शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गर्नुपर्ने भनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले दिएको समयमा आठ सय २५ जना शिक्षकहरुले राजनीतिक दलको आवद्धता त्याग गरेका छन् । मन्त्री श्रेष्ठले सय दिनको समयावधि दिएर आवद्धता त्याग गर्न निर्देशन दिएकी थिइन् । मन्त्री श्रेष्ठले गत चैतमा शिक्षकहरुलाई राजनीतिक आवद्धता त्याग्न आव्हान गर्दै कुनै शिक्षक दलमा आवद्ध भए उजुरी दिन समेत आह्वान गरेकी थिइन् । मन्त्री भएको सय दिनमा आफूले गरेका कामबारे जानकारी दिंदै मन्त्री श्रेष्ठले उक्त अवधिमा आठ सय २५ जना शिक्षकले राजनीतिक दलको आवद्धता त्यागेको जानकारी दिइन् । उक्त अवधिमा २० जनाले शिक्षण पेशाबाट राजीनामा दिएका थिए । यसैगरी ४५ जना शिक्षकविरुद्ध उजुरी परेको जानकारी दिंदै उनले तीमध्ये ४१ जनालाई स्पष्टीकरण सोधिएको तथा स्पष्टीकरण सोधिएकामध्ये चारजनाले सफाइ पाएका छन् ।
यसरी शिक्षकहरुलाई दलको आवद्धता त्याग्न आव्हान गरेकी मन्त्री श्रेष्ठले शिक्षामा दलीयकरणले लगानी अनुसार प्रतिफल प्राप्त नभएको कारण देखाउँदै उक्त आव्हान गरेकी थिइन् । उनले यो कार्यलाई आफूले अभियानको रुपमा लिएको जानकारी गराएकी छिन् । उनले शिक्षा क्षेत्रमा राजनीतिकरण हुनु दुखद पक्ष रहेको भन्ने मान्यता विश्वव्यापी रुपमा लिइने गरेको पनि बताएकी छिन् । उनले शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ का बारेमा गत जेठ १३ गते लिइएको निर्णयको बचाउ गरेकी छिन् । उनले सामुदायिक विद्यालयका शिक्षक सरुवा असहज बनाएको र विद्यालय व्यवस्थापन समितिको अधिकार कटौती गरिएको भन्ने आरोपमा तुक नभएको पनि दाबी गरेकी छिन् । राजनीतिक पहुँचको आधारमा हुने शिक्षक सरुवालाई व्यवस्थित गर्न निर्देशिका जारी गरेको र यसले शिक्षकहरुबीच प्रतिस्पर्धा बढाउने दाबी गरेकी छिन् । उनले विज्ञान तथा प्रविधि दशक मनाउन विज्ञानसम्बन्धी विभिन्न मापदण्ड तयार पारेको, डायनोस्टिक रेडियोलोजी मेडिकल उपकरणको प्रयोगसम्बन्धी मापदण्ड, न्युक्लियर मेडिसिन संयन्त्र सञ्चालन तथा उपकरणको प्रयोगसम्बन्धी मापदण्ड स्वीकृत गरेको कुरालाई पनि उनले आफ्नो सय दिन भित्रको उपलब्धी भनी जानकारी गराएकी थिइन् । यस्तै रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) नियम, २०७८ कार्यान्वयन गर्दै एक महिने तालिमको पाठ्यक्रम स्वीकृत गरी तालिम संचालन भएको कुरालाई पनि उनले आफ्नो उपलब्धीको रुपमा लिएको बताएकी छिन् ।
शिक्षामन्त्री श्रेष्ठले गरेका कार्यहरुमध्ये शिक्षकहरुलाई दलीय आवद्धताबाट मुक्त गर्ने नीतिलाई सकारात्मक रुपमा लिनुपर्दछ । विद्यार्थीको भविष्यसँग जोडिएको शिक्षण पेशालाई दलीय आवद्धताका कारण विद्यार्थीको भविष्यमाथि नै खतरा उत्पन्न भैरहेको वास्तविकता हो । शिक्षकहरु नै विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता भएको अवस्थामा उनीहरुले दिने शिक्षामाथि नै प्रश्न उठ्दै आएको छ । यसैगरी कतिपय शिक्षक शिक्षिकाहरु राजनीतिक दलको कार्यक्रममा लाग्ने गरेका कारण विद्यार्थीहरुले समयमा पढ्नबाट समेत वंचित हुँदै आउनु परेको छ । उनीहरुले राजनीतिक दलको आडमा पठनपाठनलाई भन्दा पनि राजनीतिलाई प्राथमिकतामा राख्ने गरेका छन् । त्यस्ता शिक्षकवर्गबाट सही शिक्षाको अपेक्षा गर्न नसकिने अवस्था छ । त्यसैले दलमा आवद्ध शिक्षकवर्गले आवद्धता त्याग गरी विद्यार्थीको भविष्यका लागि आफूलाई समर्पित गर्नु उचित हुन्छ । विश्वमा शिक्षण पेशालाई एकदमै उच्च सम्मानका साथ हेरिनुमा उनीहरु दलीय आवद्धताबाट मुक्त हुनु पनि हो । नेपालमा भने राजनीतिक दलैपिच्छे भातृसंस्थाका रुपमा शिक्षकहरुको संघ–संगठन खोलिने गरेका छन् । ती दलमा आवद्ध शिक्षकहरु उनीहरुको भातृसंस्थाका रुपमा रहेका शिक्षक संघ–संगठनमा आवद्ध भै राजनीतिमा सक्रिय देखिने गरेका छन् । त्यसैले उनीहरुले आफ्नो राजनीतिक आवद्धतालाई त्यागी शैक्षिक क्षेत्रलाई राजनीतिमुक्त गराउनु पर्ने मार्गमा आफूलाई लान सकेका खण्डमा देशले ठूलो सकारात्मक परिवर्तन पाउन सक्ने देखिन्छ ।
शिक्षकलाई राजनीतिमुक्त गराऔं
Facebook Comments Box