‘अग्निचक्षु’ नाटकमा जीवित देवीको कथा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ जीवित देवी कुमारीमा आधारित नाटक अग्निचक्षु काठमाडौंको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा मञ्चन भैरहेको छ । जिवित देवी कुमारीको कथाबस्तुमा आधारित उक्त नाटकमा समाजशास्त्र अध्ययन गर्दै गरेकी बांला नामक पात्रले आफ्नो शोधकार्यको विषय कुमारी छनोट गरेकी छिन् ।
नाटकको शुरुवात पूर्वकुमारी अष्टलक्ष्मी र उनीसँग जोडिएका व्यक्तिहरूसँग अन्तक्र्रिया गर्दै सन्दर्भ सामग्रीहरू जम्मा गर्ने कार्यमा बाला तल्लिन हुन्छिन् । यसै सिलसिलामा उनिएका प्रसङ्ग नाटकका घटना बनी दर्शकको मन मस्तिष्कमा अमीट छाप छोड्न सफल हुन्छन् । व्यक्तिगत स्वार्थ त्यागी राष्ट्र (नेपालमण्डल) जोगाउन गरेको मय्जुलानीको वीराङ्गनाको कथा पनि दर्शकले मन पराउने गरी पस्किने कार्य गरिएको छ ।
परापूर्वकालदेखि नै कुमारीप्रति श्रद्धा गर्दै आएको इतिहास पनि यसको सूक्ष्म विषय हो । मल्ल राजाहरूकी आराधनाकी देवीको रूपमा कुमारीलाई लिइँदै आएको इतिहास छ । विशेषगरी कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश तुलजा देवीसँग पासा खेल्ने, राज्यसञ्चालनको मार्गदर्शन लिन्थे भन्ने प्रसङ्ग यहाँ पनि पस्किने कार्य गरिएको छ । पासा खेल्ने क्रममा एक दिन उनको देवीसँग कुदृष्टि परेकोले देवीले अब उप्रान्त प्रत्यक्ष दर्शन नदिने कुरा बताएपछि राजा जयप्रकाश विचलित हुन्छन् । उनले आफ्नो क्रियाकलापप्रति पश्चात्ताप गर्छन् ।
आफ्ना शिष्य जयप्रकाशको त्यो पश्चातापले देवीको मन पग्लिन्छ र नेवार जातिको कोखबाट कुमारीको रूपमा जन्म लिनेछु, उनै जिउँदी कुमारीभित्र मेरो रूप हुनेछ, तिनैलाई मेरो प्रतिमाको रूपमा लिनू भनेपछि जयप्रकाश मल्लले काठमाडौको वसन्तपुरमा कुमारीघर बनाएर राजकीय सम्मानका साथ कुमारी राख्ने चलन चलाउँछन् । यो चलन अहिलेसम्म चलिआएको छ । नाटकको कथाबस्तुमा यो प्रसंगलाई पनि बडो रोचक ढंगबाट पस्किने कार्य गरिएको छ । राजाको भूमिकामा देखिएका प्रसिद्ध कलाकार कृष्णभक्त महर्जनको अभिनयलाई दर्शकले औधी रुचाएको पाइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *