मुलुकमा साक्षरता होइन ठगी बढ्यो

Nayabimarsha (Weekly Newspaper from Nepal)
रुषा थापा

अहिले हरेक नेपाली नागरिकको हातहातमा मोबाइल फोन देखिन्छ । मुलुकमा सञ्चार क्षेत्रको पनि विकास भएको छ । विश्व वा आफ्नो देशमा भइरहेको घटनाबारे देश वा गाउँको एउटा कुनामा बसेर पनि थाहा पाउन सकिन्छ । नेपालमा ७७ वटा जिल्ला छन् । तीमध्ये अधिकांश जिल्लामा बाटो, बत्ती, सडक, विद्यालय, स्वास्थ्यचौकी, प्रहरी चौकीलगायत मानवीय आधारभूत आवश्यकहरु पुगिसकेका छन् ।
जनतामा पनि सचेतना बढ्दै गएको छ । साक्षरता दर बढेको छ । सात दशकअघि काठमाडौं उपत्यकाबाहेकका अधिकांश जिल्लामा विद्यालय थिएनन् । त्यतिबेला छोराछोरी पढाउनुपर्छ भन्ने सचेतनाको विकास नै भएको थिएन । छोरा होस् या छोरी १०–१५ वर्ष हुनेबित्तिकै विवाह गरिदिन्थे । अहिले यसको अन्त्य हुँदै गएको छ । मानिसमा छोराछोरी पढाउनुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको छ ।
सरकार, राज्यका विभिन्न निकाय, सरोकारवाला निकाय वा सञ्चार माध्यमहरु आम सर्वसाधारणलाई आफ्नो सन्ततिलाई अनिवार्य रुपमा विद्यालय पठाउन वा पढाउन र ठगीहरुबाट जोगिन वा जोगाउन सचेत गराउँदै आइरहेका छन् । पछिल्लो समय हरेक क्षेत्रमा ठगहरुको बिगबिगी छ । व्यापारव्यवसाय गर्ने नाममा वा सेवा दिने बहानामा ठगी गर्ने क्रम बढ्दो छ । बैंक, सहकारी, लघुवित्त, फाइनान्सले लाखौं जनतालाई ठगेका छन् ।
उनीहरुलाई सुकुम्बासी अवस्थामा पु¥याएका छन् । यता, निजी अस्पताल तथा निजी विद्यालयहरुले पनि त्यसरी नै ठगिरहेका छन् । घरधनीहरु कोठा, सटर र फ्ल्याट मनलाग्दी मूल्यमा भाडामा लगाएर ठगिरहेका छन् । बिगमार्ट, सुपरमार्केट, भाटभटेनीलगायतले पनि गुणस्तरहीन, कुहिएको, बिग्रिएको, म्याद सकिएको वा कमसल सामान महंगोमा बेचेर सर्वसाधारण ठगिरहेका छन् । कन्सल्टेन्सी, मेनपावर व्यवसायीहरुले विदेशी पठाइदिने नाममा जनता लुटिरहेका छन् ।
कानून व्यवसायी, लेखनदासहरुले पनि त्यसरी नै ठगिरहेका छन् । बजारमा नूनदेखि सुन व्यापारीसम्मले जनता लुटेका छन्, ठगेका छन् । बैंकले सय रुपियाँ कित्तामा निष्काशन गरेको शेयर चार हजारमा बेचेर दलालीहरुले सर्वसाधारणलाई दिउँसै रात पारेर लुटेका छन् । छिमेकी मुलुकहरुमा एक लाख नपर्ने सवारीसाधन यहाँ ल्याएर २० देखि २५ लाखमा बेचिएको छ ।
सय रुपियाँको सामान व्यापारीहरुले हजार रुपियाँमा बेचिरहेका छन् । पाटी प्यालेन्सहरुले पनि लुट्नु लुटेका छन् । एउटा अँध्यारो, सानो कोठाको घरधनीहरु मासिक १० हजारदेखि २० हजार असुल्छन् । एउटा सटरको ५० हजारदेखि १८ लाख र एक प्mल्याटको ३० हजारदेखि दुई लाख रुपियाँसम्म लिन्छन्, घरधनीहरु ।
यातायात व्यवसायीहरु नयाँ गाडी हाल्ने धनीसँग दुई लाखदेखि १५ लाख असुल्छन् । दैनिक सर्वसाधारणबाट १८ करोड ठग्छन् । यातायात क्षेत्रमा लामो समयदेखि सिण्डिकेट छ । सरकारले सिण्डिकेट हटेको दाबी गरे पनि त्यो केबल कागजमै सीमित हुन पुगेको छ । व्यवहारमा अहिले पनि सिण्डिकेट कायमै छ । यता, जोकोहीले ठगेका छन् वा लुटेका छन् । सरकारी, सार्वजनिक जग्गा, गुठी, पाटीपौवा, ढुंगेधारा, मठमन्दिरको जग्गा सबै व्यक्तिको नाममा दर्ता गरिसकेको छ ।
२००७ सालअघि गाउँका मुखिया, बाठाटाठाहरुले गरिबहरुलाई शोषण गरे । उनीहरुको सबै सम्पत्ति खाइदियो वा दास बनायो भनेर विरोध चर्कियो । आन्दोलन भयो । व्यवस्थामै परिवर्तन आयो । अहिले त जसले जति ठगे पनि वा लुटे पनि कोही केही पनि बोल्दैन । पीडितले उजुरी दिँदैनन् । दिए पनि सरकार त्यस्ता ठगहरुलाई पक्राउ गर्दैन । अहिलेका ठगहरु सुकिलामुकिला, शिक्षित छन् । कोट पेन्ट लगाएर सर्वसाधारण ठगिरहेका छन् ।
उनीहरुको नीति नै जसरी भए पनि ठग्नु हो । सहकारीका पीडितहरु घरैपिच्छै छन् । लघुवित्त, फाइनान्स र बैंकका पीडितहरु पनि त्यत्तिकै भेटिन्छन् । अब सरकारले सहकारी खोल्न दिनुहुन्न । भएको पनि बन्द गर्नुपर्छ किनकि सहकारी भनेकै ठग हो । मालपोतमा घरजग्गा किनेर ठप्प भइसकेको छ । यातायात कार्यालयहरुमा पनि गाडीको किनबेच ना नामसारी छैन । शेयरको मूल्य र कारोबार पनि घट्दै गएको छ ।
बजारमा पूरै मन्दी छ । यी तीन क्षेत्रमा लगानी गर्ने कोही छैन । आर्थिक मन्दी, महंगी, बेरोजगारीका कारण कोठा, सटर र फ्ल्याट धमाधम खाली भएका छन् । व्यापारीहरु सटर खोल्नु मात्र हो, बहनी समेत नहुने गुनासो गर्छन् । बैंकमा कर्जा वा ऋण लिन जाने एकदमै कम छन् ।
बैंकको सबै लगानी घरजग्गा, गाडी र शेयरमा छ । हिजो सहकारी पनि यही क्षेत्रमा लगानी गर्दा भाग्नुपरेको थियो । आज बैंकमा पनि यही संकेत देखिएको छ । अहिले पनि नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय वा सरकारका निकायहरु बैंक ठीकठाक रहेको दाबी गरिरहेका छन् । जनता डुबेपछि मात्र बैंकमा समस्या आयो भन्ने हो, सरकार ? हिजो बढी ब्याजको प्रलोभन देखाएर बैंक तथा वित्तीय संस्थाले जनतासँग भएको रकम आफ्नो संस्थामा राख्न लगाए । अहिले सहकारी भागे । जनताको विचल्ली भएको छ ।
सर्वसाधारणले आपूmले जीवनभर कमाएको वा पुख्यौली सम्पत्ति बेचेर समेत सहकारीमा बचत गरेका थिए । सहकारी एकाएक भाग्दा सरकार जनता डुबेको टुलुटुलु हरेर बस्यो । सरकारले केही गरेन वा भनौं गर्न चाहेन । ३५ हजार बढी सहकारीले लाखौं बचतकर्ताको ३९ खर्ब रकम खाइदिँदा पनि सरकार मौन बसेको छ । त्यस्ता ठगहरुलाई कानूनको दायरमा ल्याउन सकेको छैन । सरकारले पीडित बचतकर्ताहरुलाई न्याय दिन सकेन । अहिले बैंक पनि टाट पल्टिसकेका छन् ।
कुन दिन र कसरी बैंक भाग्छ वा बन्द हुन्छ ? भनेर ठेगान छैन । यस्तो अवस्थामा जनतालाई सचेत गराउनुको साटो सरोकारवाला निकायहरु उल्टै बैंक ठीकठाक छ भन्दै आम जनमानसमा भ्रम सिर्जना गरिरहेका छन् ।
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने प्रलोभनमा मानव बेचविखन पनि बढ्दो छ । धर्म वा माताको नाममा पनि ठगी गर्ने क्रम बढ्दो छ । समाजसेवा गर्ने भन्दै सीमित व्यक्तिले जनता ठगिरहेका छन् । उनीहरु कारबाहीको दायरामा ल्याउन सकेका छैनन् । मुलुकमा संविधान छ, ऐन, कानून छ । जनतामा अझै चेतनाको विकास भइसकेको छैन ।
यस्ता ठग, शोषक, सामान्तीहरुको विरोधमा बोल्न वा उजुरी दिनुपर्ने जनतामा सचेतनाको अभाव छ । सञ्चारकर्मीहरुले पनि यस्ता ठगहरुको विरोधमा कलम चलाउन वा बोल्न सकेका छैनन् । सरकार भन्छ, ‘देशमा साक्षरताको दर बढेको छ । राज्यले शिक्षामा गरेको लगानीले नै शिक्षितको दर बढ्दै गएको छ ।’
जनता शिक्षित भएको भए यस्ता ठगहरुले कसरी सर्वसाधारण ठगिरहेका छन् ? अहिले पढलेख भएकादेखि नपढेकासम्म ठगीमा परेका छन् । उनीहरुमा सचेतनाको अभाव छ । अब सरकारले जनतामा सचेतनाको विकास गर्नुपर्छ । यस्ता ठगीहरुको लहैलहैंमा नलाग्न, उजुरी दिन जागरुक गराउनुपर्छ । सरकारले पनि जनता ठग्ने व्यक्ति वा संस्थालाई धमाधम कारबाही गर्नुपर्छ । ठगहरुको संस्था खारेज गरिदिनुपर्छ । सञ्चालक, कर्मचारीहरुलाई कारागार हाल्नुपर्छ ।
तिनीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । जनताले तिरेको करबाट सरकार सेना, प्रहरी र सशस्त्र वर्षेनी भर्ती गर्छ । उनीहरुलाई जनताले तिरेको करबाट तलबभत्ता खुवाउँछ । सुरक्षाकर्मीको काम जनता ठगिन नदिनु वा ठग्नेलाई कारबाही गर्नु हो । अहिले पनि ठगहरुले दिउँसै रात पारेर जनता लुटेका छन् । सरकार अनुगमनमा चासो दिँदैन । कसले कसरी ठगिरहेको छ ? भनेर सरकारलाई थाहा छैन ।
राजनीतिक दलका नेताहरु पनि देश र जनताको हितमा काम नगरी ठगहरुकै पक्षमा काम गर्छन्, निर्णय गर्छन् । जनताको कर बालुवामा पानी भइरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल पनि ठगहरुलाई कारबाही गर्न नसकेको अवस्थामा रहेको देखिन्छ । आफ्नो प्रधानमन्त्री पद पनि गुम्ने उनमा डर छ । ठगहरु महलजस्तो घरमा मोजमस्ती गरेर बसिरहेका छन् । पीडितहरुको सडकमा बास भएको छ । अनि सरकार कहाँ छ ?

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *