जलवायु परिवर्तन चिन्ताको विषय

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

विश्वका आठ ठूला शहरका प्रमुखले जलवायु परिवर्तनसँगै वायु प्रदुषणको विनाशकारी चक्रको विषयमा आफ्नो प्रतिबद्धता जाहेर गरेका छन् । यो विनाशकारी चक्र र शहरी केन्द्रमा त्यसको गहिरो जोखिमको प्रभाव तोड्न संयुक्त प्रतिबद्धता ती शहरका प्रमुखहरुले जनाएका छन् । संयुक्त अरव इमिरेट्समा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी २८ औं सम्मेलन (कोप–२८) चलिरहेको छ । सोही क्रममा स्वस्थ शहरका लागि साझेदारी (पार्टनरसिप फर हेल्दी सिटीज) को विश्व सञ्जालमा आबद्ध शहरका प्रमुखहरूले यस्तो प्रतिवद्धता जनाएका हुन् । यसरी प्रतिबद्धता जनाउने आठ शहरहरुमध्ये काठमाडौं महानगरपालिका पनि रहेको छ । प्रतिवद्धता जनाउने अन्य शहरहरूमा अमेरिकाको सिकागो, रोमानियाको बुखारेस्ट, ब्राजिलको फोर्टालिजा, इन्डोनेसियाको जकार्ता, बंगलादेशको ढाका, रवंदाको कीगाली र उगान्डाको काम्पला रहेका छन् । संयुक्त प्रतिबद्धतापत्रमा ‘जनसंख्याको आकार र चुनौतीहरूसँगको निकटताले, शहरहरुले परिवर्तनको उदाहरणीय नेतृत्व गर्न सक्ने प्रचुर सम्भावना बोकेका छन् । कोप २८ मा विश्व नेताहरू भेला भइरहँदा, हामी विश्वभरका शहरहरूलाई वायु अनुगमनका प्रभावकारी कार्यक्रमहरू अपनाउन र आफ्ना नागरिकको जीवन सुधार गर्न तथ्यांकमा आधारित सार्वजनिक स्वास्थ्य कार्य प्रवद्र्धन गर्न आह्वान गर्दछौं ।’ भनिएको छ ।
यसरी प्रतिवद्धता व्यक्त गर्ने क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पनि नेपाल र काठमाडौं केन्द्रित अवस्थालाई ध्यान दिएर आफ्नो धारणा राखेका थिए । वायु गुणस्तर अनुगमन सञ्जाललाई सुदृढ गरेर भरपर्दाे नीतिसहित विद्यमान वायु प्रदुषण न्यूनीकरण गर्ने नीति काठमाडौं महानगरपालिकाले लिएको उनले आफ्नो वक्तव्यमा जाहेर गरेका थिए । समुदायलाई सचेत बनाउँदै प्रदुषण न्यूनीकरणमा उत्तरदायी बनाउन लक्षित कार्यक्रमहरू सञ्चालनका क्रममा रहेका कुरा पनि प्रतिवद्धतापत्रमा उल्लेख छ ।
जनस्वास्थ्य र वातावरणका लागि वायु प्रदुषण सबैभन्दा ठूलो जोखिम रहेको विश्व स्वास्थ्य संगठनले औल्याएको कुरालाई उक्त प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । वार्षिक ७० लाख मानिसको मृत्युको कारक यही हुने गरेको पनि उल्लेख गरिएको छ । मुटु रोग, स्ट्रोक र फोक्सोको क्यान्सर जस्ता गैरसंक्रामक रोगको जोखिम कायम रहेको तथा शहरी क्षेत्रका बालबालिका विषाक्त हावामा सास फेर्दै हुर्किरहेका अवस्थाप्रति पनि प्रतिबद्धतापत्रमा चिन्ता व्यक्त गरिएको छ ।
विश्वका आठ शहरहरुले प्रतिनिधित्व गरेका शहरहरुमध्येमा काठमाडौं महानगरपालिकाले पनि प्रतिबद्धता जाहेर गर्न पाउनु नेपालका लागि राम्रै विषय हो । हुन त प्रदुषणको विषयमा आफ्नो शहर पर्नुलाई राम्रो मान्न नसकिने अवस्था रहे पनि त्यस्ता शहरहरु धेरै नै रहेको अवस्थामा काठमाडौंले समेत प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्न पाउनु भने सकारात्मक पक्ष हो । विगतका विभिन्न अनुभवलाई हेर्ने हो भने नेपालबाट यस्ता प्रतिबद्धता जाहेर हुने गरे पनि ती कागजी खोस्टामा परिणत हुने गरेका थिए । पछिल्लो समय भने काठमाडौं महानगरपालिकाको नेतृत्वमा बालेन शाह पुगेको अवस्थामा भने काठमाडौं महानगरपालिकाले काँचुली फेर्दै गएको देखिएको छ । यस्ता समस्याप्रति महानगर प्रमुख शाहले निक्कै नै चासो राख्ने गरेको पाइएको छ । चासो राख्ने मात्र नभई आफूलाई लागेका कुरा निर्धक्कसँग राख्ने तथा त्यसरी राखिएका कुराहरु पूरा गर्नका लागि लागिपर्ने स्वभाव शाहले देखाउँदै आएका छन् । काठमाडौं महानगरपालिका देशको राजधानी भएर पनि कुरुप बन्दै आएको अवस्था तथा बेथितिले गर्दा लाजमर्दो स्थितिमा रहेको थियो । यस्तो अवस्थालाई चिर्ने प्रयासमा शाह लागिपरेका छन् । शाहले थालेका सकारात्मक कार्यहरुले मूर्तरुप लिंदै आएको देखिएको छ । यस्तो अवस्थामा यो प्रतिबद्धतालाई पनि काठमाडौं महानगरपालिकाले पूरा गर्ने विश्वास जनस्तरबाट लिइएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *