वालेनको आक्रोश अशोभनीय

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह (वालेन) को पछिल्लो आक्रोशले उनको आफ्नै उचाइ घटाउने कार्य भएको छ । गत शनिबार वालेनकी पत्नी चढेको महानगरपालिकाको गाडी सवारी प्रहरीको नियमित जाँच प्रक्रियाप्रति आपत्ति प्रकट गर्दै वालेनले सामाजिक सञ्जालमार्फत ‘सिंहदरबार जलाउने’ भन्ने अभिव्यक्ति दिएका थिए । उनले ‘चोर सरकार’ सम्म भन्न भ्याएका थिए । उनकी पत्नी चढेको सरकारी गाडी सवारी प्रहरीको नियमित जाँचमा पर्दा वालेनले दिएको अभिव्यक्ति विवादमा परेको हो । शनिबार विदाको दिन उनकी पत्नी सवार गाडी सरकारी थियो । त्यो दिन जाँचमा खटिएका प्रहरीले त्यो गाडीको सवारी पासको बारेमा जानकारी लिएका थिए । जानकारी लिनका लागि केही समय लागेको थियो । गाडीका चालकले गाडीमा महानगरपालिकाका प्रमुख वालेनकी पत्नी रहेको तथा उनीहरु अस्पताल पुगी केही दिनअघि जन्मिएकी छोरीलाई स्तनपान गराएर फर्किएको बताएपछि प्रहरीले उक्त गाडीलाई छोडिदिएका थिए ।
वालेनले राति नौ बजेतिर आफ्नो आक्रोश सामाजिक सञ्जालमा राखेका थिए । उनको आक्रोशलाई पहिले सही र गलत रुपमा भन्नेहरु सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया व्यक्त गर्नमा मस्त थिए । यस्तो प्रतिक्रिया आउनुमा कतिपयले वालेनकी पत्नी सुत्केरी व्यथा लागेर अस्पताल जाँदाको घटना भएकाले वालेनको आक्रोश स्वाभाविक भन्ने खालको थियो । कतिपय प्रतिक्रिया भने जे जस्तो अवस्था भए पनि वालेनको अभिव्यक्ति पदीय मर्यादा विपरित रहेको भन्ने नै थियो । यस्तो अवस्थामा वास्तविक घटना के भएको भनी सर्वत्र चासो राखिएको थियो । वालेनले राखेको अभिव्यक्तिप्रति ठीक नभएको तथा वास्तविक घटना सुत्केरी व्यथासँग जोडिएको नभएको भन्ने गरी केही सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए । यस्तो अवस्थामा त्यो दिन अन्यौलमै विते पनि भोलिपल्ट भने वालेनकी पत्नी सुत्केरी भएको नौ दिनमा वच्चीलाई स्तनपान गराएर फर्किएको भन्ने कुरा नै बाहिर आएपछि वालेनको अभिव्यक्ति शोभनीय नरहेको प्रतिक्रियाहरु आउन थाले ।
यो घटनाक्रममा वालेनको अभिव्यक्ति क्षमायोग्य देखिंदैन । यसको प्रमुख कारण भनेको उक्त दिन सरकारी नम्बर प्लेटको गाडीको प्रयोग नै उपयुक्त देखिँदैन । महानगरपालिकाको गाडी भएकै कारण उक्त गाडीको जाँच गरिनु हुँदैन थियो भन्ने वालेनलाई लागेको हो भने त्यो झनै क्षमायोग्य सोच होइन । यसैगरी उक्त दिन उनकी पत्नी सुत्केरी व्यथा नै लागेर त्यो गाडी प्रयोग गर्नैपर्ने अवस्थामा पुगेकी थिइन् नै भने उक्त कार्यलाई पचाउन सकिने मान्न सकिने थियो होला तर त्यस्तो पनि नभएको जानकारी सार्वजनिक भएको छ । यसैगरी महानगरपालिकाले आफैं नै एम्बुलेन्स सुविधा उपलब्ध गराउँदै आएको छ । उक्त सेवाको सर्वत्र प्रशंसा भैरहेको अवस्थामा वालेनकी पत्नीले नै त्यसको सेवा लिएको भए पनि हुने थियो । यसैगरी विदाका दिन प्रयोग गर्न मिलोस् भनी महानगरपालिकाले प्रमुखलाई निजी प्लेट भएको अर्को सानो गाडी पनि प्रयोग गर्नका लागि दिएको छ । त्यो गाडीकै प्रयोग पनि उनले गर्न सक्थिन । अझ वालेनको आफ्नै निजी गाडी पनि रहेको बताइन्छ । त्यस्तो अवस्थामा आफ्नै निजी गाडी प्रयोग गरेको भए सबैभन्दा राम्रो हुने अवस्था देखिन्छ । यसरी समग्रमा हेर्दा उक्त कार्यले वालेनको आफ्नै कद घटाउने कार्य गरेको छ । वालेन जस्तो उदीयमान व्यक्ति जो अहिले काठमाडौंबासीको आशाको रुपमा उदाइ रहेका छन्, उनले नै यस्तो हर्कत तथा अभिव्यक्ति दिंदा त्यसलाई सकारात्मक रुपमा लिन सकिने अवस्था छैन । त्यसैले वालेनले यो घटनाक्रमलाई लिएर माफी माग्नुपर्दछ । उनले आफ्नो गल्तीलाई गल्ती ठान्न सक्नुपर्दछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *