विद्यार्थीलाई राजनीतिबाट मुक्त जरुरी

Nayabimarsha (Weekly Newspaper from Nepal)
सम्पादकीय

विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरुमा चैत्रको पहिलो साता स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । कतिपय विश्वविद्यालय तथा क्याम्पसहरुमा भने विविध कारणले निर्वाचनको मिति पर सारिएको छ । निर्वाचन भएका स्थानहरुको निर्वाचन परिणाम पनि आइसकेका तथा आइरहेका छन् । निर्वाचन परिणामलाई हेर्दा विभिन्न दलसँग आवद्ध मानिएका विद्यार्थी संघ तथा संगठनहरुका उम्मेदवारहरुले विजयको माला पहिरिएका छन् । उनीहरुले कतिपय स्थानमा गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए । कतिपय भने आ–आफ्नो ढंगबाट निर्वाचनमा होमिएका थिए । निर्वाचन परिणामलाई आधार मान्दा यस पटकको निर्वाचन प्रक्रिया पहिलेको तुलनामा केही पृथक छ । १४ वर्षपछि भएको यो निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीलाई कायम गरियो । यसैगरी केही पदमा प्रत्यक्ष तथा केही पदमा अप्रत्यक्ष रुपमा पदाधिकारी चयन गर्ने पद्दति अपनाइएको छ । यस कारण विद्यार्थीहरुले आफ्नो नेताहरु छान्ने क्रममा विविधताको महसुस गरेका छन् ।
यस पटकको निर्वाचनमा अलि फरक ढंगको प्रयास भएको छ । विगतमा निर्वाचनको प्रचार प्रसारमा एकदमै तामझाम गर्ने प्रवृत्ति थियो । यस पटक भने त्यसका कमी आयो । यसैगरी स्व.वि.यु.को निर्वाचनका समयमा विभिन्न शैक्षिक संस्थाहरुमा झडप तथा उस्तै पर्दा शारिरीक हमला समेत हुने गरेका थिए । यस पटक त्यस्तो कार्यमा एकदमै कमी आएको पाइयो । विभिन्न विद्यार्थी संगठनहरुले प्रायः एक्लाएक्लै प्रतिस्पर्धा गर्ने विगतमा परम्परामा कतिपय स्थानमा गठबन्धन बनाएर निर्वाचनमा होमिने कार्यहरु भए । यसैगरी यस पटक धेरै शैक्षिक संस्थाहरुको स्व.वि.यु.को निर्वाचन नै नभई निर्विरोध रुपमा पनि पदाधिकारीहरु चयन गर्ने कार्यहरु भए जुन सकारात्मक कार्य हो । यसैगरी मतदान प्रक्रियालाई ध्यान दिने हो भने कतिपय स्थानहरुमा थोरै मतदान भएको पनि पाइयो । खासगरी काठमाडौं उपत्यकाभित्रका शैक्षिक संस्थाहरुमा कम मतदान भएको पाइयो । यसले विद्यार्थी राजनीतिप्रति विद्यार्थीहरुको आकर्षण घटेको पो हो कि भन्ने देखिएको पनि छ ।
नेपालको राजनीतिक इतिहासलाई हेर्ने हो भने त्यसमा विद्यार्थीहरुको योगदान एकदमै देखिन्छ । २००६–००७ साल ताका जुर्मुराएको ‘जयतु संस्कृतिम्’ को आन्दोलनले विद्यार्थीवर्गलाई मात्र जागरुक बनाएको थिएन, त्यसले राजनीतिक इतिहासलाई परिवर्तन गराउन समेत योगदान दिएको थियो । यसैगरी विभिन्न कालखण्डमा विभिन्न विद्यार्थी संघ–संगठनहरुको नेतृत्व गरेका विद्यार्थी नेताहरु अहिले नेपालको राजनीतिमा स्थापित नेता तथा नेतृको रुपमा रहन पुगेका छन् । अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलसमेत विद्यार्थी नेतृत्व तथा आन्दोदनबाट स्थापित हुने नेतामा परेको स्पष्ट छ । यसरी नेपालको राजनीतिक इतिहासमा विद्यार्थी राजनीतिको प्रत्यक्ष प्रभाव र असर देखिए पनि पछिल्लो समयमा विद्यार्थीलाई राजनीतिबाट मुक्त राखिनुपर्ने कुरा उठ्न थालेको छ । विश्व इतिहास तथा वर्तमानलाई समेत ध्यान दिने हो भने विद्यार्थीहरुलाई राजनीतिमा प्रयोग गर्ने मुलुकहरुको पहिलो स्थानमा नेपाल पर्ने गरेको बताइन्छ । छिमेकी मुलुक भारतमा समेत विद्यार्थीलाई राजनीतिसँग एकदमै कमै रुपमा जोडिने गरेको अवस्थामा नेपालमा भने विद्यार्थीलाई राजनीतिक दलले आफ्नो उद्देश्यपूर्तिको साधनको रुपमा उपयोग गर्दै आएको पाइन्छ । विद्यार्थीहरु आफ्ना शैक्षिक माग र आवश्यकतालाई पूरा गर्ने भन्दा पनि राजनीतिक दलको इसारामा चल्ने गरेको पाइन्छ । विभिन्न राजनीतिक दलहरुले विद्यार्थीहरुलाई आफ्नो राजनीतिक उद्देश्यका लागि प्रयोग गर्ने गरेका कारण विद्यार्थीहरुले आफ्नो मुद्दालाई सही ढंगले उठाउन पाएको देखिंदैन । विद्यार्थीसँग जोडिएका विभिन्न मुद्दा तथा विषयहरुमा समेत विद्यार्थी संघ–संगठनहरु राजनीतिक दलको स्वार्थलाई ध्यानमा राखी विभाजित अवस्थामा रहने गरेको पाइन्छ । यसरी विद्यार्थीहरुलाई राजनीतिक दलहरुको घोडा बनाइनु राम्रो होइन । राजनीतिक दलहरुले आफ्नो स्वार्थसिद्धिका लागि विद्यार्थीहरुलाई प्रयोग गर्ने प्रचलनमा सुधार ल्याउनु जरुरी छ । उनीहरुलाई आप्mना उद्देश्यमा केन्द्रित हुन प्रेरित गर्नु जरुरी छ । उनीहरुलाई राजनीतिबाट मुक्त गरी शैक्षिक क्रियाकलाप तथा गतिविधिमा केन्द्रित गर्नु जरुरी छ । यसका लागि राजनीतिक दलहरुको भूमिका जति छ त्यो भन्दा बढी भूमिका विद्यार्थी तथा विद्यार्थी संघ–संगठनहरुको नै रहने गर्दछ । यस कुरालाई ध्यान दिएर विद्यार्थीहरुलाई राजनीतिबाट मुक्त गर्न तथा गराउन सकेका खण्डमा त्यसले मुलुकको वास्तविक विकासमा टेवा दिने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *