नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले यसलाई पारित गरेको हो । सिंहदरबारमा बसेको समितिको बैठकले सर्वसम्मत रूपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । सरकारले यो ऐनलाई दोस्रो पटक संशोधन गर्न विधेयक ल्याएको थियो । नेपाली नागरिकलाई नागरिकताविहीन हुने अवस्था अन्त्यका लागि सरकारले ल्याएको उक्त विधेयक पारित भएको हो । त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार गठन भएको ११ महिनामा नीतिगत, कानूनी र संरचनात्मक सुधार गर्ने क्रममा रहेको र त्यसमा नागरिकतासम्बन्धी विषय महत्वपूर्ण रहेको बताउनु भएको थियो ।
यो संशोधनको मुख्य विशेषता भनेको बाबुको पहिचान नखुलेको अवस्थामा आमाले स्वघोषणा गरे त्यस्ता व्यक्तिलाई नागरिकता दिने विषय हो । यस्तो अवस्थामा आमाको थरबाट उनको सन्तानले नागरिकता पाउने अवस्था आउने हुन्छ । यसरी नागरिकता पाएका खण्डमा बाबुको पहिचान नभएका धेरै मानिसहरुले आमाको नाम र थरबाट नागरिकता पाउने अवस्था आउँछ । यसका लागि विधेयकमा नेपाली आमा र विदेशी बाबुबाट जन्मेका सन्तानले अन्य देशको नागरिकता नलिएको भए अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था पनि गरिएको छ ।
नागरिकता वितरणका कानूनी जटिलता हटाउन भन्दै सरकारले प्रतिनिधिसभामा माघ १५ गते विधेयक दर्ता गरेको थियो । सरकारको यो विधेयक पारित भएसँगै आमाको नाम र थरबाट उनको सन्तानले नागरिकता पाउन सक्ने अवस्था आएको छ । संविधानले आमाको नाम र थरबाट नागरिकता पाउने व्यवस्था गरे पनि कानूनको अभावमा त्यसले व्यवहारमा मान्यता पाउन गाह्रो अवस्था थियो । त्यस्ता खालका मानिसहरुको नागरिकताको लागि स्थानीय वडा कार्यालयले नागरिकताको सिफारिस नगरिदिने तथा सिफारिसको अभावका जिल्ला प्रशासन कार्यालयले पनि नागरिकता नदिने गरेको थियो । यसरी कानूनको अभावमा आमाको नाम र थरबाट नागरिकता पाउन वंचित रहँदै आएका व्यक्तिहरुका लागि अब भने बाटो खुलेको अवस्था छ । यो व्यवस्थासँगै केही समस्याहरु पनि देखिएका छन् । जस्तो कि नेपालको नागरिकता लिई विदेशीसँग विवाह गरेका महिलाहरुले जन्माएका सन्तानले नेपालको नागरिकता लिन चाहेमा पाउने अवस्था देखिन्छ । यसका लागि विदेशी मुलुकको नागरिकता नलिएको भए अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको छ । यसको दुरुपयोग हुने संभावना बढी छ । यसैगरी यो विधेयकमा गैर आवासीय नेपालीले प्राप्त गर्ने नागरिकताका विषय संविधानमा नै उल्लेख भएकाले थप व्यवस्था अहिले नगरिएको अवस्था छ । गैर आवासीय नेपालीका विषयमा छुट्टै विधेयक ल्याउन लागिएको छ । यो कानूनी व्यवस्थाको सही प्रयोग गरी आमाको नाम र थरबाट पनि नागरिकता पाउने व्यवस्थाको सदुपयोग गर्नका लागि सबै सरोकारवाला निकायहरुले इमान्दारिता देखाउनु जरुरी छ ।
आमाको नाम र थरबाट नागरिकता स्वागतयोग्य
Facebook Comments Box
