लण्डन/ लण्डनका वरिष्ठ ब्यारिष्टरहरुसँंग भूतपूर्व गोर्खा परिवारको अध्यागमन सम्बन्धि नयाँं नियमबारे अन्तरक्रिया आयोजना गरिएको छ । यहाँस्थित ‘एभरेष्ट ल सोलिसिटर्स’ को आयोजनामा १ डिसेम्बरमा आइतबार भर्चुअल अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रियामा लण्डनस्थित ल फर्म वान पम्प कोर्टसंँग आवद्ध ब्यारिष्टरहरु जस्टिन फिसर, किलिन म्याककार्थी र डेबोरा रिभिलले गोर्खा सन्तान तथा परिवारको नयाँं परिवर्तित नियम सम्बन्धमा स्पष्ट पारेका थिए । एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले स्वागत गर्दै ब्यारिष्टरहरुको परिचय गराएका थिए । गत १३ वर्षदेखि सञ्चालनमा रहेको उक्त फर्म मार्फत अहिलेसम्म गोर्खा सन्तानका मुद्दाहरु झन्डै ९० प्रतिशत सफल गरी करिब सात हजार गोर्खालीका सन्तान बेलायत आइसकेको उनले जनाए ।
ब्यारिष्टर किलिन म्याककार्थीले भूतपूर्व गोर्खाहरुले कसरी बेलायतमा आवासीय अधिकार प्राप्त गरे र अभियान कसरी सफल भयो भन्ने चर्चा गर्दै वर्तमान परिवर्तित नीतिबारे अवगत गराएकी थिइन् । सन् २०२३ अक्टोबर ५ मा होम अफिसले गोर्खा र हङकङ सैनिकहरुका लागि नयाँ नियम परिवर्तन गरे पनि पछि उक्त नियमविरुद्ध मुद्दा परेपछि अदालतले गोर्खाहरुकै पक्षमा फैसला गरेको उनले जनाइन् ।
फस्र्ट टिएर ट्राइबुनलले नेशनालिटी, इमिग्रेसन एन्ड असाइलम एक्ट र युरोपियन महासन्धिको धारा ८ बमोजिम आवेदकलाई पारिवारिक जीवनबाट विमुख गर्न नमिल्ने भन्दै अपिल राइट्स दिन आदेश गरेको उनको भनाइ थियो । ‘अति विपन्न’ अवस्थाका भूतपूर्व गोर्खाका विधवा र तिनका सन्तान सबैलाई बेलायतले प्रवेशाज्ञा शुल्क नलिने भए पनि त्यसका लागि यथेष्ठ प्रमाण जुटाउनुपर्ने, समय धेरै लाग्ने र यसमा धेरै कानूनी झन्झट हुने उनले बताइन् ।
यसैगरी अर्की ब्यारिष्टर जस्टिन फिसरले आवेदन गर्ने तरिका र दस्तुरबारे स्पष्ट पारिन् । ब्यारिष्टर डेबोराले नेपालबाट आवेदन हाल्ने तरिका, आवेदनमा साक्षी बयान लेख्दा ध्यान दिनुपर्ने सन्दर्भ आदि बारे प्रस्ट्याएकी थिइन् । ‘कभरिङ लेटर’ मा गल्ती हुन नहुने र आफ्नो बयान झुटो हुन नहुनेमा उनको जोड थियो ।
यस्तै ठेगाना पनि सही आफू बसिरहेकै ठाउंँको हुनुपर्ने, स्पोन्सर गर्नेले आफ्ना सन्तानलाई पैसा नियमित पठाइरहेको अर्थात् आर्थिक निर्भरताबारे बुझाउन जरुरी हुने उनको धारणा छ । बैंक स्टेटमेन्ट वा अन्य कागजात नक्कली नबनाउन पनि उनले सुझाइन् । उनले लामो समय अगाडि बाबु आमा बितिसकेको भए उनीहरुको हकमा प्रवेशाज्ञा हुने सम्भावना निकै कम रहेको पनि प्रष्ट्याइन् ।
कार्यक्रममा एभरेष्ट ल सोलिसिटर्ससँग आबद्ध सोलिसिटर सैयद इमरान अलीले पनि विभिन्न जिज्ञासा मेटाएका थिए ।