पर्यटकको आगमन बढाऔं

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

अंग्रेजी महिनाको मार्च २०२४ मा नेपालमा एक लाख २८ हजार एक सय ६७ जना पर्यटक नेपाल आएका हुन् । गत वर्ष सन् २०२३ को मार्चमा ९९ हजार चार सय २६ पर्यटक आएका थिए । यस वर्ष गत वर्षको तुलनामा २८ दशमलव नौ प्रतिशतले पर्यटकको आगमन बढेको हो । नेपाल पर्यटन बोर्डका अनुसार चिनियाँ पर्यटकको संख्यामा बढोत्तरी भएको हो । यसैगरी अर्को छिमेकी देश भारतबाट आउने पर्यटकको संख्यामा पनि उत्साहजनक अवस्था देखिएको तथ्यांक बोर्डले जारी गरेको छ । नेपालमा पर्यटकीय याम फेब्रुरीबाट शुरु हुने भएकाले मार्च र अप्रिलमा पर्यटकको संख्या बढ्ने गर्दछ । त्यसपछि वर्षायाम शुरु हुने हुँदा त्यसपछि आगमनमा केही कमी आउने पनि बोर्डले जनाएको छ । भारतबाट मार्चमा ३० हजार छ सय ९८ जना आएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा १८ दशमलल पाँच प्रतिशतले बढी हो । यसैगरी चिनियाँ आगमन १२ हजार ९२ पुगेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष दुई हजार छ सय ३५ चिनियाँ पर्यटक नेपाल आएका अवस्थामा यो संख्या एकदमै बढी रहेको देखिन्छ ।
यसरी छिमेकी मुलुक भारत र चीनबाट आउनेको संख्या बढी देखिएको अवस्थामा तेस्रो स्थानमा अमेरिका पर्न गएको छ । अमेरिकाबाट १० हजार सात सय ६३ जना आएका छन् । यस्तै बेलायतबाट सात हजार दुई सय ४१ जना आएका छन् । यस्तै श्रीलंकाबाट पाँच हजार सात सय ४१, जर्मनीबाट पाँच हजार दुई सय ५५, थाइल्यान्डबाट चार हजार पाँच सय ६७, अस्ट्रेलियाबाट तीन हजार दुई सय ४० र म्यानमारबाट तीन हजार ३१ पर्यटक नेपाल आएका छन् । यस वर्ष फेब्रुअरीमा ९७ हजार चार सय २६ र जनवरीमा ७९ हजार एक सय पर्यटक आएका छन् । यसअनुसार तीन महिनामा पर्यटक आगमन तीन लाख चार हजार छ सय ९३ पर्यटक आएका छन् । यस अनुसार औसतः मासिक एक लाखभन्दा बढी पर्यटक भित्रिएको देखिएको तथ्यांकले देखाएको छ ।
विश्वव्यापी रुपमा कोभिडको मार परेको अवस्थाबाट पर्यटन व्यवसाय नै ओझेलमा परेको थियो । यस्तो स्थितिमा पर्यटन व्यवसायबारे नेपालमा सकारात्मक अवस्था देखिनु सुखद पक्ष हो । नेपाल प्राकृतिक रुपमा सुन्दर देश हो । नेपालको प्राकृतिक सौन्दर्यलाई हेर्नका लागि विश्वभरीबाट पर्यटकहरु नेपाल आउने गर्दछन् । यसैगरी विश्वको सबैभन्दा उच्च हिमाल सगरमाथा लगायतका उच्च हिमश्रृंखलाहरु नेपालमा रहेका छन् । यस्तै हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिरदेखि बुद्धको जन्मस्थलो लुम्विनी समेत नेपालमा रहेका कारण विश्वका पर्यटकको आस्थाको केन्द्र नेपाल हो । सोही कारण नेपालमा पर्यटकहरुको आगमन बढाउनु पर्छ । पछिल्लो समय काठमाडौं महानगरपालिकाले समेत पर्यटकको आगमनमा वृद्धि हुने गरी विभिन्न खालका आकर्षक कार्यहरु गर्दै आएको छ । हवाईमाध्यमबाट सोझै नेपालमा आउनु प्रमुख ठाउँ भनेको काठमाडौं भएकाले महानगरले यसको लागि प्रयास गरिरहेको छ । त्यसैले सम्बन्धित सबै निकायले आफ्नो प्रयास गरी नेपालमा पर्यटकको संख्या बढ्ने गरी कार्य गर्नु आवश्यक देखिन्छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *