतिशत पेशागतहरू अति तनावग्रस्त अवस्थामा कार्यरत थिए । यो संख्या १९८३ मा ५५ प्रतिशत मात्र थियो । तनावपीडितहरूले प्रत्येक वर्ष तीन अर्ब डलरको औषधि खाइरहेको पनि देखिएको छ ।
अत्यधिक तनावका कारण उत्पन्न समस्याबाट प्रत्येक वर्ष व्यावसायिक संसारलाई तीन सय अर्ब डलर घाटा हुन्छ । प्रत्येक वर्ष तनाव व्यवस्थापनसँग सम्बन्धित दुई हजार पुस्तक छापिन्छन् र लगभग एक अर्ब डलर बराबरको बिक्रीवितरण हुन्छ । मनुष्यको संगतले घरपालुवा जनावरहरू पनि तनावग्रस्त हुन थालेका छन् । आज अमेरिकामा भेलियम, प्रोज्याक र अन्य तनाव विसर्जन गर्ने औषधि जनावरलाई पनि दिन थालिएको छ । एक अमेरिकी घरपालुवा कुकुरलाई तनावरहित बनाउन प्रत्येक महिना दिइने औषधिको खर्च एक सय डलर भएको तथ्याङ्क छ ।
तनाव सधैं नकारात्मक भने हुँदैन । एक हदसम्मको तनावले सजगता, प्रेरणा र कार्यदक्षता दिन्छ । त्यसले सीमा नाघ्नासाथ तनावले अनेक प्रकारका शारीरिक, मानसिक र भावनात्मक समस्या खडा गरिदिन्छ । हाम्रोजस्तो अविकसित देशमा पर्याप्त चुनौती र प्रतिस्पर्धा नहुनु, कार्यसम्पादनको गुणवत्ताको कुनै मापदण्ड नहुनु, निश्चित लक्ष्यसम्म पुग्न निश्चित समय सीमा निर्धारण नहुनुले पनि मानिस अल्छी, लोसे र अप्रत्युत्पादक भएको देखिएको छ । उचित तनाव र प्रतिस्पर्धा नहुँदा हुने दुर्दशाको राम्रो उदाहरण सरकारका पूर्ण स्वामित्व भएका हाम्रा संस्थान र सरकारी कार्यालयहरू हुन् ।
तनाव के हो?
कुनै पनि यस्तो परिवर्तन जसले शारीरिक, मानसिक र भावनात्मक असुविधा पैदा गर्छ, यसलाई तनाव भनिन्छ । तनाव परिस्थितिसँग कम तर त्यसप्रतिको हाम्रो प्रतिक्रियासँग बढी सम्बन्धित छ । एउटै परिस्थितिमा एक व्यक्ति अति तनावग्रस्त हुन सक्छ भने अर्को व्यक्ति शान्त भएर कुशलतापूर्वक काम गर्नसक्छ । त्यसकारण तनाव परिस्थितिजन्य कम र व्यक्तिपरक बढी हो ।
बाह्य परिस्थिति पूर्णतः हामीले चाहेजस्तो अनुकूल कहिल्यै पनि बन्न सक्दैन तर त्यसप्रतिको प्रतिक्रिया हाम्रो हातमा हुन्छ र तनाव व्यवस्थापनको यही नै मुख्य सूत्र हो ।
तनावका कारणहरू
मान्छेको जीवनमोह हरेक परिस्थितिमा पनि बाँच्न चाहने हुन्छ । आफ्नो ज्यानमाथिको खतरा, कतैबाट आक्रमण हुने डर, अस्वस्थता तथा असुरक्षाका कारण मानिस तनावग्रस्त रहन्छ । आर्थिक सुरक्षा मानिसको ठूलो समस्या हो । पारिवारिक आर्थिक आवश्यकता पूरा गर्न नसक्ने अवस्था भएमा पनि तनाव हुन्छ । महत्वाकांक्षा तनावको अर्को ठूलो कारण हो । अति महत्वाकांक्षीहरू तनावकै कारण अनेक शारीरिक तथा मानसिक रोगबाट ग्रसित हुन्छन् ।
वरिपरिको वातावरणले पनि तनाव उत्पन्न गर्नसक्छ । हल्ला, साँघुरो ठाउँ, दूषित स्थान, भीडभाड र सधैं हुने दङ्गाले पनि तनाव हुन्छ । यो शहरी जीवनको एक अनिवार्य अभिषाप बनिसकेको छ । रसायनहरूको प्रयोगले पनि तनाव हुन्छ । क्याफिन, सुगर, अति नुनिलो खाना, धूमपान, लागूपदार्थ इत्यादिको सेवनले पनि तनाव उत्पन्न हुन्छ । यिनीहरूले केही क्षणका लागि फुर्तीको सञ्चार गराए पनि पछि शरीरभित्र रासायनिक तनावको स्थिति सिर्जना गर्छन् ।
बदलिँदो सामाजिक परिवेशमा हुने पारिवारिक विखण्डन र असमझदारी पनि तनावको ठूलो कारण हो । काम गर्ने परिवेशमा भनसुन, सिफारिस, नातावाद, राजनैतिक पूर्वाग्रह र भ्रष्टाचारले गरी खाने मान्छेलाई तनावग्रस्त बनाइराखेको छ ।
तनावका लक्षणहरू
अनिद्रा, थकान, छिट्टै निद्रा खुल्नु, दाँत किट्नु, कम खानु या बढी खानु, लागूपदार्थको दुव्र्यसन, उच्च रक्तचाप, पेटको अल्सर, ग्यास्ट्रिक, महिनाबारी समस्या, हृदयरोग, चिडचिडापन, नङ टोक्ने, आफ्नो लबाइ, हिँडाइमा ध्यान नदिने, एकाग्र हुन नसक्ने, गम्भीर रहने, अति बोल्ने, अकारण भय हुने तनाव उत्पन्न भएको व्यक्तिका मुख्य लक्षण हुन् ।
तनावका व्यवस्थापनका उपाय
तनाव व्यवस्थापन यस युगको अनिवार्यता भएर आएको छ । यससम्बन्धी धेरै अध्ययन, सभा, गोष्ठी, प्रयोग र साहित्य सिर्जना भइरहेका छन् । साधारणतः तनाव तथा नैराश्य हटाउन विभिन्न प्रकारका औषधि बजारमा प्रचलित छन्, जस्तै ः ट्राइजेपाम टियाजोलाम, हेलोपेरिडोल इत्यादि । यी सबैको साइड इफेक्ट हुन्छ र अलिकति मात्रा फरक परेमा यो प्राणघातक पनि हुन सक्छ । लत लागे यिनीहरूलाई छोड्न लागूपदार्थ छोड्नभन्दा गाह्रो हुन्छ । जीवनशैलीमा परिवर्तन नै तनाव विसर्जनको एकमात्र निरापद उपाय हो । यसका लागि केही सुझावहरू यहाँ प्रस्तुत गरिएका छन् –
प्राकृतिक आहारविहार, फलफूल, सादा शाकाहारी भोजन गर्ने, गुलियो र अति नुनिलो चिज नखाने । क्याफिन तथा बोतलबन्द पेयपदार्थ, फास्टफुड, जङ्कफुड नखाने, धूमपान र मद्यपानबाट बच्ने ।
एकमात्र शुद्ध पेयपदार्थ सादा पानी नै हो । त्यसका अरू विकल्प जस्तो कोक, फेन्टा, पेप्सी, बियर इत्यादिले तनाव घटाउने जस्तो देखिए पनि अन्ततः तनाव बढाउँछन् । प्रतिदिन ३ देखि ५ लिटरसम्म सफा पानी पिउनु आवश्यक छ ।
चिया र कफीले पनि स्वस्थ निद्रामा बाधा गर्छन् । हृदय र नाडीको गति बढाउँछन् र अन्ततः तनाव वृद्धिमा सहायक बन्छन् । कागती पानी या जडीबुटीको चिया चिया र कफीका राम्रा विकल्प हुन् । मानिसलाई दैनिक ७ घण्टाको निद्रा आवश्यक हुन्छ । छिटो सुत्नु र छिट्टै उठ्ने बानीले तनाव घटाउँछ ।
आफूलाई भौतिक, मानसिक कुरामा प्रतिकूल असर पार्ने कतिपय कुराको संलग्नताप्रति दृढतापूर्ण नाइ भन्न सिक्ने ।
ध्यान र योगाभ्यास तनाव विसर्जनमा सर्वाधिक लाभदायक हुन्छन् । नियमित ध्यानले अति तनावग्रस्त परिस्थितिमा पनि शान्त र सकारात्मक रहन सक्ने समझ र धैर्यको विकास हुन्छ । त्यसकारण ध्यान र योगाभ्यासले आज चिकित्सकहरूको पे्रस्क्रिप्सनमा पनि ठाउँ बनाइसकेका छन् । हालैका खोजले योग, पौडी र प्रकृतिमा टहल्नुलाई तनावबाट मुक्त हुने निरापद उपायका रुपमा लिएको पाइन्छ ।
ओशोले हास्य, नृत्य, योग, ध्यान र प्रेमलाई तनाव विसर्जन गर्ने महाऔषधि मानेका छन् । योग र ध्यान धेरै प्रचलित भएकाले यसका नाममा बजारमा चलेका मान्यताहरू सबै वैज्ञानिक छैनन् । प्रेम भन्नासाथ हाम्रो मनले यौन बुझ्छ । सम्यक् यौन पनि तनाव विसर्जनमा सहायक हुने चिकित्सकहरूको राय छ तर असन्तुलित यौन र प्रेमले सबैभन्दा बढी तनाव सिर्जना गर्छ । ‘सन्तुलित यौन र प्रेम केलाई भन्ने ?’ यो आफैंमा एक विशद र विवादास्पद विषय हो । प्रकृतिको समीपको वातावरण र प्राकृतिक जीवनले मानिसलाई सन्तुलित बनाइरहन्छ, यो तनाव विसर्जनको राम्रो उपाय हो ।