(राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) की नेतृ शान्ति के.सी.अमेरिका भ्रमण गरी हालै नेपाल फर्किनु भएको छ । गत संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नं.१ बाट उक्त दलबाट उम्मेदवारी दिएकी के.सी.करिब छ महिना अमेरिका बसी स्वदेश फर्किनु भएको हो । अमेरिका बसाइको क्रममा उहाँले आफ्नो भ्रमणलाई व्यक्तिगत, पारिवारिक र राजनीतिक रुपमा प्रयोग गरेको ‘नयाँ विमर्श’ को संवाददातासँग कुराकानीको क्रममा बताउनु भयो । उहाँसँग गरिएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।)
अमेरिका भ्रमण गरी फर्किनु भयो, किन जानु भएको थियो ?
– खासगरी म व्यक्तिगत कुराले जानुपर्ने अवस्था थियो । त्योसँगै पारिवारिक कुरा तथा पुगेपछि त्यो भ्रमण राजनीतिक अवस्थामा पनि परिणत हुन पुगेको हो ।
कस्तो रहेछ त अमेरिका ?
– भौतिक हिसाबले भन्ने हो भने विश्वको अत्याधुनिक विकास त्यहाँ रहेछ । गगनचुम्बी भवन, फराकिला बाटा, सबै कुरा प्रणाली (सिस्टम) ले चल्ने देश रहेछ । सबैलाई समान कानून, अवसर तथा विकासको अनुभूति गर्न पाउनुको अतिरिक्त स्वतन्त्रताका कारण पनि मानिसहरुको आकर्षण अमेरिकाप्रति बढेको रहेछ ।
नेपाल र अमेरिकाबीचको फरक कस्तो पाउनु भयो ?
– प्राकृतिक तथा पारिवारिक अवस्थालाई तुलना गर्ने हो भने नेपाल स्वर्ग हो । त्यसैगरी आधुनिक विकास र प्रणालीगत व्यवस्थाको कुरा गर्ने हो भने अमेरिका स्वर्ग हो । नेपालका केही राम्रा पक्ष छन् भने अमेरिकाका केही राम्रा पक्ष छन् ।
जुन कुराको लागि जानु भएको थियो, त्यसको समाधान पाउनु भयो त ?
– खासमा म मेरो छोरो त्यहाँ बसोबास गर्दै आएको अवस्थामा नेपाल आएको बेला अप्रीय घटना भएको थियो । त्यसैले छोरा बसेको ठाउँ तथा उसले त्यहाँ गरेको कामको विषयमा जानकारी लिन मन थियो । उहाँ गएपछि केही कानूनी कुराहरुको पालना गर्नुपर्ने तथा बुझ्नुपर्ने अवस्था थियो । ती कुराको थालनी गरेँ । केही कुरा अझै पनि अस्पष्ट रहेका कारण तिनीहरुको कानूनी समाधान खोज्ने कुरा अघि बढाएँ । केही कुरा अघि बढ्यो भने पछि फेरि गएर समाधानका लागि लाग्नु पर्ला ।
त्यहाँ कानूनी कार्यका लागि नेपाली मूलका व्यक्तिको सहयोग लिनु भयो कि विदेशीको ?
– चौबीस तलामाथि कार्यालय राखेका नेपाली मूलका कानून व्यवसायीसँग भेटें । उहाँले त्यहीँको चलनचल्ती अनुसारको शुल्क लिएर कानूनी परामर्श दिनुभयो । उहाँका कामका लागि जाने मानिसको भीड देखेर अचम्मित भएँ । अमेरिकामा बसी यसरी जमेका नेपाली पनि रहेछन् भन्ने लाग्यो ।
सबै जमेकै होलान् नि अमेरिकामा ?
– होइन, होइन । कहाँ जम्नु नि उनीहरु ! धेरै नेपालीको अवस्था त्यति राम्रो देखिन । विचराहरु सानोतिनो कामको लागि दिनभरी घरी कुन घर वा कार्यालयमा घरी कुन घर कार्यालयमा काम गर्न जाने । काम सकेर तल झरी सुट टाइ लगाएर आफ्नो कारमा चढी घर वा कोठामा आउने । अनि हप्ता दिनलाई पुग्ने गरी पकाएको खाना तताएर खाने अनि अर्कोतिर काममा निस्कने । अमेरिकामा बसेको भनी परिवारजनले नेपालमा फुर्ती लगाउने तर उनीहरु भने हाड घोटेर काम गर्ने ।
रामराजा महतले त धेरै नेपालीलाई सहयोग गरिरहेका भन्ने कुरा आउँछ, उहाँसँग पनि भेट भयो त तपाईको ?
– तिनको कुरै नगर्नुस् । विभिन्न संचारमाध्यममा देखिने महतको वास्तविकता त्यस्तो लागेन । दिनमा १० वटा लुगा फेरेर शक्तिशाली मान्छेहरु नेपालबाट जाँदा विमानस्थनमा पुगी खादा, माला, झ्याली, झ्याम्टा पिट्ने तर दुःखमा परेका वा शक्तिहीनहरुलाई उनले कुनै पनि सहयोग नगर्ने भन्ने कुरा सुनेपछि मलाई उनीसँग भेट गर्न मन लागेन । उनको देखिने चरित्र र वास्तविकता फरक छ भन्ने सुनेपछि उनीप्रति खासै श्रद्धा जागेन । त्यसैले भेट्नु उचित पनि लागेन ।
राजनीतिक रुपमा भेटघाट गर्नुभयो कि भएन ?
– त्यहाँका राजनीतिक रुपमा उच्च व्यत्तित्वहरुसँग पनि भेटेँ तर उहाँहरुको नाम खुलाउन चाहन्न । उहाँहरुसँगको भेटमा मैले खासगरी नेपाल फर्किन चाहने विश्वभरीका नेपालीलाई फर्किने वातावरण बनाइदिन अमेरिकाले पहल गरोस् भन्ने धारणा राखें । यसैगरी अमेरिकामा रहेका नेपालीहरुले त्यहीँबाट नेपालमा चुनाव हुँदा मतदान गर्ने व्यवस्था मिलाउन सक्ने वातावरण बनाइयोस् भन्ने कुरा पनि राखेँ । उहाँहरुले त्यसलाई सकारात्मक रुपमा लिनु भएको छ । त्यसको परिणाम (नेपाल फर्काउने व्यवस्थाको) पनि नेपालमा देखिन थालेको महसुस हुन थालेको छ ।
त्यहाँको नेपाली दूतावासको अवस्था कस्तो रहेछ नि ?
– विश्वका अन्य देशका राजदूतावासको तुलनामा नेपाली राजदूतावासको अवस्था राम्रो लागेन । १०–२० जना पुगेमा दूतावासमा राम्ररी बस्न समेत नपुग्ने खालको व्यवस्था भएको देख्दा दिक्क लाग्यो ।
नेतृ शान्ति के.सी.सँग अमेरिकाको कुरा
Facebook Comments Box