सम्पादकीय
काठमाडौँ महानगरपालिकाले कपडा बैंक सञ्चालन गरी आवश्यक पर्नेलाई निःशुल्क वितरण गर्ने भएको छ । महानगरपालिकाको स्वर्णिम योजनाअन्तर्गत यसका लागि कार्यविधि तयार गर्ने काम भइरहेको छ । आगामी पुसभित्र कार्यविधि तयार गरी कपडा बैंक सञ्चालनमा ल्याउने तयारी महानगरले गरेको छ । महानगरका ३२ वटै वडामा कम्तीमा एक–एक कपडा सङ्कलन केन्द्र राखिने तयारी महानगरले गरेको छ । वडामा सङ्कलित कपडाका लागि महानगरपालिकाले मर्मत केन्द्र तयार गर्नेछ । त्यस केन्द्रमार्फत जम्मा भएका कपडालाई वर्गीकरण गरिनेछ । कतिपयलाई मर्मत गरी प्रयोगयोग्य बनाउने, मर्मतपछि पनि प्रयोग गर्न नमिल्लेलाई महानगरपालिकाले सिरक, डसना बनाउने छ । सामान्य मर्मत वा मर्मत नै नगरी प्रयोग गर्न सकिनेलाई सोहीअनुसार प्याकिङ र वितरण गर्ने तयारी रहेको महानगरपालिकाका सामाजिक विकास विभागले गरेको छ । यसरी तयार गरिएका सामग्री महानगरपालिकाले आवश्यक भएका व्यक्तिलाई निःशुल्क वितरण गर्ने सोच बनाएको छ ।
यसरी जनताले प्रयोगमा नल्याउने वा ल्याउन नमिल्ने खालका कपडालाई कपडा बैंकमा धुल्याउने कार्य गरिने योजना छ । प्रयोगविहीन कपडाको प्रयोग बढ्नुका साथै कपडाजन्य बस्तुबाट हुने वातावरण प्रदूषणमा कमी आउने विश्वास पनि महानगरपालिकाले गरेको छ । यसको प्रयोगका लागि कार्यविधि बनाउने तयारी महानगरपालिकाले गरेको छ । यस कार्यक्रमका लागि महानगरपालिकाले चालु आर्थिक वर्षमा ५० लाख विनियोजन गरेको छ । यसरी प्रयोगविहीन अवस्थामा राखिएका कपडाको पुनप्र्रयोगका लागि काठमाडौं महानगरपालिकाले थालेको यो प्रयासलाई सकारात्मक रुपमा लिन थालिएको छ ।
महानगरपालिकाको यो कार्य सफल भएका खण्डमा यसले विभिन्न पाटोका लागि मार्गप्रशस्त गर्ने अवस्था आउने देखिएको छ । पहिलो कुरा त घरघरमा थुप्रिएका कपडाहरु पुनप्र्रयोगका लागि कपडा बैंकमा पुग्नेछन् । प्रयोग गर्न मिल्ने खालका कपडाहरुको पुनप्र्रयोग किन्न नसक्नेहरुले गर्न सक्नेछन् । यसैगरी किन्न सक्नेहरुका लागि घरमा थुप्रिएका कपडाको सट्टामा नयाँ कपडा किन्नकालागि ठाउँ खाली हुनेछ । उता, पुनप्र्रयोगका लागि प्रयोग हुने मेसिन तथा जनशक्तिका कारण रोजगारीमा समेत वृद्धि हुनेछ । यसैगरी प्रयोग गर्न नमिल्ने खालका कपडाहरुलाई धुल्याएर सिरक, डस्ना जस्ता बस्तुहरु बनाउन सकिने अवस्था आउने देखिन्छ । यो बेला न्यानोका लागि पनि किन्न नसक्नेहरुले त्यसलाई प्रयोगमा ल्याउन सक्नेछन् । यसरी यो कार्यबाट नसक्नेहरुका लागि बरदानको काम गर्नेछ भने सक्नेहरुकालागि पनि समाजसेवाको कार्य गर्न प्रेरणा मिल्ने देखिन्छ । उता, विश्वव्यापी रुपमा वातावरणीय प्रदूषणको चाप परिरहेको छ । यो बेला प्रदूषण बढ्ने गरी कपडाको दुरुपयोग हुनुभन्दा प्रयोग हुने गरी पुनप्र्रयोग गरिएका खण्डमा त्यसले प्रदूषणलाई पनि रोक्ने अवस्था आउने छ । यसैगरी प्रदूषण रोक्ने वा कम गर्ने अन्य खालका गतिविधिहरु पनि महानगरपालिकाको पहलमा हुनु आवश्यक छ । यसैगरी यस्ता खाले रचनात्मक कार्यहरुलाई सरोकारवाला सबैले साथ दिनु आवश्यक देखिएको छ । नेपालमा कसैले राम्रो कार्य गर्न खोजेका खण्डमा पनि त्यसको विरोध नै गर्ने परम्परा रहेकाले त्यस विपरित राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने आँट सबैले गर्नुपर्ने आजको आवश्यकता हो ।