बा–आमा बनाउँदै टंक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गायक तथा संगीतकार टंक बुढाथोकीले नयाँ सिनेमा ‘बा–आमा’ निर्माण गर्नु हुने भएको छ ।
‘मन बिनाको धन’ ले करिब चार करोड रुपियाँ हाराहारीको व्यापार गरेपछि बुढाथोकीले नयाँ चलचित्र निर्माण गर्ने जानकारी गराउनु भएको हो । यो चलचित्र ‘बा–आमा’ मा पनि ‘मन बिनाको धन’ मा जस्तै बालगायक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी पुनः देखिने बताइएको छ । अन्य कलाकारको छनोट प्रक्रिया भने बाँकी रहेको बुढाथोकीले जानकारी गराउनु भएको छ ।
बुढाथोकीकै कथामा निर्माण हुने उक्त चलचित्रका लागि पटकथा र संवाद शिवम् अधिकारीले लेखिरहेको बताइएको छ । बुढाथोकीका अनुसार स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको छ । ‘आगामी वैशाखदेखि छायांकन शुरु गर्ने योजना छ ।’ बुढाथोकीले जानकारी दिँदै भन्नु भयो ।
करिब पाँच वर्षअघि सार्वजनिक भएको टंकको हिट गीत बा–आमाकै शीर्षकमा चलचित्र निर्माण हुन लागेको हो । यसअघि पनि उहाँले आफ्नो सुपरहिट गीत ‘मन बिनाको धन….’ शीर्षकबाट चलचित्र निर्माण गर्नु भएको थियो । दर्शकले राम्रो प्रतिक्रिया दिएको उल्लेख गर्दै उहाँले त्यसमा देखिएका कमी–कमजोरी सुधारेर अझ राम्रो चलचित्र निर्माण गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनु भयो ।
‘बा–आमा’ पारिवारिक तथा सामाजिक कथाबस्तुमा आधारित चलचित्र हुने जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *