नवीन पौड्याल
नेपाली लोकसाहित्य धनी छ । नेपाल, भारतका विभिन्न प्रान्त, भूटान आदि देशमा नेपाली लोकसम्पदा सम्पन्न छ । सिक्किममा पनि एउटा ठूलो नेपाली लोकसांस्कृतिक समाज छ । त्यहाँका जनमानसमा पनि आफ्नो सामाजिक राजनैतिक आर्थिक सांस्कृतिक धार्मिक परिवेश छ ।
त्यहाँ भोटे, लाप्चे, गोर्खाली (नेपाली) तीनवटा मूलबासीहरूको आ–आफ्नै सांस्कृतिक, भाषिक परम्परा छ । गोर्खालीबीचमा पनि राई, लिम्बू, मगर, खस, तामाङ, शेर्पा, गुरूङ, नेवार आदिका पनि आ–आफ्नै सांस्कृतिक, भाषिक, सामाजिक र लोकपरम्परा छ । यी सबैको मिश्रणबाट सिकिमेली लोकसंस्कृति विकसित भएको छ । यी सबै जात र जाति एकार्कामा मिलेर सांस्कृतिक माला उनेर एउटा मिश्रितसमाज गठित भएको छ ।
सिक्किमका पहाडका गाउँमा पनि आफ्नै कथा, व्यथा, अनुभव, अनुभूति हुन्छन् । आफ्नै जीवनशैली, कर्मशीलता, सामाजिक व्यवस्था छ । त्यहाँका लोकजीवन उब्जेका मनोभावहरू लोकसाहित्यमा उद्भाषित भएका छन् । त्यहाँबाट आफ्नै लोकगीत, लोककथा, लोकपरम्परा विकसित अवश्य भएको छ । तिनका बारेमा समुचित अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ । सिकिममा पालाम, धाननाच, साकेला, सङ्गिनी, मारूनी, बालन आदि हाम्रा लोकगीत परम्परा पाइन्छ ।
सिकिमका गाउँ–घर, गोठाला जाँदा, घाँस दाउरा गर्न जाँदा, हिमालका फेदीतिरओहोरदोहार गर्दा देखिएका रोचक घटना र दृश्यादिलाई कुनै कथाका रूपमा कुनै गीतका रूपमा, कुनै गाथाका रूपमा पनि विकसित भएको हुनपर्छ । कुनै घरका नारी पीडा, धनाभाव, कृषिजन्य पीडा, सुखद अनुभूतिलाई गीतका रूपमा पनि उतारेका हुनसक्छन् । तिनलाई अध्ययन र लिपिबद्ध गर्न नसकिएको पनि हुनसक्छ ।
सिक्किमका केही लोकसाहित्य र लोकवार्ता अध्येताहरूले आफ्नो आफ्नो अध्ययन, सर्वेक्षण, चिन्तन गरेका छन् । आफ्नै पारिवारिक परिवेश, सर्वेक्षण, अवलोकन आदिबाट अध्ययन–सङ्कलन कार्य सम्पन्न गरेका छन् । सिकिमबाट सम्पन्न भएका लोकसांस्कृतिक पक्षहरूलाई मूलतः पाँच प्रकारले वर्गीकरण गर्न सकिन्छ– क. लोकसांस्कृतिक सामग्री अध्ययन, ख. लोककथाको अध्ययन, ग. लोकगीतहरूको सङ्कलन सर्वेक्षण र अध्ययन, घ.लोकोक्ति उखानादि सङ्कलन अध्ययन कार्य, ङ. जातगोष्ठीगत सांस्कृतिक पक्षहरूको अध्ययन ।
क. लोकसांस्कृतिक सामग्री अध्ययन– सिक्किमका गाउँ बस्तीमा प्रचलित लोकसामग्रीहरूको अध्ययन र अवलोकन गरिएका पुस्तकहरू प्रकाशित भएका छन् । सिकिकमका भित्री गाउँहरूमा प्रचलित व्यावहारिक घरेलु बस्तुहरू, रीतिथिति, परम्परा आदिबारे अध्ययन गरिएको पाइन्छ । यस क्षेत्रमा प्रकाश भट्टराईका ‘नेपाली सभ्यताको परिचय’, (२००८), ‘नेपाली लोक परम्परा’ (२०२०) र ‘नेपाली पारम्परिक संस्कृति र सभ्यताको ढुकुटी’ (२०२३) । उनको पछिल्लो पुस्तकमा भने अघिल्ला दुईका सामग्रीहरूको एकमुष्ट र थपनी गरिएको सामग्री पाइन्छन् ।
सुचन प्रधानको पुस्तक ‘नेपाली चाडपर्वहरूको सांस्कृतिक अध्ययन’ (२०१६) नामक प्रकाशित छ । यसमा संस्कृतिको सामान्य परिचय, भारतीय चाड–पर्व, नेपाली चाडपर्वहरूको सांस्कृतिक अध्ययन गरी तीनवटा अध्ययनमा अध्ययन प्रस्तुत गरिएको छ । यय ग्रन्थलाई शोधमूलक अध्ययन ग्रन्थ मान्न सकिन्छ । यसमा कुनै पनि चाडको वैज्ञानिक अध्ययन, पृष्ठभूमि आदिको चर्दा गरेका छन् । यसमा हाम्रा सबै चाडपर्वहरूको परिचय र वर्णन गरिएको छ ।
ख. लोककथाको सङ्कलन– सिक्किमका वा सिकिकमभूमिबाट नेपाली लोककथाको सङ्कलन अध्ययन गरेर प्रकाशित गर्नेहरू पनि रहेका छन् । यसतर्फ महानन्द पौड्यालको ‘हाम्रा केही लोककथा’, पुष्प शर्माको ‘गोलसिमल’, रूद्र पौड्यालको ‘केही लोककथा’, दलमान पी गुरूङको ‘सुनकेसरी रानी’ मुख्य रहेका छन् । यी पुस्तकहरूमा नेपाली समाजमा प्रचलित प्रचलित लोककथाहरूको संकलन गरिएको छ ।
ग. लोकगीतहरूको सङ्कलन सर्वेक्षण र अध्ययन–यस क्षेत्रमा एकनिष्ठ समर्पित हुन नरेन गुरूङ । उनका लोकायनमा बाँचेका नेपाली लोकगीत–सङ्गीत र लोकदर्पणभित्र भञ्ज्याङका भाकाहरू प्रमुख हुन् । सिकिमेली लोकगीतमाथि देवकुमार दुमीले पनि लेखादि लेखेका छन् ।
घ. लोकोक्ति उखानादि सङ्कलन अध्ययन कार्य– हाम्रो उखान, तुक्का, लोकोक्ति आदिको सङ्कलन र अध्ययन कार्य सिक्किमबाट पनि भएको छ । यस क्षेत्रमा शङ्करदेव ढकाल, के.एन. शर्मा आदि रहेका छन् । शङ्करदेव ढकालको ‘उखान– लोकप्रचलित कथनको व्याख्या’ (२००७) प्रकाशित छ । के एन शर्माको ‘नेपाली लोक अभिव्यक्ति कोश’ आदि जस्ता कृति रहेका छन् ।
ङ. जातगोष्ठीगत लोकसांस्कृतिक पक्षहरूको अध्ययन–सिकिमेली लोकसंस्कृति, लोकसंस्कार, परम्परा आदिबारे सङ्कलन र अध्ययन कार्य भएका छन् । यस क्षेत्रमा के.एन. शर्मा अग्रणी छन् । उनको खस जातिको परिचय र लोकसंस्कृति, डा. कमलचन्द्र दाहालको परम्परागत सोह्र संस्कार, डा. उदय छेत्रीको सम्पादनमा रहेको अङ्ग्रेजीमा सङ्कलित पुस्तक क्ष्लतबलनष्दभि ज्भचष्तबनभ आदि प्रमुख हुन् । यो पछिल्लो पुस्तकमा अङ्ग्रेजीमा जम्मा दशवटा लेखहरू रहेका छन् । यसमा रहेका लेखमा भिम्चु, जुम्सा, बोन्बो, का–ग्युद, क्वाँटी पुन्हे, मारूनी, पाङ लाब्सोल, साकेवा, सिसे क्व तुम्हें, तीज हुन् । सन्तोष आलेको सिक्कामका मगर जाति इतिहास अनि संस्कृति, जे आर सुब्बाको लिम्बू जातिमा मृत्यु संस्कारहरू, पूर्ण योञ्जनको ‘तामाङ जातीय चिन्हारी एक झलक’ (२०२१) प्रकाशित छन् । पछिल्लो तामाङ ‘जातीय चिन्हारी एक झलक पुस्तकमा तामाङ जातिको परिचय दिँदै यसका रीतिथिति, लोकसांस्कृतिक परम्परा, विभिन्न संस्कार आदिबारे चर्चा गरिएको छ ।
यस वर्ष २०२४ मा सिक्किमका टिबीचन्द्र सुब्बाको एउटा गतिलो, विशालकायको ग्रन्थ ‘विश्वमा मानव सभ्यता, जातीय वृहत इतिहास ः संस्कृति र परम्परा’ प्रकाशित भएको छ । उनले बीस वर्ष कठोर मेहनत, श्रम र निरन्तरता लिएर तयार पारिएको ग्रन्थ नेपाली संस्कार र सांस्कृतिक अध्ययनको कोशेढुङ्गा साबित भएको छ । जम्मा बाइस सय पृष्ठहरूमा रहेको यस विशाल ग्रन्थ न भुतौ न भविश्यति भन्ने चरितार्थ भएको छ । यस ग्रन्थमा हाम्रा सबै जातगोष्ठीको उत्पत्तिदेखि लिएर इतिहास परम्परा, संस्कार पद्धतिहरूबारे विस्तृत गरिएको छ भन्ने सूचना प्रकट गर्दै यस ग्रन्थबारे यस लेखमा समावेश गरिएन । यसका निम्ति गम्भीर अध्ययन र समयको आवश्यकता पर्दछ ।
सिक्किमका केही लोकसाहित्य सङ्कलक र अध्येताहरू
सिक्किमबाट पनि नेपाली लोकसाहित्यको केही अध्ययन भएको छ । त्यहाँका स्थानीय जनगोष्ठीका पीडा सुस्केरा, लोकव्यवहार, लोकरीतिबारे केही खोजी कार्य भएको पाइन्छ । यस क्षेत्रमा केही उल्लेखनीय अध्येताहरूमा प्रकाश भट्टराई, के.एन. शर्मा, रूद्र पौड्याल, महानन्द पौड्याल, नरेन्द्र गुरूङ, पुष्प शर्मा, दलमान गुरूङ, चन्द्र दुलाल, डा.कमलचन्द्र दाहाल, शङ्करदेव ढकाल आदि प्रमुख रहेका छन् । यी अध्येताहरूको पुस्तककार रूपमा अध्ययन सङ्कलन कृति रहेका छन् । यीबाहेक पृथिवीराज सुब्बा, देवकुमार दुमी, डा.उदय छेत्री आदि रहेका छन् । तीमध्ये केही प्रमुख सङ्कलक र अध्येताहरूका बारेमा संक्षिप्तमा प्रकाश पारिन्छ–
प्रकाश भट्टराई– पश्चिम सिकिकमका प्रकाश भट्टराई लोकसांस्कृतिक परम्पराका रूपमा देखिएका छन् । उनका नेपाली लोकपरम्परा ग्रन्थले हाम्रो लोकपरम्परा, लोकरीति, लोकवस्तु, लोकव्यवहार, लोकचिकित्सा, लोकबाजा, लोकसामग्री, लोकमनोरञ्जन, लोकखाद्य आदि विषयमा विस्तृत अध्ययन–विवरण गरेका छन् । हाम्रो पुर्खा नै वैज्ञानिक थिए, उनीहरूले आफ्नो दैनिक जीवनमा चाहिने सामग्रीहरू वैज्ञानिक तवरले तयारी पार्दथे भन्ने यस ग्रन्थको टेक रहेको बुझिन्छ । प्रस्तुत ग्रन्थ २३७ पृष्ठहरूमा आवद्ध छ भने यसमा ‘वल्लोपट्टि’ र ‘पल्लोपट्टि’ गरी दुई खण्डमा जम्मा २६ वटा मूल अध्ययनहरू रहेका छन् । यसमा ‘वल्लोपट्टि’ खण्डमा सोह्रवटा र ‘पल्लो पट्टि’ मा एघारवटा लेखहरू रहेका छन् । यहाँ केही घरेलु बस्तुका निर्माण प्रक्रियालाई कौशलका रूपमा प्रस्तुत गरिएका छन्– ध्वनि कौशल, शिला कौशल, काष्ठ कौशल, धातु कौशल गरी चारवटा देखिन्छन् । यद्यपि चुँदार र औजारहरू, नेपाली सभ्यतामा आरन र यसको महत्व आदि लेखहरू पनि कौशलसित सम्बन्धित नै हुन् ।
चन्द्र दुलाल– चन्द्र दुलालको हाम्रो चिनारी नाम पुस्तकमा पनि हाम्रा घरेलु लोकसामग्रीहरूको परिचयात्मक अध्ययन गरेका छन् । यसका बस्तुहरूको सूचीकृत गरी तिनका बारेमा छोटो छोटो परिचय दिइएको छ । यसमा नेपाली घर, साइनु–सम्बन्ध, आहार, भाँड़ाकुँड़ा, बस्त्र बिछ्यौना, हात हतियार, गरगहना, नृÞत्य–गीत, वाद्यवादन, चाड–पर्व, संस्कार, हाम्रो केही लोक विश्वासहरू र कतिपय लोकप्रिय र लोप हुन लागेका शब्दहरू जस्ता शीर्षक दिएर तत्तत विषयसम्बन्धित शब्दहरूको सङ्कलन र तिनको अर्थ र छोटो छोटो विवरण प्रस्तुत गरिएको छ ।
नरेन गुरूङ– दार्जीलिङ सिक्किम असम आदि स्थानहरू नै नेपाली लोकगीतका स्थान हुन्, जहाँबाट लोकगीतहरूको विकास भएको पाइन्छ । यसै क्रममा सिक्किमका नगेन्द्र गुरूङ पनि नेपाली लोकगीत सम्वद्र्धन र प्रवद्र्धन गर्न कम्मर कसेका छन् । उनी नेपाली लोकगीत, नृत्य र लोकसङ्गीतका अनुसन्धाता, सङ्कलक र स्वयम् कलाकार हुन् । उनी एक लोकसाहित्यका लेखक पनि हुन् । उनले हालसम्म नेपाली लोकगीत र लोकसङ्गीतसम्बन्धित दुईवटा पुस्तक प्रकाशित गरेका छन् । १. लोक दर्पणभित्र भञ्ज्याङका भाकाहरू (२०१७) र २. ‘लोकायनमा बाँचेका नेपाली लोकगीत–सङ्गीत (२०२१) । हालसम्म उनका तेह्रवटा लोकगीत अल्बम रेकर्ड गरेका छन् ।
के.एन. शर्मा– यसैगरी लोकसाहित्य र लोकसंस्कृतिलाई परिचय दिने क्रममा सिक्किमका के.एन. शर्मा पनि एक अध्येता र चिन्तक हुन् । उनको २०१७ मा गहन अध्ययन गरी लेखेको पुस्तक खस जातिको परिचय र लोकसंस्कृति नाम पुस्तक प्रकाशित गरेका छन् । यसमा खस जातिको परिचय, खसहरूका थरहरू, भाषा, पहिरण, जीवन यापनका पेशाहरू, धाम–झाँक्री र शमन विधि, पारम्परिक पूजाआजा, घरेलु सामाग्री, साइनो सम्बन्ध, लोक आस्था र देवी देवताहरू, खसका चाडपर्व र उत्सवहरू तथा खसका खेलहरू आदि विषयमा सम्यक अध्ययन प्रस्तुत गरिएका छन् । खस अध्ययनका निम्ति शर्माको उक्त पुस्तक अत्यन्त उपयोगी छ । यसमा खसेली परम्पराका बिवाह, रीतिथिती आदि कुरामा निकै अध्ययन गरिएको पाइन्छ । नेपाली लोकसांस्कृतिक अध्ययनमा यस पुस्तकलाई पनि आधिकारिक मान्न सकिन्छ । यसमा इतिहास, सन्दर्भग्रन्थ लोकरीति आदिका आधारमा अध्ययन अनुसन्धान गरी लेखहरू तयार पारिएको छ । यसैगरी उनको लोकअभिव्यक्ति कोश पनि नेपाली लोक वाङमय अध्ययनका निम्ति एक उत्कृष्ट ग्रन्थ बनेको छ । जम्मा ८६१ पृष्ठहरूमा विशालकाय यस ग्रन्थमावर्णानुक्रममा अदेखि हसम्म नेपाली वाग्धाराहरूको सङ्कलन, तिनका अध्ययन, उदाहरण प्रस्तत गरिएको छ । हाम्रो समाजमा चलेका वाग्धाराहरूको यति विघ्न रहेछन् भन्ने कुरा जानिन्छ । लेखकको यो कार्य अत्यन्तै श्रमसाध्य र स्तुत्य छ ।
महानन्द पौड्याल– महानन्द पौड्यालद्वारा संकलित हाम्रा केही लोककथामा लोकतत्वका विविध पक्षहरू देखापर्छन् । यसमा लोकविश्वास, लोकव्यवहार, लोकसंस्कृति, लोकरीतिका विभिन्न कुराहरू पाइन्छन् । यसमा संकलित गोलसिमल लोककथामा लोकतत्व सबैभन्दा बढी पाइन्छन् । यस संग्रहभित्रका बाघ र बिरालो,किन रून्छन् कुर्ले ढुकुर?, चौंरी र भैंसी, इत्यादि पशुकथाहरू हुन् भने नीतिकथाहरू पनि पाइन्छन् । यसभित्र नैतिक उपदेश, लोकव्यावहारिक कुराहरू पाइन्छन् । यस सङ्ग्रहको अभिव्यक्त भाषा र शैली पनि लोक–लवज र लोकभाषामा नै बढी गरिएको छ ।यसमा प्रयुक्त कतिपय शब्दहरू ठेट ग्रामीण र लोकमा प्रचलित नै पाइन्छन् । यसको आयाम छोटो भएता पनि भारतमा नेपाली लोककथा संकलन कार्यमा महत्वपूर्ण स्थान ओगटेको छ ।
पुष्प शर्मा– डा. पुष्प शर्माको गोलसिमल नामको लोककथा सङ्कलन प्रकाशित छ । यसमा आपूmले आफ्नी आमाको मुखबाट र सिक्किमतिर सुनेको लोककथाहरूलाई उक्त लोककथासङ्कलनमा प्रस्तुत गरिएको छ । यसको भूमिकामा गोपालप्रसाद दाहाल र बलराम पाण्डेले लोककथाको सैद्धान्तिक पक्ष र यसभित्र रहेका लोककथाहरूकाबारे प्रकाश परिएको छ । यसमा जम्मा चौधवटा लोककथागीतहरू समावेश गरिएको छ । यस रहेका लोककथाहरू प्रचलित नै हुन् तर पाठभेद पनि रहेका छन् । यसमा लेप्चा लोककथा, लिम्बु लोककथा, किरात लोककथा, खसेली लोककथा आदि पनि समावेश छन् । यसमा सङ्कलन गरिएका लोककथाहरूले हाम्रो समाजको विभिन्न पक्षहरूको प्रतिनिधित्व भएको छ । सौतेनी डाह, लोभ–लालच, प्रेम, आमा–बाबु हेर्ने कर्तव्य आदि जस्ता विषयवस् रहेका छन् । यसमा रहेका दुई तीन लोककथाहरू पहिलो पटक गोलसिमलमा संग्रहीत भएका छन् ।
रूद्र पौड्याल– सिक्किमका एक विद्वान र साहित्यिक अध्येता रूद्र पौड्याललाई पनि लोककथा सङ्कलकका रूपमा पाइन्छ । उनको लोककथा सङ्ग्रहमा जम्मा चौधवटा लोककथाहरू सङ्गृहीत छन् । सङ्कलक आफैं गाउँमा बस्ता ठूलाबड़ाका मुखबाट सुनेका पढेका कुरालाई पुनर्लेखन गरेका छन् । कतिपय सिक्किमकै गाउँ–घरका सिर्जित लोककथाहरू पनि समावेश छन् । यसमा रहेका लोककथाहरूमा चोर र चण्डाल, बाठो मूर्ख, दश वचने आमा–बीस वचने छोरी, नारद बुद्धिले बाँचे, बुद्धिको काम, तीन छोराहरू, सेती र काली छोरी, डेढ़ हाते मान्छे, तीन गफाड़ीहरू, केही छोटा दन्त्य कथा, आमाको मायी, आँखा पैंचो माग्ने कथा, बहिराहरूको पारिवारिक कथा, आहारिसे मान्छे र गुणी पशुको कथा, आखिर हार मान्नै प¥यो । यसमा रहेका लोककथाहरूले मानव जीवनका विभिन्न स्वभाव र प्रवृत्ति इँगित गरेका छन् । पशुकथा, नीतिकथा, पारिवारिक लोककथाहरू रहेका छन् ।
दलमान पी. गुरूङ– सिक्किम नाम्चीका दलमान गुरूङको पनि सुनकेसरी रानी ( २०१९) नामको सानो पुस्तिका प्रकाशित छ । यसमा सातवटा छोटा छोटै लोककथाहरू सङ्गृहीत छन् । यसमा रहेका लोककथाहरू हुन्– ‘पश्ताताप’ ‘गौतमी’, ‘सुनकेसरी रानी’, ‘विश्वासघात’, ‘चिहान’, ‘सर्वशक्तिशाली राजा’, ‘भालु र स्याल’ । यी सातवटा लोककथाहरू प्रायः सुनिएका परिचित नै हुन तर केही पाठभेद भने रहेका छन् । जस्तो सुनकेसरी रानी लोककथामा अन्य पात्र पनि गाँसिएका छन् ।
लोकसाहित्य पत्रिका र पत्रिका विशेषाङ्क–
स्रष्टा, निर्माण, अर्चना, सिक्किम एकाडेमी जर्नल, कनका, प्रक्रिया आदि जस्ता सिक्किमका केही पत्रिकाहरूमा नेपाली लोकसाहित्य र लोकसांस्कृतिक विशेषाङ्कहरू प्रकाशित गरेका छन् । पश्चिम सिक्किम साहित्य प्रकाशनको मुखपत्र स्रष्टाको वाङमय विशेषाङ्कमा पनि लोकसाहित्यिक अध्ययन सामग्री पाइन्छन् । विशेषगरी १९८९ मा प्रकाशित स्रष्टाको वाङ्मय विशेषाङ्कमा केही लोकसाहित्यिक र लोकसांस्कृतिक लेखादि समावेश छन् । अर्चना, निर्माण र प्रक्रिया जस्ता पत्रिकाहरूले पनि सिक्किमेली लोकसाहित्यिक र लोकसांस्कृतिक परम्परामाथि केही लेख प्रकाशित गरेका छन् । यसैगरी निर्माण पत्रिकाको संस्कृति अङ्क भने निकै गहकिलो र धेरै लेखादिले युक्त रहेको छ । यसले लोकसंस्कृति र लोकपरम्पराबारे धेरै गहिरो अध्ययन गरेको छ ।
निर्माणको संस्कृति अङ्क – सन् १९९९ मा प्रकाशित निर्माणको संस्कृति अङ्क नेपाली लोकसाहित्य समाज, संस्कृति आदि अध्ययनका निम्ति अत्यन्तै महत्वपूर्ण ग्रन्थ बनेको छ । यसमा नेपाली महाजातिका विभिन्न जात जातिका पारम्परिक संस्कार, संस्कृति, लोकरीति आदिबारे विभिन्न लेखादि रहेका छन् । यसमा जम्मा ९२० जति पृष्ठहरू रहेका छन् । यसमा खण्ड क– मा संस्कृतिको सैद्धान्तिक विवेचनपरक पच्चीसवटा लेख, खण्ड– ख मा जाति भाषा र लिपिमा जम्मा ३५ वटा लेख, खण्ड– ग अन्तर्गत कला, संगीत र लोकपरम्पराबारे १० वटा लेख, खण्ड घ मा विविधअन्तर्गत १३ वटा गरी जम्मा ८३ वटा गहकिला र शोधमूलक लेखहरू समावेश भएका छन् । यसमा नेपाल र भारत दुवै तर्फका विद्वान–अध्येताहरूको संस्कृतिकाबारेमा लेखहरू नेपाली साहित्यको अध्ययनमा माइलखुटी साबित भएको छ । यसमा हाम्रा समस्त जातरोष्ठीका विभिन्न संस्कार र संस्कृतिका साथै हाम्रो साझा संस्कृतिबारे सम्यक् छलफल र अध्ययन प्रस्तुत गरिएको छ ।
स्रष्टाको वाङ्मय अङ्क– पश्चिम सिक्किम साहित्य प्रकाशनको पत्रिका स्रष्टाको वाङ्मय विशेषाङ्क निकै महत्वपूर्ण रहेको छ । यसमा लोकसाहित्य र लोकसंस्कृतिका बारेमा केही लेख समावेश छन् । यसमा रहेका लेखादिले केही जात र जातिका विभिन्न संस्कार र लोकतत्वलाई प्रकाश पारिएको छ ।
उपसंहार– नेपाली लोकसाहित्य, लोकसंस्कृति र लोकपरम्पराको अध्ययनमा सिक्किमको पनि योगदान रहेको छ । सिक्किम पनि नेपाली सांस्कृतिक केन्द्र हो । सिक्किम पनि साझा फूलबारी हो जहाँ विभिन्न जातजातिका सांस्कृतिक फूलहरू फुल्ने गर्छन् । त्यहाँका हिमाल र पहाडका गाउँ–घरतिर भोटेलाप्चे र नेपाली संस्कृति एकीकृत रूपमा प्रवाहित हुन्छ । शान्त, सुन्दर सिक्किमका जनजीवनका अनुभव र अनुभूतिहरू त्यहीँ सिर्जना भएर लोकपरम्पराको रूपमा अघि आएको छ । सिक्किममा आफ्नै प्रकारको लोकसाहित्य र लोकसंस्कृति विकसित भएको छ । यहाँबाट लोकगीत, लोककथा, लोकसंस्कृति आदिबारे त्यहीकै अध्येता, अनुसन्धाताहरूले अध्ययन अनुसन्धान गरिरहेका छन् ।
सिक्किमका केही यस्ता अध्येताहरूमा मुख्यतः के.एन. शर्मा, प्रकाश भट्टराई, महानन्द पौड्याल, नरेन्द्र गुरूङ, पुष्प शर्मा, बलराम पाण्डे, पृथिवीराज सुब्बा, रूद्र पौड्याल आदि लोकसामग्रीको अध्ययन अनुसन्धानमा लागिपरेका छन् । अझ नयाँ पीँढीका अनुसन्धाताहरूले अझै काम गर्न सक्छन् भन्ने कुरामा आशा गर्न सकिन्छ ।