‘शहीद’ को अवमूल्यन नगरौं

Nayabimarsha (Weekly Newspaper from Nepal)
सम्पादकीय

शहीदहरुको सम्झनामा माघ १० गतेदेखि शहीद सप्ताह चलिरहेको छ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिएका शहीदहरुको सम्झना तथा सम्मानमा शहीद सप्ताह नेपालमा मनाइने परम्परा नै छ । यसक्रममा माघ १० गतेको दिनलाई शहीद शुक्रराज शास्त्रीको योगदानको स्मरण गर्दै काठमाडौंको टेकुमा रहेको उनको शालिकमा माल्यार्पण गरी शहीद सप्ताह प्रारम्भ हुन्छ । माघ १६ गते औपचारिक रुपमा समापन गरिने यस सप्ताहका दौरान नेपाल सरकारले विभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गरी शहीदहरुको योगदानको स्मरण गर्ने चलन छ । जहानियाँ राणा शासनको विरुद्धमा खरो रुपमा शास्त्री उत्रिएका थिए । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि संघर्ष गरेका शास्त्रीको गतिविधिलाई तात्कालिन राणा शासकहरुले रुचाएका थिएनन् । राणा शासनको विरुद्ध तथा देशमा प्रजातान्त्रिक शासन पद्दति आवश्यक हुन्छ भन्ने सोचका साथ शास्त्री राणा शासनको विरुद्धमा उत्रिएका थिए । उनको त्यो कार्यलाई राणा शासकहरुले पचाउन सकेनन् । सोही कारण उनलाई टेकुको पचलीमा फाँसी लगाएर हत्या गरिएको थियो । राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । सोही दिनको स्मरण गर्दै टेकुस्थित शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह शुरु हुने गर्दछ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले उनको शालिकमा माला र पुष्पगुच्छा अर्पण गरेर सप्ताहको शुरु गरिन् ।
तात्कालिन समयमा राणा शासनको विरुद्धमा लागेका अन्य मानिसहरुलाई पनि राणा शासकहरुले मृत्युदण्ड दिएका थिए । यसक्रममा माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो । राणा शासनको विरुद्धमा उनीहरुलाई त्यसरी शहीद बनाइएको थियो भने विभिन्न व्यक्तिहरुको सर्वस्वहरण, आजीवन काराबास आदिको सजाय पनि दिइएको थियो । टंकप्रसाद आचार्यजस्ता ब्राम्हण परिवारका व्यक्तिहरुको हत्या गर्दा ब्रम्हहत्याको पाप लाग्ने डरले उनीलगायत कतिपयलाई मृत्युदण्ड भने दिइएको थिएन । आचार्यलाई जिउँदो शहीदको रुपमा लिने गरिन्छ ।
यसैगरी पञ्चायती शासन व्यवस्थाका समयमा पनि विभिन्न व्यक्तिहरुलाई राजनीतिक आस्थाका आधारमा हत्या गर्ने कार्य शासकहरुले गरेका थिए । पञ्चायती कालखण्डमा पनि धेरैजनाको हत्या गर्ने कार्य सरकारी तबरबाट गरिए । २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनापश्चात पनि विभिन्न नाममा राज्यका पक्षबाट व्यक्तिहत्याका कार्यहरु भैरहे । अझ तात्कालिन अवस्थामा नेकपा (माओवादी) का नाममा कथित ‘जनयुद्ध’ भनी गरिएका हत्याका श्रृंखलाहरुले व्यक्तिहत्यालाई प्राथमिकता दियो । यसरी राजनीतिक कारण गरिएका हत्याहरुलाई पछिका सरकारहरुले उनीहरुलाई शहीद घोषणा गर्ने कार्य गर्न थाल्यो । कतिपय गैरराजनीतिक गतिविधिमा मारिएका व्यक्तिहरुलाई समेत राजनीतिक आडमा शहीद घोषणा गर्ने कार्य हुन थाल्यो । यसैगरी पछिल्ला समयमा त दुर्घटना, कुटपीट, व्यक्तिगत रिसइवी आदिका कारण मृत्यु भएका व्यत्तिहरुलाई समेत शहीद घोषणा गर्ने कार्य सरकारी पक्षबाट हुँदै आएको छ । यसरी शहीदहरुको अवमूल्यन गर्ने कार्य सरकारी पक्षबाट भएको भनी आलोचना हुँदै आएको छ । यसरी जथाभावी शहीद घोषणा गर्ने कार्य गरिएमा त्यसले वास्तविक शहीदहरुकै अपमान तथा अवमूल्यन हुने अवस्था देखिन्छ । त्यसैले शहीद दिवस वा शहीद सप्ताह मनाउने क्रममा वास्तविक शहीदहरुको योगदानलाई ओझेलमा पार्ने कार्य नहोस् । शहीदहरुप्रति राज्यले वास्तविक सम्मान प्रकट गर्ने कार्य गरोस् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *