उत्खनन्सँगै संरक्षणको पनि खाँचो

Nayabimarsha (Weekly Newspaper from Nepal)
सम्पादकीय

रुपन्देही जिल्लाको देवदहमा गरिएको उत्खनन्बाट महत्वपूर्ण प्राचीन संरचनाका भग्नावशेष फेला परेकाले नेपालीजनमा उत्साह छाएको छ । उत्खनन्का क्रममा उक्त क्षेत्रमा प्राचीन पर्खाल र प्राचीनतम् इनारका संरचना फेला परेका हुन् । लुम्बिनी विकास कोषको पहलमा गत जेठ १७ गतेदेखि उक्त क्षेत्रको उत्खनन् शुरु गरिएको हो । उत्खननबाट प्राचीन भवनको संरचना, इनार र पुराना माटोका भाँडाका टुक्रा, माटोको दीयो जस्ता बस्तु फेला परेको छन् । कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा सात जनाको टोलीले एक महिना लगाएर उत्खनन् गर्दा ती संरचना फेला परेका हुन् । उत्खनन्बाट फेला परेका संरचना र बस्तुको प्रारम्भिक अध्ययनबाट ती संरचना र बस्तु तात्कालीन समयमा धार्मिक प्रयोजनका लागि बनाइएको हुनसक्ने अनुमान गरिएको छ ।
यस वर्ष वर्षा शुरु भएकाले उत्खनन् कार्य स्थगित गरिए पनि अर्को वर्ष उत्खनन्लाई निरन्तरता दिने भनेको छ । यसअघि बैरीमाई, कन्यामाई, भवानीपुरमा समेत पुरातत्व विभागले उत्खनन् गरेको थियो । अहिलेको देवदह नगरपालिकाको वडा नं.९ मा पर्ने घोडाहास्थित खयरडाँडामा दरबार क्षेत्रको भग्नावशेष रहेको भन्ने स्थानीयको भनाइ रहेको छ । त्यस ठाउँमा समेत उत्खनन्का लागि स्थानीयबासीले आवाज उठाउँदै आएका छन् । भवनको संरचना तत्कालीन अवस्थामा प्रवचन दिनका लागि बनाइएका सभाहल जस्ता ठूलाठूला कोठा रहेका अनुमान गरिएको छ । ४५ मिटर लम्वाइ र ३४ मिटर चौडाइमा भवन फैलिएको बताइन्छ । अहिलेको प्रारम्भिक उत्खनन् र त्यसबाट प्राप्त संरचनाबाट अहिले नै कोलिय गणराज्यको दरबार क्षेत्र भनेर मान्न सकिने अवस्था भने नरहेको बताइन्छ । यसको पुष्टि हुन अहिले देखिएका इँटाभन्दा धेरै अगाडिका संरचना र बस्तु पर्नुपर्ने भनाइ पुरातत्व विभागको रहेको छ । लुम्बिनी, कपिलबस्तुभन्दा पनि पुरानो क्षेत्र गोटिहवा इसापूर्व १३ औँ शताब्दीको त्यस समयका खैरा रङ्गका चिल्ला माटाका भाँडा, कालो रङ गरेका तात्कालीन अवस्थामा राजपरिवारले प्रयोग गर्ने माटाका भाँडा पाइए भने मात्र बुद्धको समयसम्म पुग्न सकिने भन्दै विभाग उत्खनन्मा जुटिरहेको हो ।
नेपाल त्यसमाथि लुम्बिनी क्षेत्र गौतम बुद्धको जन्मस्थल रहेको भन्ने कुरालाई थप प्रमाणित गर्ने खालका कुराहरु उत्खनन्बाट फेला पर्दै आएका छन् । यसरी फेला परेका बस्तुहरुको संरक्षण सही ढंगबाट हुनु आवश्यक छ । यस्तो भएन भने त्यहाँ फेला परेका बस्तुहरु स्थानीयबासीले केही पैसा पाउने लोभमा भारतमा रहेका व्यक्तिहरुलाई बेच्न सक्ने खतरा रहेको छ । नेपालमा जन्मिएका बुद्धको वास्तविकतामाथि खेलवाड गर्ने कार्यमा भारतीयहरु रहिरहेको अवस्थामा नेपालमा भेटिएका पुरातात्विक महत्वका बस्तुहरुलाई नेपालले संरक्षण गर्न नसकेमा ती बस्तुहरु भारतमा पुगी भोलिका दिनमा ‘कार्बन डेटिङ’ गर्दा भारतमा लगिएका बस्तुहरु पुराना प्रमाणित हुने खतरा रहेको देखिन्छ । त्यस्तो अवस्थामा गौतम बुद्धको जन्मस्थलको विषयमा विवाद हुँदा अन्तर्राष्ट्रिय रुपमा समेत भारतमा पुगेका बस्तुहरु प्रामाणिक रुपमा पुष्टि हुन सक्छन् जसले नेपालको प्रमाण कमजोर बनाइदिन सक्छ । त्यसैले यस्ता पुरातात्विक महत्वका बस्तुहको उत्खनन्सँगै संरक्षणको पनि खाँचो रहेको छ । यसका लागि तीनवटै तहका सरकारहरुका अतिरिक्त स्थानीयबासीको भूमिका पनि महत्वपूर्ण हुन जान्छ । यसतर्फ सबै निकायको ध्यान समयमै पुग्न सकोस् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *