रात्रिकालिन खुल्ला बजार सकारात्मक कार्य

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने गरी तयारी थालेको छ । गत सोमवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो सम्बन्धमा सरोकारवालाहरुसँग बैठक गरेको थियो । बैठकमा सम्बन्धित सबै निकायहरु र व्यवसायीहरुसँग काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल गरेका थिए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टा खुलाउन निर्देशन दिएपछि जिल्ला प्रशासन काठमाडौंले यसमा सक्रियता देखाएको हो । यसका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको प्रजिअ बस्नेतले जानकारी गराएकाले पनि यो कुरा अघि बढेको भनी बुझ्न सकिने अवस्था आएको छ । प्रमुख जिल्ला अधिकारी बस्नेतले सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्ने धारणा राखेका थिए ।
व्यापार व्यवसाय सञ्चालनको लागि व्यवसायी र स्थानीयबासीहरु सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिइने गरी प्रशासनले सोच अघि बढाएको बताइएको छ । यसैगरी व्यवसायीहरुले वस्तु तथा सेवामा दिउँसो र रातीको मूल्य फरक बनाउन नपाउने कुरालाई पनि प्रशासनले अघि बढाउने तयारी गरेको बताइएको छ । यसरी रात्रिकालिन अवस्थामा समेत खुला राखिंदा केही बेफाइदा पनि रहेको कुरालाई सरोकारवालाहरुले उठाएका थिए । उनीहरुका अनुसार अहिलेको भन्दा आपराधिक क्रियाकलाप बढ्नसक्ने अनुमानका आधारमा सोही अनुसारको सुरक्षा प्रणाली विकास गरिनुपर्ने धारणा पनि आएका थिए । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन हुनेगरी ध्वनी प्रदूषण गर्न नपाउने कुरा पनि सो अवसरमा उठेको थियो । यसैगरी दरबारमार्ग विकास बोर्डले दरबार मार्गलाई २४ घण्टा खुला गर्न हरेक हिसाबले उपयुक्त रहेको जनाएको छ । ७० मिटरको क्षेत्रफलमा सबै संरचनाहरु तयारी अवस्थामा रहेकाले सरकारले तत्काल २४ सै घण्टा खुला गर्दा कुनै समस्या नपर्ने धारणा पनि आएकाले सरकारले यसलाई सकारात्मक रुपमा लिने अवस्था देखिएको छ ।
यसरी रात्रि अवस्थामा समेत बजार खुल्ला राख्ने चलन विश्वव्यापी रुपमा रहने गरेको पाइन्छ । पछिल्लो समयमा नेपाली व्यवसायी समेत मन्दीको मारमा पर्दै आएको अवस्था छ । यस्तो अवस्थामा काठमाडौंको मुटु मानिने क्षेत्रमा त्यो पनि पर्यटकहरुको सुविधालाई ध्यानमा राखेर बजार खुल्ला गर्ने कार्य गरियो भने त्यसले काठमाडौं उपत्यकाको आर्थिक गतिविधिमा बढोत्तरी गर्ने अवस्था देखिन्छ । त्यस क्षेत्रमा बजार खुल्ला हुने हुँदा दिउँसो बजार जान नभ्याउने मानिसहरुले समेत रातिको समयमा किनमेलमा जान पाउने अवस्था रहन्छ । यसैगरी रातिको समयमा समेत तोकिएकै मूल्यमा सामानहरु पाइने अवस्था आएमा स्थानीय मानिसले समेत रातिको समयलाई आफ्नो अनुकुल पारेर प्रयोग गर्न सक्ने अवस्था रहन्छ । यसैगरी काठमाडौं उपत्यकाकै मुटु क्षेत्र मानिने क्षेत्रहरुमा बजार खुल्ला हुँदा उपत्यकाका अन्य क्षेत्रबाट समेत सो क्षेत्रमा किनमेल तथा मनोरञ्जनात्मक गतिविधिका लागि सो क्षेत्रमा आगमन बढ्ने हुँदा अन्य क्षेत्र समेत गतिशील हुने अवस्था रहन्छ । यसरी बजार खुल्ला हुनु जति सकारात्मक कुरा हो त्यति नै यसका नकारात्मक पक्षहरुलाई समेत ख्याल गरिनुपर्ने हुन्छ । शान्ति सुरक्षा र ध्वनी प्रदूषण यसका मुख्य ध्यान दिनुपर्ने पाटा हुन् । त्यसैले यसको सही व्यवस्थापन गर्न सकेमा रात्रिकालिन खुला बजारले सकारात्मक सन्देश दिने देखिन्छ ।
उनले दरबार मार्गलाई २४ सै घण्टा खुला गरी नाइट वाक क्षेत्र बनाउन आवश्यक रहेको पनि बताए। उनले सरकारले दरबार मार्गलाई २४ सै घण्टा खुला गर्नेकुरा स्वागतयोग्य रहेको बताए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *