कौशल कुमार भट्टराई
नेपाली राजनीतिको मियोको रुपमा रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र उनको दलले पछिल्लो समयमा गरेको कुकार्यले अहिले चर्चा पाएको छ । ओलीले दशैंको मुखमा विवादास्पद व्यापारी मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङबाट एक अर्ब रुपियाँभन्दा बढीको जग्गा ‘दान’ दिलाएका छन् । यो दानको कुराले अहिले मुलुक तथा खासगरी नेकपा (एमाले) पंक्तिमा कुख्याति कमाउने कार्य भैरहेको छ । प्रधानमन्त्री तथा जिम्मेदार दलको अध्यक्षको हैसियतमा ओलीले देश र जनताको पक्षमा कार्य गर्नुपर्ने हो । उनले त्यस विपरित आफूलाई उभ्याउने प्रयास गर्नु कदाचित राम्रो कर्म होइन । तर पनि भएको भने त्यस्तै छ ।
दशैंको मुखमा मुलुकमा बाढी पहिरोको मार प¥यो । बाढी पहिरोको कारण मुलुकका धेरै स्थानमा असर पा¥यो । दुई सयभन्दा बढी मानिसको मृत्यु भयो । धेरै मानिस बेपत्ता भए । ठूलो मात्रामा जनधनको क्षति भयो । बाटाहरु भत्किए । साँघुहरु बगाए । कतिपय मानिस घरबारविहीनको अवस्थामा पुगे ।
यस्तो भैरहेको बेलामा प्रधानमन्त्री ओली भने अमेरिका भ्रमणमा मस्त रहे । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन गएका ओलीले आफ्नो भ्रमण कार्यक्रम छोट्याउने प्रयास समेत गरेनन् । नेपाली जनता मारमा परिरहेको अवस्थामा देशको प्रधानमन्त्री रहेका ओली भने अमेरिकामा समेत ‘प्रश्न एकातिर, जबाफ अर्कातिर’ दिंदै जगत हसाउँदै बसेका थिए । उनको त्यो कर्मको जति आलोचना भयो त्योभन्दा बढी त ‘दान’ प्रकरणले भैरहेको छ ।
‘दान’ भन्ने कुरा पुण्यसँग जोडिने कुरा हो । पुराण आदिमा ‘दान’ का प्रसंगहरु पाइन्छन् । परोपकारी कार्यले अर्काको मल्हममा दबाइ लगाई दिने वा पीडितलाई सहयोग गर्ने कार्यलाई ‘दान’ सँग जोडेर हेर्ने गरिन्छ । केही कुरा नभएको वा त्यो कुरा आवश्यक परेको व्यक्तिलाई निस्वार्थ रुपमा अर्कोले उसको आवश्यक कुरा प्रदान गरिनुलाई पनि ‘दान’ को संज्ञा दिने गरिन्छ । अर्थात कुनै आशा वा प्रभाव पार्ने उद्देश्यविना नहुनेलाई सहयोग गर्नुलाई ‘दान’ को रुपमा लिने गरिन्छ ।
यहाँ दानको विषयमा केही कुरा लेख्ने जमर्को गरे पनि मुख्य सरोकारको कुरा के हो भने गुरुङ दम्पत्तिले एमालेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि भनी दिएको जग्गादानको प्रसंग हो । एमालेजस्तो देशको सबैभन्दा धनी दललाई विवादास्पद व्यापारी (मीनबहादुरले राजश्व छलेको तथा ललिता निवास जग्गा प्रकरणमा मुद्दा अदालतमा विचाराधीन छ) मीनबहादुरले जग्गादान त्यो पनि दलको भवन निर्माणका लागि दिनु भन्ने कुरा कसरी निस्वार्थ दान हुन सक्छ भन्ने हो ।
पुराण आदिमा ‘दान’ दिने विषयमा पनि केही विचारणीय कुरा उल्लेख भएको पाइन्छ । पहिलो कुरा ‘दान’ दिने पात्रको ‘दान’ दिने कुरा सही हुनुपर्छ । यसैगरी दान दिने पात्र र लिने पात्र पनि उपयुक्त हुनुपर्छ । यसैगरी लिइएको वा दिइएको दानको सदुपयोग हुनुपर्छ ।
यसरी दान लिंदा र दिंदाको विषयमा पनि केही कुरा ख्याल गरिनुपर्ने हुन्छ । पहिलो कुरा त दिइन लागेको दान सही हो कि होइन भन्ने कुरातर्फ ध्यान दिने हो भने त्यो पनि सही देखिँदैन । राजश्वछली प्रकरणमा परिरहेका व्यक्तिले दिने भनेको जग्गा पनि सही नहुने वा उसको सही कमाइबाट आर्जित नहुने अवस्थालाई नकार्न मिल्दैन । यसैगरी यो जग्गा त अझ मीनबहादुरको नभएर ‘युनिटी लाइफ’ प्रकरणमा लुकाइएको जग्गा पो भन्ने कुरा आएको छ । त्यस्तो कुख्यात प्रकरणमा जोडिएको उक्त जग्गा सही हुने संभावना एकदमै क्षीण छ ।
अर्कोतर्फबाट हेर्दा दान दिने व्यक्ति सही पात्र हुन् कि होइनन् भन्ने कोणबाट हेरौं । अहिले विवादास्पद अवस्थामा रहेका मीनबहादुर गुरुङ अहिले दान दिनका लागि पनि योग्य नरहने अवस्थामा रहेका कुरा पौराणिक आधारलाई मान्दा देखिन्छ । उनले सफाइ नपाई सकेको हालको अवस्थामा उनी दानवीर बन्नका लागि पनि योग्य देखिने पात्र होइनन् ।
यसैगरी दान लिनेको तर्फबाट हेर्दा पनि लिने पात्र पनि उपयुक्त होइनन् । पहिलो कुरा त नेपालको सबैभन्दा धनी दलको रुपमा एमाले स्थापित भएको छ । सबै दलका लेखापरीक्षण प्रतिवेदनलाई आधार मान्ने हो भने एमालेको नाममा मुलुकभरी सबैभन्दा बढी सम्पत्ति छ । यसैगरी हाल सरकार संचालक दल पनि एमाले हो । यस्तो अवस्थामा एमाले दान लिनका लागि उपयुक्त पात्र पनि होइन ।
यसैगरी दानकै कुरा गर्ने हो भने समय पनि उपयुक्त हुनुपर्छ भन्ने मान्यता राखिन्छ । समय उपयुक्त हो कि होइन भनी हेर्दा पनि यो समय एमालेका लागि दान दिन वा लिनका लागि उपयुक्त समय होइन । अहिले बाढी पहिरोको मारमा परेका पीडितहरुको चिहिल र विहिलको अवस्था छ । यस्तो अवस्थामा दान वा राहत दिनुपर्ने भनेका पीडित जनता हुन् । उनीहरुको पक्षमा सरकारले सोच्नुपर्नेमा सरकारका प्रमुखले त आपूm र आफ्नो दलको लागि मात्र सोचेको देखिन्छ, जुन खेदयुक्त कार्य हो ।
यसैगरी उक्त जग्गाको कुरा उठ्दा जग्गाको हकभोगको कुरालाई पनि केलाइनुपर्ने हुन्छ । उक्त जग्गा दान दिने मीनबहादुर वा उनकी पत्नीको नाममा नरहेको खुलेको छ । उक्त जग्गा युनिटी काण्डका एक कालु गुरुङ रहेको कम्पनीको नाममा रहेको भनी विभिन्न सञ्चारमाध्यमहरुमा समाचार आइरहेका छन् । कालु गुरुङ आफैं पनि युनिटी काण्डमा नौ करोड रुपियाँ अदालतमा धरौटी बुझाएर मुद्दा खेपी रहेका पात्र हुन् ।
यसरी कालु गुरुङको कम्पनीसँग जोडिएको भनिएको उक्त जग्गा मीनबहादुरको स्वामित्वमा नआइसकेको अवस्थामा के कसरी अर्काको जग्गामा लिने र दिनेले शिलान्यास गर्न पुगे ? के यो कार्य कानूनी हिसाबले मान्य हुन्छ ? अझ भन्ने हो भने उक्त जग्गाको क्षेत्रफल ४ रोपनीमात्र रहेको बताइन्छ । त्यहाँ नपुग अर्थात करिब ७ रोपनी जग्गाका धनीहरु पनि अरु नै रहेका छन् । यस्तो अवस्थामा दिनेको स्वामित्वमा नआएको जग्गामा शिलान्यास गर्दै हिंड्नु कानूनसम्मत देखिँदैन ।
अनि अर्को कुरा कालु गुरुङ र मीनबहादुर गुरुङको के सम्बन्ध हो ? कि युनिटी प्रकरणसँग जोडिएको रकमले उक्त जग्गा खरिद गरिएको पो हो कि कालु गुरुङले । अनि युनिटी काण्डको पैसामा मीनबहादुर र एमाले कसरी जोडिन पुगे भनी युनिटीका पीडितहरु सोचमग्न बन्न पुगेका छन् । कि युनिटीको सम्पत्ति हडप्न गुरुङबन्धुहरुका अतिरिक्त एमाले संस्थागत रुपमै संलग्न पो हो कि भनी पीडितहरुले शंकाको दृष्टिले हेर्न थालेका छन् ।
दान दिने र लिने कुरामा लिने र दिने तयार भएको अवस्थामा अरुलाई के चासो भन्ने पनि एकथरी छन् । खासगरी विभिन्न सञ्चारमाध्यममा मीनबहादुर गुरुङले त्यस्तो कुरा राख्ने गरेका छन् । तर, अवस्था उनले भनेजस्तो सहज होइन । उनी भ्रष्टाचारको मुद्दामा अदालतमा विचाराधीन अवस्थामा रहेका व्यक्ति हुन् । त्यसैगरी एमाले सत्तारुढ दलहरुमध्येको हालको सत्ता संचालक प्रमुख दल हो । यसैगरी दान लिने दलका अध्यक्ष खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री समेत हुन् ।
यस्तो अवस्थामा अदालतमा विचाराधीन मुद्दाका अभियुक्तबाट दान लिने कार्य त्यो पनि प्रधानमन्त्री तथा उनको दलले गर्दा त्यहाँ चलखेलको आशंका हुनु स्वभाविक हो । मीनबहादुर व्यापारी हुन् । उनले आफ्नो प्रतिष्ठाको लागि वा अर्कातिरबाट थप मुनाफा लिने उद्देश्यबाट यो प्रकरण अघि बढाएका त होइन भनी शंका गर्ने ठाउँ प्रसस्तमात्रामा छ ।
यो कुरा विवादित बनेपछि मीनबहादुर आफू राष्ट्रिय मान्यताप्राप्त सबै दलको केन्द्रीय कार्यालय बनाई दिन तयार रहेको भन्ने खालको अभिव्यक्ति पनि दिंदै हिँडेका छन् । उनको सम्पत्तिको स्रोत के हो ? उनले आफ्नो सम्पत्तिको स्रोत स्पष्ट पारेका छन् त ? उनले सम्पत्तिको वैधानिक कर तिरेका छन् त ? अनि जुन दललाई पनि दान दिन तयार हुनुको स्वार्थ के हो ?
झट्ट हेर्दा तथा सर्वसाधारणको नजरबाट हेर्ने हो भने यो कार्य दान नभएर स्वार्थयुक्त कार्य हो । यहाँ दुवै पक्ष स्वार्थबस कार्य गरिरहेको देखिन्छ । मीनबहादुरलाई आफू अप्ठ्यारोमा परेको महसुस भैसकेको छ । भोलि मुद्दा जे पनि हुन सक्छ तथा उस्तै परे कारागार सजाय भोग्नुपर्ने अवस्था आउने हो कि भनी उनी सोचमग्न देखिएका छन् । यसैगरी अप्ठ्यारोमा परेका गुरुङलाई विभिन्न आशा देखाएर दानको माध्यमबाट सम्पत्ति हत्याउन सकिने भन्ने कुरामा एमालेको नेतृत्व पुगेको देखिन्छ ।
यो प्रकरणलाई सामान्य रुपमा लिन सकिने अवस्था देखिन्न । सत्तारुढ दल त्यसमाथि प्रधानमन्त्री स्वयम्ले विवादित तथा उस्तै ठान्दा सरकारको प्रतिवादी अवस्थामा रहेका व्यापारीबाट दानको नाममा सम्पत्ति हडप्ने कार्य गरिनु कदापी सही कार्य होइन । यो कार्यको एमालेका केही नेता–नेतृले विरोध समेत गरेका छन् । उनीहरुको सही कुरालाई सुनेर एमालेको नेतृत्वले निर्णय सच्याएर दान नलिने निर्णय गर्नुपर्नेमा उल्टै उनीहरुमाथि स्पष्टीकरण सोध्ने कार्य गरी आफूलाई जनताको नजरबाट झनै तल गिराउने कार्य गर्दै गएको छ । यो कार्यले बहुदलीय व्यवस्थाको मर्ममाथि नै प्रहार गरको छ । अझ कम्युनिष्ट नामधारी दलले दलाल पुँजीवादी दलले समेत गर्ने आँट नगरेको अवस्थामा त्यस्तो कुकर्म गरी आफ्नै साख सिध्याउने कार्य गर्नु क्षम्य विषय होइन । एमाले तथा एमालेको नेतृत्वले यो कुरालाई समयमै सच्याउने कार्य गरोस् ।