कुकुर नियन्त्रणको उचित प्रयास

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरको नियन्त्रणका लागि वैकल्पिक उपायको खोजी गरेको छ । कतिपय स्थानमा त्यस्ता कुकुरहरुलाई मार्नेसम्मको गतिविधि गरिने गरिएको पाइएको अवस्थामा महानगरपालिकाले बन्ध्याकरणलाई विकल्पको रुपमा लिएको छ । यसका लागि महानगरले अभियान शुरु गरेको छ । महानगर क्षेत्रमा कुकुरको व्यवस्थापन हुन नसकेको भन्ने गुनासो आउन थालेपछि बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियान शुरु गरेको छ । यो अभियान अन्गर्तत वडा नं ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट शुरुका दिनमा बन्ध्याकरण गरिने भएको हो । यो अभियानमा पाँच हजार आठ सय कुकुरको स्थायी बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्ध खोप दिने योजना रहेको कामपाले जनाएको छ । आउँदो तीन महिनाभित्र यो अभियान सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
विगतका वर्षमा पनि यस किसिमको काम गरिएका थिए । ती प्रभावकारी नभएको भन्दै यस वर्ष कार्यविधि नै बनाएर काम शुरु गर्न लागिएको हो । विभिन्न नौ सङ्घसंस्थाको सहकार्यमा यो अभियान गर्न लागिएको बताइएको छ । यो कार्य दैनिक दुई सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्यका साथ अघि बढाइएको छ । यसका लागि दैनिक ५० जनाको विभिन्न समूह खटिने जनाइएको छ । जीवहत्या गरिनु हुन्न भन्ने कुरालाई ख्याल गर्दै कुकुरको अनियन्त्रित प्रजनन्लाई रोक्ने प्रयासमा महानगर लागेको छ । स्थायी बन्ध्याकरण, कुकुरको सङ्ख्या नियन्त्रणको सबैभन्दा महत्वपूर्ण र प्रभावकारी विधि हो भन्ने मान्यताका साथ महानगरले यो अभियान संचालन गर्ने भएको हो । ।
हाल कामपामा २२ हजार सामुदायिक कुकुर रहेको अनुमान गरिएको छ । रोगी÷अपाङ्गता भएका वा अन्य समस्या भएपछि घरपालुवा कुकुरलाई मालिकहरूले घर निकाला गर्ने गरेका कारण उनीहरु सडकमा आउन बाध्य भएका हुन् । सडकमा रहेका कुकुरको अनियन्त्रित प्रजननले गर्दा पछिल्लो समय सामुदायिक कुकुरको सङ्ख्या बढ्ने गरेको छ । यसैगरी यसरी जन्मिएका कुकुरहरु सानैमा मर्ने समस्या पनि छ । बाटामा हुने भएकाले विभिन्न सवारी साधनहरुले किच्ने गरेका कारण सामुदायिक कुकुरहरुको समस्या झनै दर्दनाक पनि छ । त्यसैले महानगरपालिकाले त्यस्तो अवस्था आउन नदिनका लागि पनि बरु बन्ध्याकरणको उपायको खोजी गरेको हो । यसरी कुकुर मात्र नभई पशुपक्षीका पक्षमा समेत नेपालको मुलुकी अपराधसंहिता २०७४ ले केही अधिकारको कुरा गरेको छ । कसैले पशुपक्षीलाई कुटी, हिर्काइ, बोक्न नसक्ने गरी भारी बोकाई वा हानिकारक वस्तु सेवन गराएमा वा अन्य प्रकारको यातना दिएमा पशुपक्षीप्रति निर्दयी व्यवहार गरेको मानी तीन महिनासम्म कैद वा पाँच हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यसैले पशुपक्षीको पनि समान अधिकार छ भन्ने कुरा हामी सबैले बुझ्नु आवश्यक छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *