कांग्रेस समीक्षामा, रास्वपा दयनीय

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको परिणाम सार्वजनिक भैसकेको छ । यो उपनिर्वाचनमा सबैजसो स्थानमा दलहरुले छुट्टाछुट्टै प्रतिस्पर्धा गरेका थिए । सोही कारण यसलाई ‘जनमतसंग्रह’ को रुपमा समेत हेरिएको थियो । यो उपनिर्वाचनमा नयाँ उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा विभिन्न स्वतन्त्र उम्मेदवारहरुको उम्मेदवारी परेको थियो । त्यसैले पनि निर्वाचन परिणामबाट दल तथा पछिल्लो अवस्थाको जानकारी मिल्ने ठानिएको हो । यो अवस्थामा देखिएको निर्वाचन परिणामलाई विभिन्न तह र कोणबाट विश्लेषकहरुले विश्लेषण गरिरहेका छन् ।
अन्तिम मत परिणामसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) प्राप्त नतिजाबाट उत्साहित देखिएको छ । उपनिर्वाचन भएका ४४ स्थानहरुमध्ये २ स्थान अर्थात जिल्ला समन्वय समितिको सभापतिहरुमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भैसकेका थिए । बाँकी रहेको ४२ स्थानको निर्वाचनमा १ वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । यस्तो अवस्थामा माओवादी केन्द्रले यसअघिको निर्वाचनमा जितेका सात स्थानहरुमध्येमा एउटा स्थानलाई सुरक्षित गरी सकेको थियो । बाँकी ६ स्थानका लागि सुरक्षित राख्नुपर्ने चुनौतीमा समग्र निर्वाचन परिणममा माओवादी केन्द्रले आफूलाई पहिलेको भन्दा बढी राम्रो अवस्थामा देखाउन सफल भएको छ ।
विगतमा जितेका स्थानहरुमध्ये केही गुमाए पनि नयाँ स्थानमा विजयको माला पहिरिँदा माओवादी केन्द्रमा उत्साह थपिएको छ । गत स्थानीय निर्वाचनमा त्यो बेलाको सत्ता गठबन्धन अर्थात कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतको सहयोगमा मात्र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् भन्ने खालको आरोप लाग्ने गरेको थियो । यस्तो विश्लेषण भैरहेको अवस्थामा यो उपनिर्वाचनमा माओवादी केन्द्रले एक्लै उम्मेदवारी दिएको अवस्थामा कुनै पनि स्थानमा जित निकाल्न सहज छैन भन्ने भाष्य आइरहेको थियो ।
यस्तो भाष्यलाई चिर्ने कार्य निर्वाचन परिणामले देखाएको छ । माओवादी केन्द्रले विगतको भन्दा बढी स्थानमा आफूलाई विजयी बनाउँदा यो दलमा उत्साह थपिएको छ । प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष जस्ता महत्वपूर्ण स्थानहरुमा माओवादीले केन्द्रले आफूले पहिले जितेका सबै स्थानलाई सुरक्षित राख्न मात्र सकेन कि नयाँ पनि थप्न पुगेको छ । पहिले जितेका केही वडाहरु हारे पनि माओवादी केन्द्रले नयाँ वडाहरुमा जित निकाली आफूलाई संख्यात्मक रुपमा बलियो अवस्थामै रहेको संदेश दिएको छ ।
माओवादी केन्द्रले एउटा अध्यक्ष, दुइटा उपाध्यक्ष, एउटा नगर उपप्रमुख तथा सातवटा वडा अध्यक्षमा जित निकाल्न सफल भएको छ । माओवादी केन्द्रले भने यसअघि चुनाव जितेको केही स्थान गुमाए पनि कांग्रेस, एमालेको किल्ला भत्काउँदै नतिजामा सुधार गरेकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचन परिणामबाट एकदमै उत्साहित देखिएका छन् । उनले मोरङको ग्रामथाम गा.पा.को निर्वाचनमा अध्यक्षमा निस्केको जितलाई पूर्वबाट २०६४ साल उदाएको संज्ञा समेत दिएका छन् ।
गत संसदीय चुनावमा काठमाडौं उपत्यकामा राम्रो मत पाएको रास्वपा यो उपनिर्वाचनमार्फत पहिलो पटक स्थानीय तह उपनिर्वाचनमा सहभागी भएको थियो । प्रतिनिधिसभाको चौथो ठूलो दलको रुपमा रहेको रास्वपाले काठमाडौंको एउटा वडा अध्यक्षमा जित निकाले बाहेक अन्य कुनै पनि किसिमको जादु चलाउन सकेन । २६ स्थानमा उम्मेदवारी दिएको रास्वपाले ओखलढुंगामा भएको वडाको निर्वाचनमा जमानत जोगाए पनि अन्य कुनै पनि स्थानमा जमानत जोगाउन सकेन । धेरैजसो स्थानमा रास्वपाका उम्मेदवारले ५० मत पनि कटाउन सकेनन् । यस्तो लज्जास्पद अवस्थामा पुगेको रास्वपा काठमाडौ महानगरपालिकाको वडा नं.१६ मा वडाध्यक्ष जित्दा जित मनाउने कि नमनाउने भन्ने अवस्थामा पुगेको देखिन्छ ।
संसदको पाँचौ ठूलो दलको हैसियतमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लागि यो उपनिर्वाचन लज्जास्पद देखियो । राप्रपाले उपनिर्वाचनअघि सानदार नतिजा ल्याउने दाबी गरे पनि मत परिणामबाट त्यस्तो देखिएन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको जिल्लामै भएको उपनिर्वाचनमा समेत लज्जास्पद मत प्राप्त हुन गयो । उनको जिल्लामै पर्ने कन्काई गा.पा.को ६ नं.वडामा भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले जित निकाल्न सफल भए ।
यसैगरी सत्ताको नेतृत्व गरेको दल नेकपा (एमाले) ले गाउँपालिकाको एक अध्यक्ष, गाउँपालिकाको दुई उपाध्यक्ष र पाँच वडामा जित हासिल गरेको छ । यस आधारमा एमालेले २०७९ मा भएको स्थानीय तह उपनिर्वाचनमा गुमाएको दैलेखको महाबु गा.पा.को अध्यक्ष र बाजुराको स्वामिकार्तिक खापर गा.पा.को उपाध्यक्ष पद कांग्रेसबाट खोस्न सफल भएको छ । दुई पद जित्नुबाहेक एमालेले वडामा भने खासै प्रगति गर्न सकेन ।
यसैगरी सत्ता साझेदार दल नेपाली कांग्रेसले एउटा नगरपालिकाको प्रमुख, १६ वटा वडामा जित हासिल गरे पनि उसले यसअघिको आफ्नो जितलाई जोगाउन सकेन । उपनिर्वाचन भएका स्थानमध्ये २४ पद कांग्रसकै रिक्त थियो । यसरी कांग्रेसले यो उपनिर्वाचनमा जित निकालेको संख्यालाई आधार मान्ने हो भने पहिले जितेका स्थान गुमाए पनि नयाँ स्थानहरुमा जित निकालेको देखिन्छ । कांग्रेसले कीर्तिपुर नगरपालिकाको प्रमुखमा जित निकालेसँगै वडा नं.४ मा समेत जित थप गरी कीर्तिपुरका सबै वडामा विजयको झण्डा फहराउन पुगेको छ ।
कांग्रेसले पाएको यो निर्वाचन परिणामलाई लिएर सिट सुरक्षित नगरेको भन्ने आरोप लागे पनि कांग्रेसमा उत्साहमा कमी आएको छैन । यसअघि माओवादी केन्द्रसँग गठबन्धन गर्दा केही स्थान बढी जितेको कांग्रेसले भोलिका दिनमा यसैगरी सबै दलहरुले आ–आफ्नै उम्मेदवार बनाएको खण्डमा यसै अनुसार निर्वाचन परिणाम आएमा त्यो बेठीक नभएको बुझाइमा कांग्रेसजनहरु रहेका छन् ।
यो निर्वाचन परिणामसँगै कांग्रेस भित्र आगामी दिनमा गठबन्धन आवश्यक छ कि छैन भन्ने कुराले फेरि चर्चा पाउने अवस्था भने सिर्जना गरिदिएको राजनीतिक विश्लेषक रामेश्वर ढकाल बताउँछन् । उनका अनुसार यो परिणामलाई ख्याल गर्दा कांग्रेस, एमाले र माओवादी केन्द्रका बीचमै प्रतिस्पर्धा हुने तथा उनीहरु नै एकअर्काका विकल्पको रुपमा रहन जाने अवस्था देखिएको छ ।
यो उपनिर्वाचनमा जसपा नेपालले दुई स्थानलाई समग्रमा सुरक्षित राख्न सफल भएको छ । जसपा नेपालको सौताको जस्तो ठानिने जनमत पार्टीले खासै मत नपाएको अवस्थामा जसपा नेपाल खुशी नै देखिएको छ । यसैगरी नेकपा (एकीकृत समाजवादी) ले १, नेमकिपाले १ वडामा विजय हासिल गरी उपनिर्वाचनमा थप जित निकाल्न सफल भएका छन् । उता, एमालेले गुमाएका वडाहरुमध्येमा झापाको कन्काई वडा नं.६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको गृहजिल्लामै उनकै दलले यसअघि जितेको वडामा स्वतन्त्र उम्मेदवार विजयी हुनु भनेको एमालेसँगै ओली स्वयम्लाई पनि धक्का लाग्नु हो ।
यसअघि नै ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार क्रमशः टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भैसकेका थिए । यस्तै, रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका जगत् घर्ती निर्विरोध भएका थिए ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *