विपत्तिको समयमा पनि खिचातानी

Nayabimarsha (Weekly Newspaper from Nepal)

मुख्य समाचार

भक्तपुर/ प्राकृतिक विपत्तिको अवस्थामा मुलुक परेको छ । गत शनिबार विहानको रातिदेखि आएको मुसलधारे पानीको कारण देशका धेरै भागमा विपत्ति परेको छ । अविरल पानीका कारण बागमती प्रदेश सबैभन्दा बढी प्रभावित बन्न पुगेको छ । बागमती प्रदेशका धेरैजसो जिल्लामा प्राकृतिक विपत्तिका कारण मानिसहरुको मृत्यु हुन पुगेको । यसैगरी ठूलो मात्रामा जनधनको क्षति पनि हुन पुगेको छ । विभिन्न पूर्वाधारहरुमा यसले असर पारेको छ भने धेरै परिवारहरु घरबारविहीनको अवस्थामा पुगेका छन् ।
उक्त बाढीपहिरामा परी दुई सय ३३ जनाको मृत्यु भएको भनी सरकारले आँकडा प्रस्तुत गरेको छ । सरकारी आँकडा अनुसार २२ जना बेपत्ता छन् । यसैगरी एक सय ६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ ।
विपत्को समयलाई ख्याल गरेर सरकारले उद्धार र सहायता परिचालनलाई प्राथमिकतामा राखेको बताइएको छ । अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न सरकारले प्रयास गरिरहेको बताइएको छ । बाढी पहिरोबाट क्षतिग्रस्त सडक तथा पुलहरु पुनर्निर्माण गर्न करिब २५ अर्ब रुपियाँ लाग्ने सरकारले जनाएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिको विवरण सार्वजनिक गरेको हो । सम्पूर्ण सडक तथा पुलको संरचना पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपियाँ खर्च लाग्ने भनी पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
‘क्षतिको विस्तृत विवरण सङ्कलनको काम जारी नै रहेकोमा हालसम्मको प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे दुईदेखि तीन अर्ब रुपियाँ लाग्ने देखिएको छ । क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनस्र्थापना गर्न २० देखि २५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।’ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ ।
दशैंको मुखमा आएको यो विपत्तिका कारण राजधानी काठमाडौंबाट बाहिर जाने सबैजसो मार्गहरुमा असर परेको छ । धुलिखेलबाट बर्दीबासहुँदै पूर्व जाने बी.पी.मार्गका विभिन्न स्थानहरु अवरुद्ध छन् । धेरै स्थानहरुमा बाटो नै पूर्ण रुपमा बिग्रिएको अवस्था छ । यस्तो बेलामा उक्त मार्ग अवरुद्ध हुँदा पूर्व जाने यात्रुहरु प्रभावित बनेको अवस्था छ ।
यसैगरी राजधानी काठमाडौं आउने सबै नाकाका मार्गहरु सहज देखिएका छैनन् । दशैंको मुखमा आएको विपत्तिका कारण विदेशबाट काठमाडौं आई आफ्नो जिल्लामा जान चाहनेहरुका लागि पनि अहिले अवरोधको अवस्था छ । खासगरी काठमाडौं विभिन्न बाहिरी जिल्लाबाट आई बसोबास गर्नेहरु दशैंको अवसर पारेर आफ्नो थातथलोमा जाने गर्दछन् ।
यस्तो अवस्थामा देशैभरीका मार्गहरुमा अवरोधको अवस्था आई दिँदा समस्या परेको अवस्था छ । खासगरी काठमाडौं उपत्यकामा बाढीको प्रभाव बढी देखिएको छ । काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा बाढीले बढी प्रभावित गरेको अवस्था छ ।
काठमाडौं उपत्यका भित्रका सबै खोला तथा नदीहरुमा पानीको बहाव अत्यधिक बढ्न पुगेको थियो । सो कारण खोला किनाराका बस्तीहरुमा पानी पसेको थियो । यसैगरी काठमाडौंका गल्लीहरुमा समेत पानीको मात्रा बढी घर घरमा पानी पसेको थियो । कतिपय गल्लीहरुबाट समेत मानिसहरु हराइरहेको बताइन्छ ।
यस्तो विपत्तिको बेलामा सरकारको कामकारबाहीलाई हेरेर जनताले धिकार्ने कार्य गरेका छन् । काठमाडौं उपत्यकामै बाढी फसेका मानिसहरु घरको छतमा चढेर कराउँदा पनि सरकारी पक्षले उनीहरुलाई समयमै उद्दार गर्न नसक्दा उनीहरुले बगेर बेपत्ता हुनु परेको छ ।
यसैगरी मुलुकमा विपत्ति परेका बेलामा अमेरिकामा रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको कार्यशैलीलाई लिएर आलोचना भैरहेको छ । उनी आफ्नो भ्रमण नछोट्याई अमेरिकामै रहेका कारण उनको आलोचना भएको हो । मुलुकमा प्राकृतिक प्रकोप परेको अवस्थामा प्रधानमन्त्री ओली विदेशीहरुसँगको भेटघाटमा मख्ख थिए । उनले त्यहाँबाट आश्वासन बाँड्ने कार्यमात्र गरेको तर आफ्नो नेतृत्वको सरकारलाई सही ढंगबाट परिचालन गर्न नसकेको भनी आलोचना गरिँदै आएको छ ।
प्रधानमन्त्री स्वदेश फर्किएकै दिन मन्त्रिपरिषदको बैठक बसे पनि त्यसले जनचाहना अनुसारको मल्हम लगाउने कार्य भने गर्न नसकेको अवस्था छ । जनता यसरी बाढी पहिरोको मारमा परेको यो बेला पनि सरकारले जनचाहना अनुसारको राहतको घोषणा गर्न सकेको देखिँदैन ।
मुलुकमा विपत्ति छाइरहेको यो बेलामा पनि दलहरु भने खिचातानीमै देखिएका छन् । सरकारमा रहेका दलहरुले नै एक अर्कालाई आरोप प्रत्यारोप लगाउने कार्य गर्न थालेका छन् । बाढी पहिरोको समयमा प्रधानमन्त्रीको कार्यशैली ठीक नभएको भनी नेपाली कांग्रेसका नेताहरुले ओलीको आलोचना गरिरहेका छन् । यसैगरी ओलीको दल नेकपा (एमाले) का नेताहरु कांग्रेसका तर्फबाट गृहमन्त्री रहेका रमेश लेखकले सही भूमिका निर्वाह गर्न नसकेको भनी उनको आलोचना गरिरहेका छन् ।
यसैबीच प्रमुख प्रतिपक्षमा रहेको नेकपा (माओवादी केन्द्र) पनि यो विपत्तिको बेलालाई सरकारको आलोचना गर्ने मौकाको रुपमा बुझिरहेको छ । सोही कारण माओवादी केन्द्रका नेताहरुले सरकारको कार्यशैलीको आलोचना गरिरहेका छन् ।
उता, चौथो ठूलो दल भएर खेल्दै सरकारमा सामेल हुँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि आफ्नै सभापति रवि लामिछानेका कारण विवादमा परिरहेको छ । अरुको गाली तथा आलोचना गर्न तम्सिने रास्वपा लामिछाने कुनै पनि बेला सहकारी ठगी काण्डमा पक्राउ पर्ने त्रासमा रहेको अवस्था छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *