नियमित रुपमा खोप लगाउन छुटेका बालबालिकालाई आगामी बैशाख ३१ गते खोप लगाउन भनिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरिने जनाएको छ । १५ महिनामा नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने गरी मन्त्रालयले कार्यक्रम तय गरेको छ । सरकारले रोग, अपांगता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्ष उमेर समूहका बाललालिकालाई विभिन्न १३ प्रकारका खोप निःशुल्क रुपमा प्रदान गर्दै आएकाले छुटेकाहरु लागि भनी उक्त अभियान सञ्चालन गर्न लागेको हो ।
नेपालमा ८० प्रतिशत बालबालिकाले पूर्णमात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् भन्ने आँकडा आएको अवस्था छ । खोप लगाउन छुटेका बच्चाको संख्या बढ्दै गई दादुरा रुवेलाको महामारीसमेत देखा परेकोले छुटेका बालबालिकालाई खोप दिन भनी यो अभियान संचालन गर्नुपर्ने अवस्था आएको भनी मन्त्रालयले जनाएको छ । नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेका खोप लगाउन र त्यस्ता बालबालिकालाई पनि खोपकेन्द्रसम्म जाने अवस्था बनाउनका लागि सबैसँग अनुरोध पनि गरेको छ ।
पूर्णखोप नलगाउँदासम्म ती रोगहरुको खतरा कायमै रहने बताइन्छ । त्यसैले पनि सबै बालबालिकालाई पूर्णखोप लगाउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ । पहिलो कुरा त खोप लगाइदिनु पर्ने सबै अभिभावकको कर्तव्य हो । यसैगरी स्थानीय निकाय तथा अन्य खाले सामाजिम संघसंस्थाहरुले पनि यस कार्यमा चासो राख्ने तथा आवश्यक सहयोग गर्नुपर्ने हुन्छ । बालबालिकाले आफैंले जानेर यो खोप लगाउने होइनन् । त्यसैले पनि यो कर्ममा अरुको भूमिका बढी देखिने गर्छ । यो अभियान सफल पार्न सञ्चारमाध्यमहरुको पनि भूमिका उल्लेख्य हुने गर्दछ । यसैगरी जनप्रतिनिधि तथा छरछिमेकमा रहेका व्यक्तिहरुको पनि भूमिका बढी देखिन्छ । त्यसैले उक्त अभियानलाई सफल पारी बालबालिकालाई स्वस्थ राख्न सबैले मद्दत गर्नु उचित देखिन्छ । बालबालिका नै भोलिका कर्णधार हुन् । यो कुरालाई ख्याल गरी उक्त अभियानलाई सफल पारौं ।
सम्पादकीय : खोप अभियान सफल पारौंं
Facebook Comments Box