सरकार ढाल्न सत्तारुढहरु नै सक्रिय

Nayabimarsha (Weekly Newspaper from Nepal)

मुख्य समाचार
कौशल कुमार भट्टराई

भक्तपुर÷ वर्तमान सरकार ढाल्नका लागि सत्तारुढ दल तथा ती दलका नेताहरु नै सक्रिय रहेका पाइएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल नै सरकारको विकल्प खोज्न लागिपरेको समाचार स्रोतले ‘नयाँ विमर्श’ लाई जानकारी दिएको छ । प्रधानमन्त्री दाहाल निकट स्रोतले जानकारी दिए अनुसार यो प्रतिनिधिसभाको पूरै कार्यकाल आफैं प्रधानमन्त्री ध्याउन्नमा उनी रहेका छन् । यसका लागि ‘जता मल्खु, उता ढल्कु’ को नीति दाहालले लिएको पनि समाचार स्रोतले बताएको छ । प्रधानमन्त्री रहेका दाहाललाई सत्तारुढमध्येको सबैभन्दा ठूलो दल नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको दबाबले उकुसमुकुस बनाएको पनि स्रोतले दाबी गरेको छ ।
प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वलाई कायम राख्ने गरी विभिन्न विकल्पसहित छलफललाई अघि बढाएको स्रोतले दाबी गरेको छ । दाहाल निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्री सकेसम्म ओलीलाई गलाएर यही समीकरण कायम राख्ने नत्र आवश्यक परे अर्को समीकरण बनाउन समेत तयारी अवस्थामा हुनुहुन्छ ।’ स्रोतका अनुसार यसका लागि दाहालले ओलीले दिने गरेका निर्देशनप्रति विमति जनाउने गरेका छन् । दाहाल र ओलीका बीचमा विभिन्न नियुक्तिलाई लिएर विवाद बढि रहनुले पनि स्रोतले भनेको कुरामा सत्यता देखिने अवस्था रहेको छ ।
प्रधानमन्त्री दाहाललाई अहिले सत्तारुढ दलहरुबाटै समस्या भएको छ । ओलीको दबाब जति बढी छ त्यति नै अप्ठेरो अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् गृहमन्त्री रवि लामिछानेको विवादास्पद काण्डहरुले दाहाललाई जेलेको छ । उनीहरुलाई सरकारमा ल्याएको दिनदेखि विवादको भूमरीको सामना दाहालले गरिरहन्ु परेको छ । यसैगरी रास्वपाका अन्य मन्त्रीहरु पनि विभिन्न विवादमा मुछिनेक्रम जारी रहेकाले दाहाल समस्यामा परिरहेको अवस्था छ ।
यसैगरी सरकारमा रहेको अर्को दल नेकपा (एकीकृत समाजवादी) को कारण पनि प्रधानमन्त्री दाहाल तनावमा छन् । एसका अध्यक्ष माधवकुमार नेपाल ओलीको पेलान्लाई थेग्न नसकेर नेपाली कांग्रेससहितको गठबन्धन बनाइनुपर्ने पक्षमा लागि रहेका छन् । अध्यक्ष नेपाल आपूmलाई जसरी पनि प्रधानमन्त्री बनाउने पक्षमा लागेका छन् । यसका लागि उनी हालको गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउन क्रियाशील रहेका छन् ।
अध्यक्ष नेपालले सरकारमै रहेर गठबन्धन बाहिरका दलहरुको बैठकमा भाग लिने कार्य गरेकाले प्रधानमन्त्री दाहाल उनीप्रति सशंकित अवस्थामा रहेका छन् । यसैगरी सुदूरपश्चिम प्रदेशमा सरकार बनाउने विषयमा समेत अध्यक्ष नेपालले आफ्नो दलको नेतृत्वका लागि अडान लिएको कुरालाई ओलीले पचाउन सकेका थिएनन् । ओलीले नेपाललाई जसरी पनि रोक्ने नीति लिनु अनि नेपालले पनि ओलीलाई देखाइदिने नीति लिएका कारण प्रधानमन्त्री दाहाल चेपुवामा परेका छन् ।
सरकारमै रहेको अर्को जनता समाजवादी पार्टी पनि विवादित अवस्थामा छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा गएको जसपा नेपाललाई दाहाल र ओलीको चाहनामा विभाजित गरी अशोककुमार राईको नेतृत्वमा जसपा बनाई त्यसलाई सरकारमा सामेल गराइएको अवस्था छ । यो विषय पनि सर्वोच्च अदालतमा विचाराधीनको अवस्थामा छ । त्यसैले पनि सरकारमा रहेको यो दलका कारण पनि दाहाल ढुक्क अवस्थामा रहन सकेका छैनन् ।
जसपाको विकल्पको अवस्थामा प्रधानमन्त्री दाहालले जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई लिएका छन् । नागरिक उन्मुक्ति पार्टीका सांसदहरु पनि विभाजित अवस्थामा छन् । अध्यक्ष रञ्जिता श्रेष्ठ जसरी पनि सरकारमा जानुपर्ने पक्षमा छिन् भने केही सांसदहरु भने संरक्षक मानिएका रेशम चौधरीको पक्षमा रही सरकारमा जानु नहुने पक्षमा छन् । उता, मधेश प्रदेशमा आप्mनो दलको नेतृत्वमा सरकार बनाएको जनमत पार्टी केन्द्रको सरकारमा सामेल हुने नहुने भन्ने कुरामा स्पष्ट भएको छैन ।
यी दुवै दल सरकारमा आउने अवस्था आए पनि मन्त्रीहरुको काटछाँट दाहालका लागि फलामको चिउरा जस्तै भएको छ । एमाले र माओवादीबाट मन्त्री बनेका एक एकजनालाई हटाएर यी दुवै दललाई सरकारमा सामेल गराउने पक्षमा दाहाल रहे पनि ओलीले आफ्नो दलबाट मन्त्री कटौती गर्ने कुरालाई सहज रुपमा लिएका छैनन्् ।
उता, एमालेका अध्यक्ष ओली पनि हालको सत्ता समीकरणको क्रियाकलापप्रति सन्तुष्ट देखिएका छैनन् । खासगरी बजेट भाषणप्रति ओलीको असन्तुष्टी सार्वजनिक भएको छ । यसैगरी उनले आफ्ना मान्छेहरुलाई विभिन्न पदमा राख्न चाहेको कुरामा दाहालले अवरोध गरेका कारण पनि ओली आफैं पनि दाहालको विकल्पको खोजीमा देखिएका समाचार स्रोतले बताएको छ । यसका लागि ओलीले कांग्रेससँग पनि कुराकानी बढाइरहेको तथा सरकार रहेका माधवकुमार नेपालबाहेकका दलहरुलाई आफ्नो नियन्त्रणमा राखिरहेका छन् ।
यस्तो अवस्थामा दाहालले पनि ओलीको दबाबलाई खेप्नु भन्दा अर्को विकल्पमा जानु उचित हुने मान्यता लिएको बताइन्छ । दाहालले कांग्रेससहितको पुरानै गठबन्धनलाई ब्युत्याउने तयारी पनि गरिरहेको समाचार स्रोतले दाबी गरेको छ । उनले उपेन्द्र यादवको दलको विषयमा सर्वोच्च अदालतले के फैसला गर्छ त्यसको आधारमा आफूले कदम चाल्ने सोच बनाएको पनि बताइएको छ ।
उता, ‘जोगी देखी भैँसी तर्सिने, भैंसीदेखि जोगी तर्सिने’ अवस्थामा ओली र दाहालको सम्बन्ध देखिएको छ । दाहालले पनि आफ्नै सोचलाई अघि बढाएको अवस्थामा ओलीले पनि कांग्रेससँग वार्ता जारी राखेको बताइएको छ ।
यसैबीच कांग्रेसले पनि आफू सत्तामा पुग्नकालागि प्रयासहरु गरिरहेको बताइएको छ । खासगरी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र एमालेका नेताहरुसँग वार्तालाई अघि बढाउनका लागि भनी आफ्ना विश्वासपात्रहरुलाई खटाइरहेको अवस्था छ । कांग्रेसले आगामी २०८४ सालसम्म प्रतिपक्षमै बस्ने भन्ने गरे पनि सत्ताको लागि प्रयास भने जारी राखेको बताइन्छ ।
एमालेसँग वार्ताकालागि ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रसँग वार्ताका लागि रमेश लेखकलाई देउवाले खटाएको बताइएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *