कृषकलाई राहत दिने योजना ल्याऊ

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय
कृषकलाई राहत पुगोस् भनी नयाँ नयाँ तरिका अपनाउन थालिएको छ । यसक्रममा कास्की जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन रकम वितरण गरिएको छ । उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रद्वारा प्रोत्साहन रकम वितरण गरिएको हो । यसरी वितरण गर्ने क्रममा कास्कीका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत रु.४४ लाख ४६ हजार वितरण गरिएको छ । पन्ध्र सहकारीले आवेदन दिएकामा नौवटा दुग्ध सहकारीलाई छनोट गरी उनीहरुलाई पुरस्कृत गरिएको हो । ती नौवटा सहकारीले उत्पादन गरेको १७ लाख ७८ हजार लिटर दूधमा प्रतिलिटर दुई रुपियाँ ५० पैसाका दरले रु.४४ लाख ४६ हजार वितरण गरिएको थियो ।
यसरी उनीहरुलाई पुरस्कृत गरिएको अवस्थामा आर्थिक वर्ष २०७८÷७९ मा पाडी–बाच्छी हुर्काउन प्रोत्साहन दिन थालिएको छ । यो योजना कास्की जिल्लामा मात्र नभई अन्य जिल्लाका लागि पनि नौलो मानिएको छ । यसका लागि सहयोग कार्यक्रमअन्तर्गत जिल्लामा रु.४१ लाख वितरण गरिएको थियो । पोखराको ३३ नं वडा र कास्कीको अन्नपूर्ण गाउँपालिकालाई लक्षित गरी सो प्रोत्साहन रकम वितरण गरेको हो । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत पाडी–बाच्छी हुर्काउने तीन सय ५५ किसानका चार सय १० वटा पाडी–बाच्छीलाई रु.१० हजारका दरले रु.४१ लाख प्रोत्साहन सहयोग रकम प्रदान गरिएको थियो । पाडी–बाच्छीका लागि पाँच सय किसानले आवेदन दिएकामा तीन सय ५५ किसान छनोटमा परेका बताइएको छ ।
सुन, चाँदी, हिरा, मोती जस्ता बहुमूल्य चिजहरु नभए पनि जीवन चल्न सक्ने हुन्छ । जीवन चलाउनका लागि प्रकृति र खाद्य पदार्थको महत्वपूर्ण हात हुन्छ । अन्न, पानीको शरिरमा आवश्यक पोषक तत्वका लागि खाद्य पदार्थ अत्यावश्यक हुन्छ । त्यसैले दूधका लागि पशुपालन तथा खानाका लागि खेती आवश्यक हुन्छ । अन्य चिज बस्तुभन्दा पनि अन्न, पानी अत्यावश्यक चिज भएका कारण यसको उत्पादनका लागि लागिपर्ने कृषक वर्गको उत्थानका लागि सरकारी तथा अन्य निकायले पनि समयमै सोच्नु उचित हुन्छ । कृषक केन्द्रित विभिन्न किसिमका राहत योजनाहरु ल्याउन सकेमा मात्र खेती किसानीमा मानिसहरुको आकर्षण बढ्न जान्छ । त्यसैले किसानलाई राहत पुग्ने गरी विभिन्न खालका राहत तथा कार्यक्रम ल्याइनु तथा गरिनु जरुरी छ । यसैगरी कास्कीमा भएजस्तो विभिन्न खालका आकर्षक कार्यक्रमहरु राखी कृषकहरुलाई आकर्षित गर्ने खालका कार्यहरु गरिनु आवश्यक देखिन्छ । कास्की जिल्लामा भएको यस्तो प्रोत्साहन कार्यक्रमको सिको अन्य जिल्लामा पनि गरिनु आवश्यक देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *