‘चित्रा’ फिल्मी शैलीमै बनाएको छु: निर्देशक लामिछाने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । फिल्म ‘चित्रा’ पुस २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्म पहिले बाबु छोरीको कथा भनिएको थियो । तर बुधबार सार्वजनिक ट्रेलर हेर्दा फिल्मले धेरै विषय बोकेको अनुमान लगाउन सकिन्छ ।
निर्देशक घनश्याम लामिछाने पनि ‘चित्रा’ले बाबु छोरीको कथामात्र नभएर धेरै विषय समेटिएको फिल्म भएको बताउँछन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशक लामिछानेले आफ्ना अघिल्ला फिल्म भन्दा ‘चित्रा’ फिल्मी शैलीमै निर्माण भएको धारणा राखे ।
‘मेरो अगाडिका फिल्महरु नाटकीय र आर्ट शैलीको भयो भन्ने प्रतिक्रिया आयो’, लामिछानेले भने, ‘‘चित्रा’बाट त्यो मुक्त हुन खोजेको छु ।’ यसअगाडि ‘धौली’ र ‘पञ्जैबाजा’ दिएका लामिछानेले निर्देशकको हिसाबमा पनि ‘चित्रा’ परिपक्क रहेको सुनाए । तपाईँको फिल्म न आर्ट, न नाटक के भन्ने ? पत्रकारको प्रश्नमा लामिछानेले पहिलाको फिल्म केही आर्ट र केही नाटकीय भएको स्विकार्दै ‘चित्रा’ भने कर्मसियल हिसाबले निर्माण गरेको बताए ।
‘चित्रा’ अभिनेता प्रमोद अग्रहरीको पनि मुख्य भूमिका रहेको छ । निर्माण युनिटले बाहिर ल्याएको प्रचार सामाग्री हेर्दा अग्रहरीको फिल्ममा नेगेटिभ भूमिका रहेको अनुमान गर्न सकिन्छ । अभिनेता अग्रहरीले भने फिल्म भित्र आफूले नेगेटिभ पात्रको भूमिका निर्वाह गरेपनि आफू भने सकारात्मक पात्र रहेको सुनाए । ‘अभिनयमा पात्र नेगेटिभ भए मेरो अभिनय र गेटअप पनि त्यस्तै हुन्छ’, अग्रहरीले भने, ‘त्यो नेगेटिभ क्रियाकलाप पात्र अभिनयसँगै सकिन्छ ।’ चित्रामा आफूलाई रिसाहा र खतरनाक पात्रको रुपमा देख्न सकिने अग्रहरीको भनाइछ ।

निर्माता समेत रहेका अभिनेता सन्तोष अधिकारीको यो डेब्यु फिल्म हो । ‘चित्रा’मा मुख्य क्यारेक्टर बाबुको भूमिका आफूले निर्वाह गरेको उनले बताए । ‘फिल्ममा रहेको मेरो बाबुको भूमिकाले धेरैको प्रतिनिधित्व गर्छ’, अधिकारीले भने ‘धेरै पहिलेदेखि अभिनयमा आउने रहर भएपनि उचित फिल्मको खोजीमा थिए । त्यो यही हो ।’ फिल्ममा छोरीबाट आफ्नो सपना देख्न बाबु समेत आफू भएको अधिकारीले सुनाए । ‘फिल्मले बाबु छोरीको कथाको अलावा इगो र पारिवारिक कथा समेत पेस गर्छ’ उनले थपे । फिल्ममा सन्तोष र प्रमोदको अलावा अर्पण थापा, मेनुका प्रधान, सुभेक्षा खड्का, प्रकाश घिमिरे लगायतको अभिनय छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *