उपचुनावको नतिजाको पर्खाई : मतदातामा उत्साह, दलहरु सोचमग्न

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ भोलि अर्थात् शनिबार उपनिर्वाचन हुने भएको छ । इलामको क्षेत्र नं.२ मा प्रतिनिधिसभा तथा बझाङमा प्रदेशसभाको लागि उपनिर्वाचन हुने भएको हो । यी क्षेत्रहरुमा हुने निर्वाचनको सम्पूर्ण तयारी भैसकेको निर्वाचन आयोगले जनाएको छ । यसैगरी शान्तिसुरक्षा लगायतको सम्पूर्ण तयारी भैसकेको भनी स्थानीय प्रशासनहरुले जनाएका छन् । भोलि हुने उपनिर्वाचनको मौन अवधि अहिले चलिरहेको छ । यस अवधिमा कुनै पनि उम्मेदवारले वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न नपाइने कानूनी व्यवस्था छ । यो अवस्थामा भोलि हुने निर्वाचनको तयारीमा दलहरु लागि परेका छन् । यो मौन अवधिमा दलहरुले मतदातालाई प्रभाव पार्ने गरी कुनै पनि किसिमका गतिविधिहरु गर्न भने पाउने छैनन् । यही अवधिमा कतिपय स्थानहरुमा प्रतिवन्धित गतिविधिहरु हुने तथा सत्तारुढ दलहरुले सत्ताको दुरुपयोग गरी मतदातालाई आप्mनो पक्षमा पार्ने भन्ने खालका कुरा हुने भनी आशंका पनि उत्पन्न हुने गर्दछ ।
बैशाख १५ गते हुने यी उपनिर्वाचनलाई लिएर विभिन्न किसिमका टिप्पणीहरु भइरहेका छन् । यसक्रममा इलामको निर्वाचनलाई लिएर दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । यो निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) का उपाध्यक्ष तथा प्रभावशाली नेता सुभाषचन्द्र नेम्वाङ निर्वाचित हुँदै आएका थिए । गत निर्वाचनमा विजयी भएका नेम्वाङको गत भदौमा निधन भएकाले सो क्षेत्रमा उपचुनाव हुन लागेको हो ।
नेम्वाङले जित्दै आएको उक्त क्षेत्रमा यसअघि नेपाली कांग्रेसका उम्मेदरवार डम्बरबहादुर खड्काले कडा टक्कर दिएका थिए । उनीहरुका बीचमा एक सय १४ मतान्तरले मात्र नतिजाको छिनोफानो भएको थियो । उक्त नतिजालाई लिएर अदालतमा मुद्दा परी विचराधीनको अवस्थामा रहिरहेकै अवस्थामा उपचुनाव हुन गैरहेको छ । त्यसैले पनि यो निर्वाचनको परिणाम के कस्तो आउने हो र त्यसले मुलुकको राजनीतिलाई कसरी अघि बढाउने हो भन्ने कुरालाई केही मात्रामा भए पनि निर्धारण गर्ने भनी वौद्धिक वर्गमा चर्चा चलिरहेको छ ।
इलामको उपचुनावलाई लिएर मुख्य दलहरुले आ–आफ्नै किसिमको प्रतिष्ठाको विषय बनाएका छन् । कांग्रेसले अघिल्लो निर्वाचनमा आफ्नो उम्मेदवार एक सय १४ मतान्तरले मात्र उपविजेता बनेकाले अहिले विजेता बन्नुपर्ने कुरालाई आफ्नो प्रतिष्ठाको विषय बनाएको छ । यसैगरी कांग्रेसका उम्मेदवार खड्काले आफूलाई सो क्षेत्रमा भिजेको तथा परिपक्क उम्मेदवारको रुपमा प्रस्तुत गर्दै आएका छन् । उनी इलाममा पहिचानवादीहरुको मुद्दालाई समेत चिरेर अघि बढ्नुपर्ने अवस्थामा छन् ।
यस्तै, कांग्रेसले यसलाई अर्को रुपमा पनि प्रतिष्ठाको विषय बनाएको छ । त्यो के भने कुनै पनि निर्वाचनभन्दा पहिले दलहरुले गठबन्धन गर्नु हुँदैन भन्ने कुरालाई स्थापित गराउन कांग्रेसले चाहेको छ । यसलाई पुष्टी गर्नका लागि यो उपचुनावमा आफ्नो उम्मेदवारलाई विजयी गराउन सके निर्वाचन जित्न सरकारमै हुनुपर्छ भन्ने नहुने तथा एक्लाएक्लै उठ्दा पनि निर्वाचन नतिजा आफ्नो पक्षमा ल्याउन सकिने भन्ने कुरा कांग्रेसले स्थापित गर्न चाहिरहेको छ ।
यसैगरी कांग्रेसले जातीय रुपमा उम्मेदवारले मत पाउने अवस्था आउनु लोकतन्त्रका लागि त्यति राम्रो नमानिने भन्ने कुरालाई स्थापित गराउन पनि चाहिरहेको छ । अल्पमतमा रहेका जातिबाट उम्मेदवार बने पनि दलगत आधारमा निर्वाचनमा जाँदा दलले मत पाई आफ्नो उम्मेदवारलाई विजयी बनाई लोकतन्त्रको सुन्दर पक्षलाई स्थापित गर्न भनी कांग्रेसले चाहेको देखिन्छ । यसैगरी जो जनतामा भिज्छ उसले जित्नुपर्छ भन्ने मान्यतालाई स्थापित गराउनका लागि पनि कांग्रृेसले आफ्नो उम्मेदवार डम्बरबहादुर खड्काको विजयको चाहना गरेको देखिन्छ ।
उता, आफू एक्लै लड्न सक्ने भन्ने कुराको धक्कु दिंदै हिंडेको एमालेलाई आफ्ना उम्मेदवारलाई जिताएर केही कुराहरुलाई पुष्टी गर्नुपर्ने चुनौती छ । पहिलो चुनौती भनेको पहिले आफू एक्लै लड्दा पनि नेम्वाङले विजयको माला पहिरिएका थिए, त्यसलाई स्थापित गर्न पनि एमालेले आफ्नो उम्मेदवारको विजयलाई देख्न चाहेको अवस्था छ । यसैगरी स्व.नेम्वाङको छोरा सुहाङ नेम्वाङलाई एमालेले उम्मेदवार बनाएको अवस्थामा आफ्नो नेताको छोरालाई उसको स्थानमा विजय गराउन सकेमा एमालेमा आफूलाई जसलाई उम्मेदवार बनाए पनि विजयी बनाउन सकिने भन्ने सन्देश दिन चाहेको अवस्था छ । स्व. नेम्वाङको राष्ट्रिय ख्याती थियो भने उनका छोरा भने अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी हुन् ।
यसैगरी गठबन्धनको विरोधमा रहँदै आएको भन्ने एमालेले परिस्थिति फरक हुँदा नेकपा (माओवादी केन्द्र) सँग पनि गठबन्धन गर्नु उचितै हुने भनी स्थापित गर्नुपर्ने अवस्था छ किनकि इलाममा माओवादी केन्द्रले एमालेका उम्मेदवारलाई साथ दिने निर्णय गरेको छ । भोलिका दिनमा सत्ता गठबन्धनलाई टिकाउनका लागि पनि माओवादी केन्द्रले साथ दिएको अवस्थामा एमाले विजयी हुन सक्छ भन्ने कुरालाई स्थापित गराउनका लागि पनि एमालेका लागि यो निर्वाचनमा विजयी बन्नुपर्ने भन्ने खालको मनोवैज्ञानिक त्रास उत्पन्न भएको देखिन्छ ।
उता, माओवादी केन्द्र झनै चापमा देखिएको छ । अघिल्लो निर्वाचनमा करिब पाँच हजारको मत समानुपातिकतर्फ पाएको माओवादी केन्द्रले आपूmले उम्मेदवारी नदिई सत्ता साझेदार एमालेसँग गठबन्धन गरी उम्मेदवारी दिएकाले गठबन्धनलाई निरन्तरता दिनका लागि पनि एमालेका उम्मेदवारलाई जिताउनुपर्ने चुनौती थपिएको छ । यसैगरी हरेक निर्वाचनमा अर्को दलका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरी आप्mनो दलबाट उम्मेदवार नै लडाउन नसकेको अवस्थामा आगामी दिनमा आफ्ना मतदातालाई कसरी आफ्नो पक्षमा राख्ने भन्ने ठूलो चुनौतीको सामना माओवादी केन्द्रका बीचमा रहेको छ ।
माओवादी केन्द्रले आफूले उम्मेदवार नउठाएको अवस्थामा सत्तारुढ दलहरुले छुट्टाछुट्टै उम्मेदवार बनाएको अवस्थामा एमालेका उम्मेदवारलाई समर्थन गरेको निर्णय गरिदिँदा अन्य दलहरु माओवादी केन्द्रसँग रिसाएको बताइन्छ । नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले अन्यलाई उम्मेदवार बनाएको अवस्थामा माओवादी केन्द्रले एमालेलाई साथ दिई अन्य सत्ता साझेदार दलहरुप्रति सौतेनी व्यवहार गरेको आरोप पनि खेप्दै आउनु परेको छ ।
यसैगरी कोशी प्रदेश नामाकरण भएको भनी पहिचानवादीहरु रुष्ट भैरहेको अवस्थामा पहिचानविरोधीको संज्ञा पाउने गरेका एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको उम्मेदवारलाई साथ दिएको भनी माओवादी केन्द्रका नेताहरु खासगरी अध्यक्ष पुष्पकमल दाहालमाथि प्रश्नहरु उठाइने गरिएका छन् । यस्तो अवस्थामा पहिचानवादी र पहिचानविरोधी भन्ने कुराको दोसाँधमा माओवादी केन्द्रलाई राखिएको भनी दाहालमाथि विभिन्न प्रश्नहरु उठाइने गरिएको छ ।
उता, सबैभन्दा बढी संकटको अवस्थामा नेकपा (एकीकृत समाजवादी) रहेको बताइन्छ । एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको जिल्लामा भैरहेको उपनिर्वाचनमा सो दलको अवस्था कस्तो देखिएला भनी सर्वत्र चासोका साथ हेरिएको छ । यसअघिको निर्वाचनमा एकीकृत समाजवादीको आप्mनो उम्मेदवार नभएको स्थितिमा समानुपातिकतर्फ करिब पाँच सय मत मात्र आएको थियो ।
यस पटक सो क्षेत्रमा सत्ता गठबन्धनबाट साझे उम्मेदवारको रुपमा लड्न चाहेका खनालको दलले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ । उनलाई विजय गराउने भनी कमाण्डरको रुपमा खनाल आफैं जिल्लामा सक्रिय रहेको स्थितिमा उनलाई जिताउनु पर्ने दबाबमा खनाल देखिएका बताइन्छ । यसैगरी एमालेबाट विद्रोह गरी एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार नेपालका लागि आफ्नो दलको उम्मेदवारको विजय भन्दा पनि एमालेका उम्मेदवारको पराजय प्रतिष्ठाको विषय बनिरहेको भनी अधिवक्ता भवानीप्रसाद अधिकारी बताउँछन् ।
उक्त उपचुनावलाई मिसन ०८४ को मुख्य गन्तव्यको रुपमा हेरिरहेको अवस्थामा सत्तारुढ दलहरुकै अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो प्रतिष्ठाको विषय बनाएको छ । माओवादी केन्द्रमा क्रियाशील रहेका युवा मिलन लिम्वुलाई रास्वपाले उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक हजार तीन सय तर समानुपातिकतर्फ करिब पाँच हजार मत ल्याएको रास्वपा यस पटक निकै नै लागिपरेको अवस्थामा छ । उसका लागि पनि निर्वाचन परिणामले भोलिको संकेत गर्ने अवस्था छ ।
रास्वपाका उम्मेदवार विजयी भएको अवस्थामा उसले भने जस्तो मिसन ०८४ को लागि सहज यात्रा तय हुने अवस्था आउन सक्ने हुनसक्छ । यसैगरी पराजय भएको अवस्थामा उक्त दलले सोचेजस्तो हुन नसक्ने अवस्था आउने भनी यो चुनावले संकेत गर्ने भनी मान्न सकिने स्थिति रहन्छ । यसैगरी अन्य दलका उम्मेदवारलाई रास्वपाले चितवन र तनहुँमा भएका उपनिर्वाचनमा उम्मेदवार नै नठानेको अवस्थामा अन्य दल पनि कमजोर रहेनछन् भन्ने गरी बुझ्न रास्वपा पनि बाध्य हुने भनी चर्चा चलिरहेको छ ।
यसैगरी इलाममा हुने उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीले समेत आ–आफ्नै ढंगबाट उम्मेदवारी दिएको अवस्था छ । यस्तो अवस्थामा उनीहरुका लागि पनि यो निर्वाचन परिणामले भावी यात्राका लागि एउटा मार्ग देखाउने चर्चा चलेको बताइन्छ ।
इलामको उपचुनावको सन्दर्भमा जति चर्चा राष्ट्रिय राजनीतिमा चलेको छ त्यसको तुलनामा बझाङमा भोलि हुने प्रदेशसभाको उपचुनावको चर्चा भने अलि कम देखिएको छ । प्रदेशस्तरमा बझाङको उपचुनावले आफ्नै महत्व पाए पनि राष्ट्रिय हिसाबले हेर्दा भने सो क्षेत्रमा राष्ट्रियस्तरका नेताहरुको चहलपहलमा भने कमी आएको बताइन्छ ।
बझाङको प्रदेशसभाको उपचुनावमा कांग्रेसले यसअघि निर्वाचित उम्मेदवारका छोरालाई आफ्नो उम्मेदवार बनाएको छ । यसअघिको विरासतलाई जोगाउन कांग्रेसले धेरै नै मेहनत गरेको अवस्था छ । सो क्षेत्रमा रास्वपाको उम्मेदवार नरहेको तथा सत्तारुढ दलहरु सबैले नै उम्मेदवारी दिएको अवस्था छ । सत्ता गठबन्धनमा रहेका दलहरुका आ–आफ्नै उम्मेदवार रहेका कारण सो क्षेत्रको निर्वाचन परिणामले राष्ट्रियस्तर तथा सुदूरपश्चिम क्षेत्रको प्रदेश सरकारको गठन विघटनमा समेत प्रभाव पार्ने अवस्था देखिन्छ ।
दुवैतिरको उपचुनावको अवस्थालाई ख्याल गरी हाम्रा संवाददाताले प्रेषित गरेको समाचारहरुको आधारमा ती क्षेत्रका मतदातामा उत्साह देखिएको छ । उनीहरु उपनिर्वाचनका माध्यमबाट आफ्नो नयाँ जनप्रतिनिधि छान्ने कार्यका लागि उत्साहित बनेर लागेको बताइएको छ ।
यो निर्वाचनको परिणामलाई लिएर दलहरु भने सोचमग्न अवस्थामा देखिएका छन् । निर्वाचन परिणाम कस्तो आउने हो त्यसबाट मात्र मुलुकको मूल राजनीतिको यात्रा फेरि नयाँ ढंगबाट जाने अवस्था देखिएको बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *