कौशल कुमार भट्टराई
भक्तपुर/नेपालको राजनीति ध्रुवीकृत हुन थालेको छ । नेपालको राजनीति परिस्थिति अनुसार धु्रवीकृत हुने गरेको अवस्थामा पछिल्लो समयमा भने भिन्नै प्रकारको धु्रविकरण देखिएको हो । पहिले प्रजातन्त्रवादी र साम्यवादी (कम्युनिष्ट) हरुका बीचमा ध्रुविकरण हुने गरेको थियो । पछिल्लो समय भने त्यस विपरित राजावादी र गणतन्त्रवादीका बीचमा धु्रविकरण हुन थालेको देखिन्छ । विगतमा भन्दा अहिलेको अवस्था अलिक फरक देखिएकाले पनि त्यसको राजनीतिक विश्लेषण भइरहेको छ । पछिल्लो समयमा देखिएको फरकधारका कारण नेपालको राजनीति नै तरंगित अवस्थामा पुगेको छ । राजतन्त्रको समाप्तिसँगै मुलुकमा गणतन्त्र स्थापना भएको अवस्थामा फेरि पनि राजतन्त्र नै चाहिन्छ भन्ने आवाज जबर्जस्त रुपमा उठ्न थालेको छ । राजावादीहरुकै कारण मुलुकको सत्ता र प्रतिपक्षमा रहेका दलहरु समेत सोचनीय अवस्थामा पुगेको स्थिति अहिले देखिएको छ । सरकार संचालकहरु नै त्रसित अवस्थामा रहेको तथा यही मामलाले उस्तै परे सत्तासमीकरण नै फेर बदल हुन सक्ने अवस्था आइरहेको भन्ने कुरा आउन थालेको छ ।
राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले राजगद्दी त्याग्दा दिएको वक्तव्यमा ‘जनताको नासो जनतालाई नै फिर्ता गरेको’ भन्ने वाकांश राखिएको थियो । यसरी सहज रुपमा राजगद्दी त्यागेका राजा ज्ञानेन्द्रले गत फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा भने आफूले जुन उद्देश्यका लागि भनी राजगद्दी त्यागेको थिएँ सो अनुसारको कार्य मुलुकमा नभएको भन्ने आशय उल्लेख छ । यसैगरी यस्तो अवस्थामा मुलुकले निकास चाहिरहेको तथा आफूलाई साथ दिन नेपालीजनसँग आग्रह गरेको अवस्था छ ।
राजा ज्ञानेन्द्रको उक्त सन्देशका कारण नेपालको राजनीति नै तरंगित बन्न पुगेको छ । उक्त सन्देशसँगै राजतन्त्र स्थापित गरिनुपर्छ भन्ने मान्यता लिएका मानिस तथा संस्थाहरु सक्रिय बन्न पुगेका छन् । यसैगरी राजनीतिक रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, रा.प्र.पा. नेपाल मात्र नभई राजालाई स्थापित गराएरै छाड्ने भनी अभियान चलाएका दुर्गा प्रसाइँलगायतका समूहहरु अहिले उत्साहित बन्न पुगेका छन् । गत फागुन २५ गते राजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किने क्रममा जनसागर स्वागतमा उत्रिएको थियो । राजाको स्वागतमा जनसागर उर्लिएको अवस्थामा दलका नेताहरु त्रसित बन्न पुगेका छन् । तराईमा आफ्नो दलको कार्यक्रम चलाई रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल दलको कार्यक्रम स्थगित गर्ने अवस्थामा पुगेका थिए ।
अधिवक्ता भवानीप्रसाद अधिकारी पछिल्लो राजनीतिक अवस्थाको विश्लेषण गर्दै भन्छन्, ‘दलका नेताहरुले गरेका गल्तीहरुका कारण राजतन्त्रको पक्षमा माहोल बन्दै गएको छ । राजा जाने ठाउँमा जनसागर उर्लिनु तर दलका नेताहरु जाने ठाउँमा सबै निकाय परिचालन गर्दा पनि सीमित मानिसहरुमात्र जम्मा हुने गरेको अवस्था छ । फागुन ७ गतेपछिको अवस्थालाई हेर्ने हो भने माओवादीले उक्त अभियान सञ्चालन गरी नै रहेको भए त्यहाँबाट नेताहरु लखेटिनुपर्ने अवस्था आउने कुरालाई मध्यनजर गरी दाहालले कार्यक्रम नै स्थगित गरेका थिए ।’
अधिवक्ता अधिकारी भन्छन्, ‘त्यो बेला पनि विदेशीकै षडयन्त्र र इसारामा गणतन्त्र स्थापना गरिएको कुरा अहिले प्रष्ट हँुदै गएको छ । यस्तो स्थितिमा नेपालीजन गाउँदेखि सिंहदरबारसम्म धेरै महाराजाहरुलाई स्थापित गर्नु भन्दा एउटै राजा राखिनु उचित हो भन्ने पक्षमा खुल्न थालेका देखिन्छ ।’ उनका अनुसार राजावादीहरुलाई कम नआँकी सही निकासका लागि सरकार तथा दलहरु समयमै लागिहाल्नु उचित हुने देखिन्छ ।
गत फागुन २५ गते राजा वा राजतन्त्रको पक्षमा वकालत गर्ने सबै पंक्ति एक स्थानका पुगेका थिए । उनीहरुको आ–आफ्नै अस्थित्व रहे पनि राजाको नाममा गोलबद्ध हुने कार्य भएको थियो । त्यसरी राजालाई साझाको रुपमा लिएका उनीहरुले सरकारलाई चुनौती दिएका छन् । यस क्रममा राजावादी पुराना नेता नवराज सुवेदीको संयोजकत्वमा जनआन्दोलन गर्न भनी केन्द्रीयस्तरको समिति नै बनाइएको छ । उक्त समितिमा सबै खाले राजावादीहरुलाई समेटेर जनआन्दोलन गर्ने सोच बनाएको छ ।
यसरी गठित समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल सहित राजाको समर्थनमा उत्रिदै आएका सबै पक्षलाई समेट्ने प्रयास गरिएको छ । यसरी राजावादीहरु संगठित भइरहेको अवस्थामा सत्तासीन दलहरु तथा गणतन्त्रको पक्षमा वकालत गर्दै आएका दलहरु अत्तालिन पुगेका छन् ।
यही चैत्र १५ गते राजावादीहरुले काठमाडौंमा शक्ति प्रदर्शनी गर्ने भनिएको छ । त्यसैगरी समाजवादी मोर्चाको नाममा पनि सोही दिन शक्ति प्रदर्शनी गरिने भनी कार्यक्रम सार्वजनिक गरिएको छ । मोर्चाले बागमती प्रदेशस्तरबाट जनता उतार्ने भनेको छ । त्यही दिन राजावादीहरुले पनि कार्यक्रम राख्ने हुँदा दुवै धुवमा के कति मानिसको उपस्थिति होला त्यसले पनि राजनीति कुन दिशातर्फ जाला भनी आंकलन गर्न मिल्ने अवस्था रहने बताइन्छ ।
राजावादीहरुको शक्ति यसरी बढोत्तरी हुनुमा हालका दलका नेताहरुको चरित्र नै पर्याप्त रहेको विश्लेषण गरिँदै आएको छ । यसरी राजावादीहरुले चुनौती दिएको अवस्थामा सत्ता र प्रतिपक्षमा रहेका दलहरु नै सोचनीय अवस्थामा पुगेका छन् । उनीहरु राजावादीहरुलाई टाउको उठाउन नदिने भनी उस्तै परे राष्ट्रिय सरकारको अवस्थासम्मलाई सोच्न पुगेका छन् । यसैक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बीचमा वार्ताहरु भैरहेका छन् । पानी बाराबारको स्थितिमा रहेका नेताहरु पनि राजावादीहरुको शक्ति प्रदर्शनले सशंकित अवस्थामा पुगेका छन् ।
उता, परराष्ट्रमन्त्री डा.आरजु राणाको भारत भ्रमणलाई लिएर विभिन्न आशंका गर्न थालिएको छ । एक सातादेखि भारतमै रहेकी राणालाई एकथरीले एमालेबाहेकको नयाँ सरकारको समीकरण बनाउन गएको भन्दै आएका छन् । अर्काथरी भने उनी त्यहाँ राजतन्त्रलाई स्थापित गराउने कार्यका लागि माहोल बन्दै गएको अवस्थामा त्यसलाई बल पु¥याउन भनी गएकी भन्ने कुरा गर्न थालेका छन् ।
यस्तो अवस्थामा मुलुकको राजनीति भने दुई धारमा कित्ताकाट हुन थालेको छ । देशको परिस्थितिको सही विश्लेषण गरी मुलुकको समस्यालाई नेपालीजनबाटै समाधान खोजिनु उचित हुने भन्ने धारणा बौद्धिक वर्गबाट आउन थालेको छ । यस्तो अवस्थामा राजादेखि सरोकारवाला सबै एक स्थानमा बसी समाधान खोजिनु उपयुक्त हुने तर विदेशीलाई खेल्न दिइनु नहुने भन्ने कुरामा बौद्धिक वर्गको मत जाहेर हुन थालेको छ ।