अष्ट्रेलिया/ अष्ट्रेलियाको सिड्नीमा उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश प्रसाईं ‘म्याक्स बाबु’ ले नयाँ वर्षको अवसर पारेर नयाँ कुरा पस्कनु भएको छ । उहाँले नयाँ वर्ष सन् २०२६ को अवसर पारेर नयाँ गीत सार्वजनिक गर्नुभएको हो ।
‘लाग्छ सरमै …….’ बोलको गीत दर्शक–श्रोतामाझ उहाँले ल्याउनु भएको हो । चर्चित गायिका रचना रिमालसँगै उहाँको श्वर पनि उक्त गीतमा रहेको बताइएको छ ।
सिड्नीका नेपाली सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर प्रस्तुति दिँदै आउनुभएका प्रसाईं ‘म्याक्स बाबु’ को नामले यहाँ चर्चित हुनुहुन्छ । कुशल परफर्मरका रूपमा समेत परिचय बनाउनु भएका उहाँले ‘लाग्छ सरमै …….’कै भिडियोमा नायिका गरिमा शर्मासँग अभिनय पनि गर्नुभएको छ । कला र सिर्जनशीलतालाई जीवनयात्रासँग जोड्ने कर्म उहाँले गर्दै आउनुभएको छ । यो सांगीतिक प्रस्तुतिले नेपाली गीत–संगीत क्षेत्र र नेपाली समुदायमा विशेषस्थान बनाउने विश्वास उहाँको रहेको छ ।
म्याक्स बाबु युवा अवस्थामा यहाँ छिर्नु भएको हो । सिड्नीमा आयोजित १९७४ एडीदेखि हालसम्मका विभिन्न सांगीतिक कार्यक्रममा नेपालका ख्यातिप्राप्त गायक–गायिका तथा कलाकारहरूसँग उहाँले दर्जनौं पटक मञ्च साझा गरिसक्नुभएको बताइएको छ । गीत–संगीतसँगै हास्य क्षेत्रमा पनि सक्रिय रहँदै आउनुभएका प्रसाईंले मह जोडीसँग समेत आफ्नो प्रस्तुति दिइसक्नुभएको बताइएको छ ।
उहाँ दुई दशकदेखि अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएको छ । सिड्नीको आइकोनिक थिएटर, राउण्ड हाउसजस्ता ठूला इभेन्टहरूमा समेत उहाँले प्रस्तुति दिनुभएको बताइएको छ । नेपाली चलचित्र ‘पीआर’ मा समेत उहाँको अभिनय देख्न सकिन्छ । कुन्ती मोक्तान, रामकृष्ण ढकाल, शिव परियार, रचना रिमाल, समीक्षा अधिकारीलगायत चर्चित कलाकारसँग मञ्च साझा गरिसक्नुभएका म्याक्स बाबु आफ्नो नयाँ गीतले युवा पुस्तादेखि वृद्धवृद्धासम्मको मन जित्नेमा आशावादी हुनुहुन्छ ।
नेपालको ताप्लेजुङमा जन्मिनुभएका उहाँ सन् २००८ मा विद्यार्थीका रूपमा अष्ट्रेलिया आउनुभएको थियो । प्रारम्भिक संघर्षपछि निरन्तर मिहिनेत र आत्मविश्वासका साथ उहाँले सन् २०१५ मा सिड्नीको रकडेलमा ‘एभरेष्ट बुचरी’ स्थापना गर्नुभएको बताइएको छ । व्यवसाय समेत गर्दै आउनुभएका उहाँले हालै ‘कन्ट्री फ्रेश रकडेल’ सञ्चालनमा ल्याउनुभएको छ । न्यू साउथ वेल्स राज्यबाट एकै वर्षमा तीन पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली मूलका व्यक्ति बन्ने सौभाग्य पनि उहाँले पाउनु भएको बताइएको छ । ‘भिजन फर मोटिभेसन’ नामक गैर–नाफामूलक संस्थाका संस्थापकसमेत प्रसाईं हुनुहुन्छ । यो संस्थाले नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हितमा विविध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
