दोधारे नीतिमा एमाले

Nayabimarsha (Weekly Newspaper from Nepal)

गठबन्धन ढाँचा बनाउँदै || साना दल अलमलमा

भक्तपुर | स्थानीय चुनावको मिति नजिकिंदै जाँदा राजनीतिक दलहरु निर्वाचनको परिणामलाई के कसरी आफ्नो पक्षमा पार्न सकिएला भनी रणनीति बनाउनमा ब्यस्त देखिएका छन् । सत्तारुढ घटकहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवाद), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीले आगामी निर्वाचनमा के कसरी जाने भनी आफ्नो ढाँचा तयारी गर्दै गरेको अवस्था छ । सत्तारुढ गठबन्धन रहेको अवस्थामा धेरै ठाउँमा जित निकाल्न सकिने भन्ने बुझाइका कारण पनि यस पटक उनीहरु एउटै कित्तामा उभिने तयारी गरिरहेका छन् । उनीहरुले यसका लागि सकेसम्म स्थानीय निकायसम्म नै तालमेल तथा गठबन्धन गरी साझा उम्मेदवार बनाउने प्रयास गरिरहेका छन् । केन्द्रमा यस्तो नीतिका साथ कार्य भैरहेको जानकारी पाएका स्थानीय तहमा क्रियाशील दलहरु समेत यसको तयारी जुटिरहेको पाइएको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा सत्तागठबन्धनले बनाएको निर्वाचन तयारी तथा अनुगमन समितिले यही सोमबार बैठक बसी गठबन्धनको ढाँचा तयारी थालेको कांग्रेसका महामन्त्री गगनकुमार थापाले जानकारी दिए । उनका अनुसार आइतबार अर्थात चैत २६ गतेभित्र जिल्लाका बस्तुगत अवस्थाबारे प्रतिवेदन पठाउन आग्रह गरिएको छ । उक्त समितिको बुधबार बसेको बैठकले २६ गतेभित्र बस्तुगत अवस्था पठाउन भनिएको तथा त्यसको लगत्तै बैठक बसी ठोस निर्णयमा पुग्ने निर्णय गरेको हो । उक्त बैठकमा तालमेलको ढाँचाबारे कुनै छलफल भएन ।

यसरी ढाँचा तय नभए पनि यसअघिको निर्वाचनमा आएको मतका आधारमा तालमेल गर्ने वा अन्य कुनै नीति अवलम्बन हुनसक्ने भनी सहभागीहरुले जानकारी दिएका छन् । बैठकमा पाँच दलको साझा उम्मेदवारका लागि न्यूनतम मापदण्ड तय गरेर जान पनि सदस्यहरुले सुझाव दिएका थिए । त्यसो त गठबन्धनको विषयमा कांग्रेस भित्र केही व्यक्तिहरु गठबन्धन गरिनु नहुने भन्ने पक्षमा देखिएका छन् । उनीहरु अहिलेको अवस्थामा कांग्रेसले एक्लै उम्मेदवारी दिंदा बहुमत स्थानभन्दा बढीमा जित हासिल हुने अपेक्षा गरिरहेका छन् । केन्द्रमा रहेका केही नेताहरुले यस्तो धारणा राख्दै गर्दा विभिन्न जिल्लाहरुमा गठबन्धन बनाएर जानु पर्ने भन्ने धारणा दह्रो रुपमा अघि आइरहेको छ । कतिपय जिल्लाहरुले जिल्लास्तरमा गठन्धनमा रहेका दलहरुका बीचमा बैठक गरी गठबन्धनलाई कायमै राख्ने निर्णय समेत गरिसकेको पाइन्छ । यो क्रम बढ्दो छ ।

कतिपय जिल्लाहरुमा त जिल्ला भरीका स्थानीय निकायहरुलाई आधार बनाउँदै सबैमा गठबन्धन गरेर जाने तयारी थालिसकिएका समाचारहरु आइरहेका छन् । उनीहरु केन्द्रको निर्देशनलाई पर्खिने भन्दा पनि जिल्ला तथा स्थानीय निकायको आवश्यकतालाई आधार बनाउँदै गठबन्धनको पक्षमा उभिन थालेका छन् । एकाध जिल्लामा गठबन्धनको विषयलाई लिएर केही विवाद देखिए पनि पछिल्लो समयमा गठबन्धनको पक्षमा माहौल बन्दै गएको छ ।

गठबन्धनका लागि भरतपुर, विराटनगर, पोखरा, काठमाडौं र वीरगञ्ज महानगरपालिकाको प्रमुखको विषयलाई लिएर केही विवाद देखिएको अवस्था छ । पहिले जसले जितेको थियो उसैलाई प्रमुख दिने गरी नीति बनाइएको खण्डमा पनि भरतपुरको विषयलाई लिएर विवाद हुने अवस्था देखिएको छ । भरतपुर महानगरपालिकामा यसअघिको निर्वाचनमा कांग्रेसको मतको आधारमा माओवादी केन्द्रबाट रेणु दाहाल थोरै मतान्तरले विजयी भएकी थिइन् । त्यसैले यस पटक पनि माओवादीलाई नै छोडिएका खण्डमा माओवादी केन्द्रलाई जिताउन गाह्रो हुने विश्लेषण चितवनका कांग्रेसजनले गर्दै आएका छन् । माओवादी केन्द्रको जनाधार तुलनात्मक रुपमा कमजोर देखिएका कारण यस पटक उसले कांग्रेसलाई सहयोग गरेका खण्डमा गठबन्धनले जित निकाल्ने तथा आगामी प्रदेश र संघको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र भरतपुरका प्रमुख रेणु दाहाललाई समेत कांग्रेसले सहयोग गर्न सक्ने भन्ने कुरालाई अघि सार्ने कार्य कांग्रेसका नेता कार्यकर्ताले गर्दै आएका छन् ।

यसैगरी वीरगञ्जमा यसअघि जसपाका उम्मेदवारले प्रमुखमा जितेका थिए । त्यसरी जितेका विजय सरावगी हाल नेकपा (एमाले) मा प्रवेश गरी एमालेका तर्फबाट उम्मेदवार बन्ने तयारीमा छन् । यस्तो अवस्थामा वीरगञ्जमा यसअघि थोरै मतले पराजय भोगेको कांग्रेसले यस पटक कांग्रेसलाई प्रमुख दिनुपर्ने माग गर्दै आएको छ । यसअघिको निर्वाचनमा कांग्रेसका तर्फबाट उपप्रमुखको उम्मेदवारले सानदार जित निकालेका तथा प्रमुखमा थोरै मतले हारेका कारण पनि कांग्रेसले प्रमुखमा दाबी गर्दै आएको छ । उता, जसपाले आफ्नो दलको तर्फबाट निर्वाचित प्रमुख एमालेमा गए पनि त्यसले दलमा खासै असर नगर्ने भन्दै महानगर मिलाउने नाममा वीरगञ्जमा अन्य दलले दाबी नगरेको राम्रो भन्दै आएको छ । त्यसो त यसअघिको निर्वाचनमा विराटनगर महानगरपालिकामा तेस्रो स्थानमा रहेको जसपाले अहिले त्यहाँ पनि प्रमुखको दाबी गर्दै आएको छ । उक्त निर्वाचनमा अन्य दलहरुले गठबन्धन बनाएर निर्वाचन लडेको अवस्थामा पनि विराटनगरमा एक्लै भिडेको कांग्रेसले प्रमुख र उपप्रमुख दुवैमा सानदार जित निकालेको थियो । यस्तो अवस्थामा विराटनगरमा अन्यले दाबी गर्नू नहने भन्ने धारणा कांग्रेसले राख्दै आएको छ ।

यसैगरी पोखरा र काठमाडौं महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीले दाबी गर्न थालेको छ । एमालेले जितेका महानगरपालिकाहरुमा आफ्नो दाबी रहने भन्ने मान्यतामा एकीकृत समाजवादी देखिएको छ । अन्य दलहरु भने एमाले जितेका स्थान बाँडफाँड गरिनुपर्ने तथा अघिल्लो निर्वाचनमा जितेकाहरुलाई जितेका स्थानहरु दिइनु उचित हुने भन्ने मान्यतामा रहेका पाइन्छन् ।

एमाले दोधारमा

सत्तारुढ दलहरु यस्तो तयारीमा रहँदै गरेको स्थितिमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने दोधारमा उभिएको छ । दलमा आएको विभाजनले विछिप्त अवस्थामा रहेको एमाले आफ्नो दलमाथि विभाजनको असर परेको छैन भनी देखाउन लागिपरेको छ । त्यसकालागि एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीदेखि लिएर एमालेका नेताहरु आफ्नो दल कसैसँग तालमेल वा गठबन्धन नगर्ने पक्षमा रहेको भन्ने अभिव्यक्ति दिंदै हिंडेको देखिन्छन् । तर, भित्रभित्रै भने ओली विभिन्न साँठगाँठको तयारीमा रहेका समाचार स्रोतहरुले दाबी गरेका छन् ।

ओली सबैभन्दा पहिले सत्तारुढ दलहरुका बीचमा गठबन्धन कायम रहन्छ वा रहँदैन भन्ने कुरालाई केन्द्रमा राखी विचार गर्दै गएको बताइएको छ । गठबन्धनमा कुनै समस्या आएमा त्यसलाई अवसरका रुपमा लिने सोचमा ओली रहेको बताइन्छ । गठबन्धन कायम रहेको खण्डमा एमालेले हाल गठबन्धनमा नरहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लाई साथमा लिने नीति भित्री रुपमा लिएको समाचार स्रोतले बताएको छ ।

यसैगरी अन्य दलहरुलाई आफ्ना दलको विरुद्धमा सामुहिक रुपमा आऊ भन्दै लल्कार्ने ओली नेपालगञ्जमा राप्रपाका महामन्त्री धवल शमशेर राणाको शरण पुगेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख समेत रहेका राणासँग राप्रपाको साथ ओलीले खोजेका छन् । ओलीको गृहजिल्ला झापामा समेत राप्रपा राम्रो अवस्थामा रहेकाले ओलीले राप्रपालाई आफ्नो साथमा राख्न भित्री रुपमा अनेक तानाबाना बुन्दै गरेको बताइएको छ । यसका लागि ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि वार्तालाई अघि बढाइरहेको समाचार स्रोतले दाबी गरेको छ । यस्तै तराईमा सीके राउतलाई उचाल्ने तथा सुदूर पश्चिममा विप्लव नेतृत्वको नेकपासँग चुनावी साँठगाँठ तथा तालमेल गर्ने नीतिमा समेत ओली रहेका बताइएको छ । बाहिर देखाउन बाघ जसरी गर्जने तर भित्र भने मुसा जसरी लुसुलुुसु यता उता गर्ने खेलमा ओली रहेका भनी समाचार स्रोतले टिप्पणी गरेको छ ।

उता, साना हैसियतका भनिएका दलहरु भने अहिले अलमलमा देखिएका छन् । खासगरी राष्ट्रिय जनमोर्चा नेपाल अलमलमा देखिएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट पारित गरिएको विषयमा असहमति जनाएको जनमोर्चाले केन्द्रमा सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सत्तारुढ गठबन्धनबाट बाहिरिएको छैन ।

अर्कातिर गठबन्धनसँग जाँदा केही उपलब्धी हात पारेको जनमोर्चा गठबन्धन बाहिर जाँदा खासै उपलब्धी हासिल नहुने भन्ने बुझाइमा छ । प्युठान र बागलुङमा आफ्नो हैसियत देखाउने अवस्थामा रहेको जनमोर्चालाई समेत साथ लिन पाए ती जिल्लामा आफ्नो हैसियत केही माथि हुन्थ्यो कि भन्ने पक्षमा एमाले रहेको अवस्था छ ।

यसैगरी राप्रपाबाट बाहिएर राप्रपा नेपाल गठन गरेका कमल थापा समेत सकसमा परेका छन् । उनको दलको हैसियत एकदमै सानो भन्ने अवस्थामा रहेको आंकलन भैरहेको यो बेला उनको दल पनि अलमलमा रहेको बताइन्छ । थापाको गृहजिल्ला मकवानपुर र धादिङमा केही प्रभाव रहेका थापा समेत के कसरी कुन दलसँग टाँसिने भनी अलमलमा परेको अवस्था छ । यस्तै अवस्थामा भक्तपुर जिल्लामा मात्र आफ्नो हैसियत बनाउन सफल बनेको नेपाल मजदुर किसान पार्टी पनि अलमलकै अवस्थामा रहेको छ । यो दलले भक्तपुरको निर्वाचन क्षेत्र नं.१ र भक्तपुर नगरपालिकामा आफ्नो वर्चश्व कायम राखेको अवस्थामा भक्तपुरका अन्य नगरपालिकामा पनि निर्णयक मत लिएको अवस्था छ । यस्तो अवस्थामा यो दलको समर्थन र साथ कसलाई रहन्छ भन्ने कुरामा पनि भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा अलि बढी चासोका साथ हेरिंदै आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *