बेलायती प्रधानमन्त्रीबाट सिकौं

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले आफ्नो छोटो कार्यकालमा गरेका आर्थिक निर्णयका लागि माफी मागेकी छन् । ट्रसले स्थानीय सञ्चार माध्यमका प्रतिनिधिहरुसँग कुरा गर्दै आपूmले गरेका सबै गल्तीका लागि माफी मागेकी थिइन् । उनले नागरिकलाई उनीहरूको ऊर्जा बिल उच्च रहेकोले घटाउने उद्देश्य राखेर त्यस्तो निर्णय गरेको स्पष्ट पारेकी थिइन् । नागरिकलाई सघाउने गरी निर्णय गरिए पनि त्यो अलि तीब्र गतिमा गरिँदा गलत साबित भएको भनी उनको स्वीकारोक्ति थियो । सोमबार बेलायतमा अर्थमन्त्री जेरेमी हन्टले सेप्टेम्बरको मिनी बजेटमा गरिएका प्रधानमन्त्री लिज ट्रसका सबै घोषणालाई उल्ट्याएका छन् । खारेज गरिएका मिनी बजेट प्रावधानहरूमा नागरिकको विद्युत् महसुल घटाउन छुट दिने योजना पनि समावेश छ ।
बेलायती प्रधानमन्त्रीले गल्ती स्वीकारी त्यसका लागि माफी माग्ने कार्य गरिएको विषयलाई लिएर विभिन्न किसिमका टिप्पणी पनि भएका छन् । उनले त्यस्तो निर्णय लिनुअघि त्यसले पार्ने प्रभाव तथा असरका बारेमा पनि सोच्ने पर्ने थियो भन्नेहरु एकथरि छन् । अर्काथरी भने उनले जनतालाई राहत पुग्ने गरी गरेको निर्णय उचित रहेको भन्ने रहेको छ । कोरोनाको समयमा जनताले आफ्नो जीवन निर्वाह गर्नका लागि भोग्नुपरेको सास्तीका कारण पनि उनले जनताको पक्षमा त्यस्तो निर्णयले साथ दिने अपेक्षा गरेकी हुनुपर्छ । यसैगरी भर्खरै मात्र प्रधानमन्त्री जस्तो पदमा आसीन भएकी उनले जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी गरेको निर्णयलाई नराम्रो रुपमा बुझ्न नहुने भनी बुद्धिजीवीहरुले भन्ने गरेका छन् ।
यहाँ बेलायती प्रधानमन्त्रीले गल्ती गरिन् कि सही भन्ने भन्ने कुरामा भन्दा पनि उनले आफूबाट गल्ती भएको भनी स्वीकार्नुलाई बढी महत्वको रुपमा हेरिनु पर्दछ । सबैजसो देशका राजनीतिज्ञहरुले आफूबाट कुनै पनि किसिमको गल्ती भएका खण्डमा त्यसलाई नस्वीकार्ने प्रवृत्ति हाबी हुँदै गएको देखिन्छ । उनीहरुले माफी माग्नु त कता हो कता गल्ती समेत स्वीकारेको हत्तपत्ति पाइँदैन । यस्तो अवस्थामा बेलायतकी प्रधानमन्त्रीले त्यस्तो गर्नुलाई उनमा नैतिकता रहेको भनी सकारात्मक रुपमा लिइएको हो । उनले आफू पर्दा आपूmबाट कुनै किसिमको गल्ती भएमा त्यसलाई स्वीकार्न सक्ने व्यक्तित्व रहेको भनी नैतिक सन्देश पनि दिएकी छिन् । हाम्रो देश नेपालमा हेर्ने हो भने कुनै पनि प्रधानमन्त्रीले गरेको निर्णयलाई अर्थमन्त्रीले उल्ट्याउने भन्ने कल्पना पनि गर्न सकिँदैन । प्रधानमन्त्रीले जे जस्तो गल्ती नै गरे पनि मन्त्रीहरुले समेत त्यसलाई ढाकछोप गर्दै जाने देखिन्छ । प्रधानमन्त्रीले आफूबाट गल्ती भयो भनी मान्ने त कल्पना पनि गाह्रो कुरा हो । यस्तो अवस्थामा बेलायतकी प्रधानमन्त्रीले गरेको आत्मालोचनालाई भने सकारात्मक रुपमा लिनु पर्दछ । त्यसैगरी अन्य राजनीतिज्ञहरुले समेत आफ्ना गल्ती कमजोरीहरु देखिएका खण्डमा त्यसलाई स्वीकार्ने तथा त्यसबाट पाठ सिकी अबका दिनमा गल्ती नगर्ने प्रण गरेमा त्यसले मुलुककै लागि राम्रो गर्ने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *