सरकार गठनसँगै आशंका: एमालेसँग सहकार्यको खोजी, नेपाल चुके

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनमा फेरबदल गरी नयाँ सरकार बनाएका छन् । उनले नेकपा (एमाले) सहितको तथा नेपाली कांग्रेस विहीनको सरकार बनाए पनि यसको गठनसँगै विभिन्न किसिमका आशंकाहरु आउन थालेका छन् । खासगरी जुन हठातमा दाहालले सरकार गठन गरे त्यसले विभिन्न शंका उत्पन्न गर्न मिल्ने खालको परिस्थिति सिर्जना गरिदिएको छ । नयाँ गठबन्धनमा सहभागी दलहरुको अवस्था तथा सहभागी हुन नचाहनेहरुको अवस्थाका कारण सरकार गठनसँगै आशंका उत्पन्न भएको हो ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीसहितको गठबन्धनलाई अकस्मात भत्काउने कार्य प्रधानमन्त्री दाहालले फागुन २१ गते गरेका थिए । उनले प्रमुख प्रतिपक्षमा रहेको नेकपा (एमाले) लाई सत्तामा भित्र्याउने तथा कांग्रेसलाई बाहि¥याउने कार्य गरेका छन् ।
अप्ठ्यारो परिस्थितिमा साथ दिंदै आएको कांग्रेससँग समेत कुनै संवाद नगरी दाहालले एकल निर्णयबाट गठबन्धन परिवर्तन गरेका थिए । उनले अन्य कुनै दलसँग पनि संवाद नगरी भित्रभित्रै नेकपा (एमाले) का नेताहरुसँग साँठगाँठ गरी गठबन्धन भत्काउने कार्यमा पुगेको कुरालाई संस्कारयुक्त मान्न अन्य नेताहरु तयार देखिएका छैनन् । गठबन्धनमा रहने अनि आपंmै गठबन्धनभन्दा बाहिर रहेर कार्य गर्ने दाहालको चरित्रका कारण राजनीतिमा विश्वास भन्ने शब्दको कुनै मतलब नहुने अवस्था आएको भनी चर्चा चल्न थालेको छ ।
दाहालले हठातमा गठबन्धन परिवर्तन गरिदिएका छन् । उनले बुधबार नै सत्ता साझेदार दलबाट नयाँ मन्त्रीहरु बनाई नयाँ गठबन्धनलाई मान्यता दिने प्रयास गरेका छन् । उनले आफू प्रधानमन्त्री बन्न पाए हुन्छ भन्ने कुरालाई मात्र केन्द्रमा राखी निर्णय गरेको भनी राजनीतिक वृत्तमा चर्चा चले पनि दाहाल भने मैमत्त अवस्थामा चलेको समाचार स्रोतको दाबी छ ।
नयाँ गठबन्धनमा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एस) लाई लिएर माओवादी केन्द्र हिंडेको छ । अहिलेको सरकारमा अन्य दलहरुलाई समेत समेट्ने प्रयासमा दाहाल लाग्न थालेका छन् । यसैगरी दाहालको पदलोलुपताका कारण अन्य दलहरु भने खिन्न देखिएका छन् । खासगरी सबैभन्दा ठूलो दल कांग्रेस दाहालको यो चरित्रबाट रुष्ट देखिएको छ ।
संसदमा तेस्रो दलको अवस्थामा पुगेको माओवादी केन्द्रले पहिलो र दोस्रो ठूलो दललाई खेलाएर जनमत विपरित सरकारको नेतृत्व गरेको भनी बुद्धिजीवी जगतमा चर्चा चलेको छ । बुद्धिजीवीहरु मुलुकको हितका लागि ठूला दलहरु कांग्रेस र एमालेबीचमा गठबन्धन बन्न सके त्यसले देशमा राजनीतिक स्थिरता ल्याउने भन्न थालेका छन् ।
अधिवक्ता भवानीप्रसाद अधिकारी हालको राजनीतिक अवस्थालाई विश्लेषण गर्दै भन्छन्, ‘हालको नयाँ गठबन्धन कानूनसम्मत नै भए पनि गत निर्वाचनको अभिमत विपरितको हो । लोकतान्त्रिक व्यवस्थामा जनताले सबैभन्दा बढी मत दिएको दलले सत्ता सञ्चालन गर्नुपर्नेमा तेस्रो दलको रुपमा रहेको दलले अन्यलाई फन्फनी घुमाएर हिंडाउनु लाजमर्दो कुरा हो । उनी राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेले ध्यान दिनुपर्ने आजको आवश्यकता रहेको धारणा राख्छन् । उनी भन्छन्, ‘कांग्रेस र एमालेले जनताको चाहना बुझेर मिलेर तेस्रो दलले खेल्ने वातावरण रोके त्यसले मुलुकको भलाइ नै गर्छ ।’
बुद्धिजीवीहरुबाट यस्तो तर्क आउन थालेपछि कांग्रेस पनि यो कुराप्रति सकारात्मक देखिन थालेको बताइन्छ । एमालेसँगको सहकार्यका लागि कांग्रेसले पहल थाल्ने नेताहरूले बताएका छन् । एमालेलाई गठबन्धन भत्काउनु थियो, त्यसमा सफलता मिले पनि एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली हालको गठबन्धनप्रति पूर्ण रुपमा सकारात्मक बन्न भने नसकेको कांग्रेसका नेताहरुले अनुमान गर्न थालेका छन् । एमालेले पठाएका मन्त्रीहरु हेर्दा तथा बुधबारको शपथग्रहण समारोहलाई अध्यक्ष ओलीले बेवास्ता गर्नुले पनि कांग्रेस नेताहरुको अनुमानलाई बल पु¥याएको देखिन्छ ।
एमालेका तर्फबाट एमालेका सचिव रघुवीर महासेठले सरकारको नेतृत्व गरेका छन् । पहिलेको गठबन्धन भत्काउने कार्यमा लागिपरेका विष्णुप्रसाद पौडेलको नेतृत्वमा सरकारमा जाने अनुमान विपरित एमालेले महासेठको नेतृत्वलाई पठाएको छ ।
यसैगरी गृह, अर्थ, परराष्ट्र, ऊर्जा जस्ता शक्तिशाली मन्त्रालयहरु छाड्नुले एमालेले दाहाललाई लामो समय नबोक्ने भनी कांग्रेसका नेताहरूले विश्लेषण गर्न थालेका छन् । प्रधानमन्त्री दाहालसँग काँध जुधाउन सक्ने मान्छे सरकारमा नपठाउनुले ओलीको उद्देश्य अरु नै हुनसक्ने भनी कांग्रेसका नेताहरुले अनुमान गर्न थालेका छन् । त्यसो त केही दिनदेखि एमालेका अध्यक्ष ओलीले आफूलाई पटक पटक फोन गरी भेट्न भनेको तर आफू भेट्न नगएको भनी कांग्रेसका सभापति देउवाले भनेका थिए । उनले आफू गठबन्धनप्रति इमान्दार रहेका कारण ओलीसँग भेटी प्रधानमन्त्री दाहाललाई चिढ्याउने पक्षमा नरहेको भन्दा उल्टो दाहालले धोका दिएको भनेका छन् ।
पछिल्लो घटनाक्रमले कांग्रेस र एमालेका नेताहरुले देशको परिस्थिति बुझी नयाँ निर्णय लिनुपर्ने अवस्था आएको भनी चर्चा चल्न थालेको छ । अहिलेको परिस्थितिमा नयाँ गठबन्धनसहितको सरकार बने पनि यो सरकारले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने अवस्थासम्म पुग्दा कांग्रेस र एमालेका नेताहरुका सद्बुद्धि पलाउने चर्चा पनि चल्न थालेको छ । राजनीतिक विश्लेषक रामेश्वर ढकाल भन्छन्, ‘जनचाहना कांग्रेस र एमालेको संयुक्त सरकार बनी त्यसले राजनीतिक स्थिरता देओस् भन्ने खालको आउन थाल्यो । अस्थिर राजनीतिले साना दलले खेल्ने, ठूला दल हेर्ने अवस्था आयो । यसको अन्त्य होस् भन्ने कुरालाई कांग्रेस–एमालेका नेताहरुले बुझिदिनु राम्रो हो ।’
प्रधानमन्त्री दाहालले कांग्रेसलाई मात्र नभई नेकपा (एस) लाई पनि धोका दिएका थिए । खासगरी मानसम्मान खोज्ने, प्रतिष्ठाको राजनीति गर्ने भन्ने नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाललाई समेत कुनै महत्व नदिई दाहालले एमालेसँग सहकार्य बढाएका थिए । यस्तो अवस्थामा नेता नेपालले हालको नयाँ गठबन्धनको विपक्षमा उभिने अनुमान विपरित उक्त दल पनि नयाँ गठबन्धनमा सामेल भएको छ ।
नेकपा (एस) सरकारमा सामेल हुनुमा नेता नेपालको चाहना भन्दा पनि अर्का नेता झलनाथ खनालको दबाब रहेको बताइन्छ । खनाल आगामी बैशाख १५ गते इलाम क्षेत्र नं.२ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न चाहने तथा त्यसका लागि एमाले र माओवादीको साथ लाभकारी हुने सोचका साथ एमालेको पछि दगुर्न तयार भएका समाचार स्रोतले बताएको छ ।
उता, वर्तमान गठबन्धनको सरकारका विषयमा अन्यत्रबाट कुनै पनि किसिमको प्रतिक्रिया नदेखाइएको अवस्थामा चीनले भने सकारात्मक प्रतिक्रिया दिएको छ । त्यसैले पनि यो गठबन्धन बनाइनुमा बीआरआई लाई चीनले स्वार्थमा राखी कांग्रेसविहीन सरकार बनाउन पहल गरेको कुरालाई बल पुगेको देखिन्छ । उता, नेपालको राजनीतिमा भारतको विशेष चासो रहने गरेको पाइन्छ । पछिल्लो समय अमेरिकासमेतले चासो राख्दै आएको अवस्थामा हालको नयाँ गठबन्धनका विषयमा ती देशहरुको प्रतिक्रिया कस्तो रहला भनी चासोका साथ हेर्न थालिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *