संघमा तीन सचिव पद रिक्त, गृहसचिवमा को ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ कानूनबाट मुख्यसचिव बनेकी लीलादेवी गड्तौलाको अवकाशपछि एक सचिव पद रिक्त बन्न पुगेको छ । गृहसचिव रहेका एकनारायण अर्याललाई सरकारले मुख्य सचिवमा नियुक्त गरेपछि गृहसचिव पनि रिक्त बन्न पुगेको छ ।
यसैगरी राष्ट्रिय योजना आयोगका सचिव डा. तोयानारायण ज्ञवालीले मुख्यसचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिएपछि उक्त पदसहित संघमा तीनजना सचिव पद रिक्त बनेको छ । वरिष्ठताको हिसाबले अग्रस्थानमा रहेका सचिव ज्ञवाली भोलि भाद्र २२ गतेबाट अनिवार्य अवकाश हुँदै थिए । यता दुइटा प्रदेश पनि निमित्तको भरमा चलेको समाचार श्रोतले बताएको छ ।
रिक्त रहेको गृहसचिव पद हात पार्न पाँचजना सचिवहरु लिगलिगे दौडमा छन् । गृहसचिव भैसकेका दिनेश भट्टराई, विनोदप्रकाश सिंह, दीपक काफ्ले, कृष्णहरि पुष्कर कर्ण र अर्जुन पोख्रेल रहेको जानकारहरुले बताएका छन् । लिगलिगेको दौडमा रहेका भट्टराई आगामी फागुन ११ गते र पोखरेल २०८२ पहिलो साता ५ वर्षे सेवा अवधिका कारण अवकाश हुँदैछन् । गृहसचिवमा गृहमन्त्री रमेश लेखकको भन्दा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चाहेको व्यक्ति बन्ने चर्चा चलेको छ ।
बुढानिलकण्ठको आशिर्वादमा अर्थसचिव बनेका डा. कृष्णहरि पुष्कर फरियाको साइनो लगाएर दौडधुप गरेको समाचार सूत्रले बताएको छ । गृहको सहसचिव अर्थसचिव, उद्योग वाणिज्य तथा आपूर्ति सचिव भै हाल भूमि व्यवस्था गरिबी निवारण तथा सहकारी सचिव रहेका पोख्रेलको अनुभव र प्रजातान्त्रिक आस्थाका कारण संभावना रहेको समाचार श्रोतले बताएको छ । सुुदूरपश्चिमका सिंह पनि गृहमै बसेका कारण गृहसचिव बन्न सक्ने चर्चा चलेको छ ।
गृहसचिवमा गृहप्रशासन र शान्ति सुरक्षा बुझेको व्यक्तिलाई ल्याउनुपर्ने काँग्रेसका सरोकारवालाहरुले बताएका छन् । सचिव भट्टराई पनि गृहसचिवका गतिला उम्मेदवार हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *