भक्तपुर/ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) जस्ता दलहरुबाट पार नलाग्ने भन्दै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समयमा आएर तिनै दलहरुको दैलो चहार्ने अवस्थामा पुगेको छ । रास्वपाका सभापति रवि लामिछाने काण्डैकाण्डमा मुछिने क्रम जारी रहेको अवस्थामा रास्वपाका अरु नेताहरु ठूला भनिएका दलहरुको दैलो चहार्न थालेका हुन् । मुलुकको परिवर्तनको वाहक आफूलाई ठान्ने तथा अरुभन्दा आफू एकदमै जान्ने ठान्दै आएका रास्वपाका नेताहरु अहिले आएर लामिछानेका काण्डहरुका कारण टाउकोमा हात लगाउन बाध्य अवस्थामा पुगेका छन् । उनीहरुको मुख्य ध्याउन्न नै लामिछानेका काण्डहरुलाई कसरी ढाकछोप गर्न सकिएला भन्नेमा केन्द्रित हुन थालेको छ ।
नागरिकता, राहदानी लगायतका काण्डैकाण्डमा फस्दै आएका लामिछाने पछिल्लो समयमा सहकारी काण्डमा फसेका छन् । जनताको प्रत्यक्ष लगानी तथा बचतसँग जोडिएको सहकारीहरुबाट करोडौं रकम अपचलन गरेको आरोपमा लामिछानेमाथि अनुसन्धान चलिरहेको छ । यस्तो अवस्थामा उनी प्रहरीको अनुसन्धानकै क्रममा अदालतबाट आदेश पाएर हिरासतमा रहेका छन् ।
सहकारी ठगी प्रकरणमा परेका लामिछानेलाई दुई पटक गरी १३ दिन हिरासतमा राखी अनुसन्धान गर्नका लागि कास्की जिल्ला अदालतले आदेश दिएको अवस्था छ । सोही कारण उनी कास्की प्रहरी कार्यालयमा हिरासतमा रहेका छन् । उनी प्रक्राउ परेका दिनदेखि पोखरामा आन्दोलनमा सो दलका नेता कार्यकर्तालाई उत्रिन लामिछानेले आदेश दिएका थिए । उनको आदेशको पालना गर्दै देशैभरीबाट रास्वपाका नेता कार्यकर्ताहरु पोखरामा ओइरिएका थिए ।
पोखरामा उत्रिएका उनीहरु एकदमै अराजक अवस्थामा देखिएका थिए । उनीहरुले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली लगायतका नेताहरुको चर्को आलोचना गरेका थिए । आलोचना गर्ने क्रममा लामिछानेले नै धैर्य गुमाएका थिए । उनले पोखरामा वर्तमान सरकार, प्रधानमन्त्रीको आलोचनामात्र गरेनन् कि न्यायपालिका नै प्रभावित पार्ने गरी आफ्ना समर्थकहरुलाई सडकमा उत्रित आह्वान गरे ।
लामिछानेमाथि अन्याय भएको भनी कुर्लने कार्य सो दलका सांसदहरुले पनि पोखरामा गरेका थिए । उनीहरुले पोखरामा घरघरबाट प्रदर्शनीमा उत्रिन आह्वान गरे पनि पोखराका शान्त जनताले उनको आह्वानलाई खासै महत्व दिएनन् । बरु पोखरेली जनता आफूहरु सहकारी ठगहरुको कारण विल्लीबाठमा परेको भनी लामिछाने लगायतमाथि कारबाही हुनुपर्ने पक्षमा उत्रिएका थिए ।
यसरी जनता विपक्षमा उत्रिन थालेपछि रास्वपाका नेताहरुले लाज जोगाउनका लागि काठमाडौं केन्द्रित प्रदर्शनी गर्न थालेका छन् । काठमाडौंको प्रदर्शनीमा पनि जनताले खासै महत्व नदिएको चर्चा चलेको छ । यसो हुनुमा रास्वपाका सांसदहरु तथा नेताहरु एकदमै तल्लोस्तरमा उत्रिएको भनी गुनासो हुनु हो ।
यसैगरी रास्वपाका नेताहरुको दोहोरो भूमिकालाई लिएर पनि आलोचना हुन थालेको छ । सडकमा प्रदर्शनीमा उत्रिँदा कांग्रेस, एमालेका नेताहरुको खैरो खन्ने अनि राति राति सोही दलका नेताहरुको दैलो चहार्ने कार्य उनीहरुबाट भैरहेको छ । प्रधानमन्त्री ओलीको विरुद्धमा सडकमा आगो ओकल्दै राति राति भने प्रधानमन्त्री निवासमा पुगी लामिछानेलाई जसरी पनि जोगाई दिनुप¥यो भनी अनुनयविनय गर्न उनीहरु लागि परेको अवस्था छ ।
यसैगरी कांग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापादेखि सभापति शेरबहादुर देउवासम्मको विरोधमा श्वर निकाल्दै आएका उनीहरु लेखकलाई भेटी लामिछाने छुट्ने वातावरण बनाई दिन अनुरोध गर्ने अवस्थामा पुगेका छन् । यसैगरी देउवाको चरण स्पर्श गर्नका लागि रास्वपाका नेताहरुले सन्देश पठाएको अवस्थामा देउवाले आफू यो मामिलामा केही भन्न नसक्ने अवस्थामा रहेको भनी टाढै बस्ने अवस्थामा पुगेका छन् ।
महामन्त्री थापाको सत्तोसराप गर्न पछि नपर्ने उनीहरु अहिले थापासँग वार्ता गर्न चाहिरहेको अवस्था छ । यसैगरी कांग्रेस सभापति देउवाकी पत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजू राणा देउवासँग पनि भेट्न पाए हुन्थ्यो भन्ने अवस्थामा रास्वपाका नेताहरु पुगेका छन् । यो मामिला अदालती प्रक्रियामा रहेको अवस्थामा सरकारले चाहेर पनि केही हुन नसक्ने अवस्थालाई भने उनीहरुले बुझ्न नसकेको बताइएको छ ।
यसरी ठगी प्रकरणमा अनुसन्धानमा मुछिएका लामिछाने कानूनी प्रक्रियाका कारण यो तिहारको समयमा पनि हिरासतमै रहने अवस्थामा पुगेका छन् । जनताको सानो सानो बचतमाथि गिद्दे नजर लगाई सहकारीको रकम अर्को कम्पनीमा पु¥याई सो रकमको दोहन गरेका लामिछाने अहिले ओठ मुख सुकेको अवस्थामा पुगेका छन् । उनको तिहारमात्र नभई लामै समय हिरासतमै गुज्रन सक्ने अवस्था रहेको बताइएको छ ।
सहकारी प्रकरणमा पाँचवटा सहकारीको रकम अपचलन प्रक्रियामा लामिछानेलाई जोड्न सकिने अवस्था छ । यस्तो स्थितिमा एउटा जिल्ला अदालतको प्रक्रिया सकिनासाथ प्रहरीले अर्को जिल्ला अदालतमा लगी उनीमाथि अनुसन्धान थाल्न सक्ने अवस्था छ । यसैगरी सबै ठाउँका कानूनी प्रक्रिया तथा अदालती चक्करमा पर्दा लामिछाने वर्षौसम्म यही मुद्दामा अल्झिन सक्ने अवस्था पनि देखिएको छ ।
यसरी परिवर्तनको पर्यायवाचीको रुपमा आफूलाई ठान्दै आएको रास्वपा आफ्नै नेताहरुका कारण बद्नाम बन्न पुगेको छ । यसरी रास्वपा आफ्नै धुनमा रहन पुगको अवस्थामा अन्य प्रमुख दलहरु भने उपनिर्वाचनको तयारीमा जुटेका छन् । आगामी मंसिर १६ गते रिक्त रहेका स्थानीय निकायहरुको पदमा उपनिर्वाचन हुने भएकाले सोको तयारीमा दलहरु जुटिरहेका छन् ।
पहिलो चरणमा उम्मेदवार छनौट दलहरुको प्राथमिकतामा परेको छ । त्यसपछि प्रचारप्रसारलाई उनीहरुले प्राथमिकतामा राख्ने बताइएको छ । यसैगरी यो उपनिर्वाचनमा प्रमुख ठूला दलहरु कसैसँग गठबन्धन नगरी एक्लाएक्लै उम्मेदवार दिने तयारीमा रहेका छन् । यसरी एक्लाएक्लै उपनिर्वाचनमा प्रतिस्पर्धा भएको खण्डमा उनीहरुको अवस्था पनि जाँचिने बताइएको छ ।