सरकारको जग हल्लिँदै : दाहालको मौन, समर्थन कांग्रेस कुर्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)
मुख्य समाचार
कौशल कुमार भट्टराई

भक्तपुर÷ प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अस्थिर स्वभावका कारण वर्तमान सरकारको जग हल्लिन थालेको छ । भैरहेको सरकारमा उथलपुथल ल्याउन भनी सत्ता समीकरण गत फागुन २१ गते अकस्मात परिवर्तन गरेका दाहालकै कुर्ची हल्लिने गरी सरकारको जग हल्लाउने तयारी भैरहेको समाचार स्रोतहरुले जानकारी दिएका छन् । अहिलेको सत्ता समीकरणमा माओवादी केन्द्र, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) मुख्य रुपमा जोडिएका छन् । ती दलहरुका बीचमा मनमुटाव हुन पुग्दा प्रधानमन्त्री दाहालकै कुर्ची हल्लिने अवस्था आएको भनी राजनीतिक रुपमा चर्चा चल्न थालेको छ ।
एमाले मुख्य सत्ता घटक भएको अवस्थामा सत्ता संचालन सहज होला भन्ने सोचाइमा प्रधानमन्त्री दाहाल पुगेका थिए । सोही कारण उनले कांग्रेससँगको साथ छोडी एमालेको काँध छानेका थिए । अहिले आएर सरकार चलाउन दाहाललाई एमाले तथा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली नै समस्या बन्ने गरेको महसुस हुन थालेको स्रोतको भनाइ छ । यसका लागि ओलीको स्वभाव तथा अहंकार प्रमुख रहेको बुझाइमा दाहाल पुगेका बताइन्छ ।
सत्ता समीकरणको फेरबदलको कुरा बैशाख १५ गतेको उपचुनावका अघि नै आएको थियो । खासगरी नेकपा (एकीकृत समाजवादी) लाई कतै पनि स्थान दिन नचाहने एमालेका अध्यक्ष ओलीको चाहनाले गर्दा वर्तमान सरकार संचालनमा समस्या परेको बुझाइमा दाहाल छन् । दाहाल आफैं पनि ओलीको हेपाहा प्रवृत्ति खेपी सकेका मानिस हुन् । एमालेसँग आफ्नो दललाई एकीकरण गरी नेकपा बनाउँदा नै ओलीको पेलान्मा परिसकेका दाहाल हालको सरकार संचालनमा पनि पेलान्मा परेको महसुस गरिरहेका बताइएको छ ।
उपचुनावको बेलामा पनि दाहाल सत्ता साझेदारहरुका बीचबाट एउटै उम्मेदवार बनाउने पक्षमा थिए । त्यसरी दाहालबाट प्रस्ताव आउने अनुमान गरेर ओलीले भने आफ्नो दलका तर्फबाट उम्मेदवारहरु घोषणा गरिदिए । इलाम २ को प्रतिनिधिसभा तथा बझाङको प्रदेशसभामा आफ्नो दलका तर्फबाट उम्मेदवार घोषणा गरेपछि ओलीले आफ्ना उम्मेदवार फिर्ता नहुने अडान राखे । इलाममा एमालेको उम्मेदवारलाई समर्थन गर्न सत्ता साझेदार दलहरु तयार रहेको अवस्थामा उनीहरुले बझाङको प्रदेशसभामा आफ्नो उम्मेदवार बनोस् भन्ने चाहना राखेका थिए । बझाङमा माओवादी केन्द्र र एकीकृत समाजवादी दुवैले चाहना राखेका थिए ।
उनीहरुले चाहना राख्ने भन्ने जानकारी पाएरै ओलीले त्यसलाई रोक्नका लागि भनी आफ्ना उम्मेदवारहरुको नाम घोषणा गरेका थिए । इलाममा आफ्नो उम्मेदवार उठाउँदा लज्जास्पद हार हुने बुझेका दाहालले एमालेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे । बझाङमा आफ्नो दललाई नदिएको मात्र होइन कि आफू र आफ्नो दलको दाहालले पटक पटक अपमान गरेको भनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चूर भएका थिए । अझ सुदूरपश्चिममा आफ्नो दलको नेतृत्वमा सरकार बनाउने भनी भएको सहमतिलाई एमालेले पालना नगरेको भनी नेता नेपालले आक्रोश पोखेका थिए ।
त्यस्तो अवस्थामा इलाम र बझाङमा एकीकृत समाजवादीले आफ्नै उम्मेदवार उठाएको थियो । उता, माओवादी केन्द्रको समर्थनमा इलाममा एमालेले जित निकालेको छ । यसैगरी सुदूरपश्चिमको प्रदेश सरकार ढल्न सक्ने भन्ने कुरा देखाउँदै मतदानको अघिल्लो दिन एमालेले बझाङमा एकीकृत समाजवादीसँग मौखित सहमति गरी उक्त दलको तर्फबाट एमालेलाई समर्थन गर्ने वातावरण बनाएको चर्चा छ । त्यसरी एकीकृत समाजवादीले रातारात एमालेका उम्मेदवारलाई समर्थन गर्ने वातावरण बनाएको अवस्थामा बझाङमा दुई सय ६७ मतान्तरले एमालेका उम्मेदवारले कांग्रेसका उम्मेदवारलाई पराजित गर्न सफल भए ।
यसरी निर्वाचन जितेको उन्मादमा रहेको एमालेलाई सत्तामा राखिरहँदा त्यसले आफूहरुलाई झनै समस्यामा पार्दै जाने बुझाइमा दाहाल र नेपाल पुगेको बताइन्छ । सोही कारण उनीहरु एमालेलाई सत्ता बाहिर पु¥याउने तयारीमा लागेको स्रोतको दाबी छ । यसका लागि उनीहरुका बीचमा पटक पटक छलफल भैरहेको बताइन्छ । एमालेलाई बाहिर राखेर सरकार बनाउने तयारीमा जुट्नुपर्ने अवस्थामा दाहाल पनि पुगेका छन् । हालको सहमति अनुसार नेता नेपाललाई पनि बाँकी कार्यकालमा प्रधानमन्त्री बनाउने भन्ने सत्ता साझेदार दलहरुमा सहमति भएको भनी चर्चा चल्ने गरेको छ । यस्तो अवस्थामा कुनै पनि दिन माधवकुमार नेपाललाई प्रधानमन्त्रीको कुर्चीमा देख्नुपर्ला भन्ने भयमा एमालेका अध्यक्ष ओली रहेको बताइन्छ ।
आफूलाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने दाऊमा ओली रहेको भन्ने कुरा नेपाललाई पनि प्रष्ट रुपमा जानकारी रहेको छ । नेता नेपालले भर्खरै एक भाषणमा ओलीलाई लक्षित गरी सोही कुरा व्यक्त गरेका थिए । उनले ‘कोही कोही म प्रधानमन्त्री भएको देख्न चाहँदैनन् । म प्रधानमन्त्री बन्छु कि भनी जलेका छन् ।’ भनी भाषण ठोेकेका थिए । उता, केही समयअघि संसदमा सम्वोधन गर्दै ओलीले आफूहरुबीच प्रधानमन्त्रीका लागि १३–१३ महिनाको सहमति भएको भनी चर्चा चले पनि त्यस्तो सम्झौता नभएको बताएका थिए ।
ओलीको उक्त सम्बोधनबाट नेता नेपाल झस्किएका थिए । सोही भाषणमा ओलीले कांग्रेससँग मिलेर जान सकिने खालको आशय पनि व्यक्त गरेका थिए । उक्त कुराले दाहाल पनि झस्किएका थिए । यसैगरी एमालेका महासचिव ईश्वर पोखरेलले दाहालले राम्रो काम गरे पूरै अवधि दाहाल नै प्रधानमन्त्री रहन सक्ने भन्ने भाषण ठोके ।
यसरी ओलीको बोलीका कारण आफू प्रधानमन्त्री बन्ने संकेत नदेखेका नेता नेपालले आफ्नो सामथ्र्य पनि देखाउने प्रयास गरेका छन् । उनले आफूले हलचल गरेमा केन्द्रदेखि प्रदेशसम्मका सरकार परिवर्तन गर्न सक्ने भनी ओलीलाई थर्काएका थिए ।
यसैगरी एमालेको एक कार्यक्रममा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवालाई उचाल्ने कार्य पनि ओलीले गरेका थिए । उनले खुट्किला उक्लिएको प्रसंगलाई सांकेतिक रुपमा भन्दै देउवालाई आफूले साथ दिन चाहेको बताएका थिए ।
यसरी ओलीको ध्याउन्न कांग्रेससँग सत्ता साझेदारी गरी बाँकी तीन वर्ष स्थायी सरकार बनाउने भन्ने खालको रहेको भन्ने कुरामा नेता नेपाल र दाहाल सहमति नजिक पुगेका छन् । यसैगरी कांग्रेसमा पनि शेखर कोइराला, गगनकुमार थापा लगायतका केही नेताहरु एमालेसँग गठबन्धन बनाइनु पर्छ भन्ने मान्यतामा हिंडिरहेका छन् ।
यस्तो अवस्थामा बरु प्रधानमन्त्री पद नेता नेपाललाई सुम्पिएर सत्तामै बस्ने चाहनामा दाहाल पुगेको समाचार स्रोतले जानकारी दिएको छ । यसका लागि एमाले बाहेकको सरकार बनाउनु उचित हुने भन्नेमा दाहाल पनि पुगेका बताइएको छ । माधवकुमार नेपालको दल एकीकृत समाजवादी कुनै पनि बेला अर्को समीकरण बनाउन तयार रहेको अवस्था छ । नेपालले आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि कांग्रेससहितको पुरानै गठबन्धन बनाउन चाहिरहेका छन् । यसका लागि राजेन्द्र पाण्डेले कांग्रेसका नेताहरुसँग सम्पर्क गरिरहेको बताइएको छ ।
एकीकृत समाजवादीजस्तै रुष्ट अवस्थामा उपेन्द्र यादवको दल जनता समाजवादी पार्टी पनि रहेको छ । उपप्रधानमन्त्री रहेका यादव अहिले अमेरिका भ्रमणमा छन् । उनी नेपाल फर्किनासाथ उनीसँग कुरा गरी कांग्रेससहितको सरकार बनाउने र सरकारको नेतृत्व आफूले गर्ने दाऊमा नेता नेपाल रहेको बताइएको छ ।
यसैगरी सत्ताच्यूत हुनुभन्दा आफूले नेपाललाई प्रधानमन्त्री बनाएर बस्दा आफनो ‘फेश सेभिङ’ हुने बुझाइमा प्रधानमन्त्री दाहाल रहेका छन् । उनी पनि ओलीलाई देखाउने पक्षमा रहेको बताइएको छ । त्यसैले उनले नेता नेपाललाई खेल खेल्नका लागि भनी मौन समर्थन दिएको स्रोतले बताएको छ ।
उता, कांग्रेस भने ‘पर्ख र हेर’ को अवस्थामा छ । एमालेले साथ दिएमा एमालेसहितको स्थायी सरकार बनाउनुपर्ने पक्षमा गगनकुमार थापा, शेखर कोइराला लगायतका नेताहरु देखिएका छन् । कांग्रेस सभापति भने एमाले र रास्वपा बाहेकको उस्तै परे माओवादी केन्द्रलाई समेत बाहिर राखेर सरकार बनाउन पाए हुन्थ्यो भन्ने पक्षमा रहेका बताइन्छ । देउवाको यो चाहना भने ‘भ्यागुताको धार्नी’ जस्तो हुने भनी त्यसतर्फ नलाग्न भनी कार्यकर्ताहरुले सुझाएका बताइन्छ ।
कांग्रेस पुरानै गठबन्धन ब्युँत्याउन पनि तयार हुने चर्चा छ । त्यो गठबन्धनमा पुग्नका लागि शेखर कोइराला, गगनकुमार थापालगायत पनि तयार हुने भनी देउवाले बुझेका छन् । गत निर्वाचनको जनमत कांग्रेस–माओवादी–एकीकृत समाजवादी समेतको हो भन्ने कुरा कोइराला–थापाहरुले भन्दै आएका कुरा हुन् । यसैगरी इलाम र बझाङको उपनिर्वाचनमा दलको पराजय हुनुमा गठबन्धन टुट्नु प्रमुख कारण रहेको भनी आम कांग्रेसजनले बुझिरहेका छन् । यस्तो अवस्थामा उनीहरुलाई सहमत गराउन देउवालाई सजिलो हुने बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *