उपचुनावमा शक्तिपरीक्षण हुने: गठबन्धनमा समस्या, कांग्रेसको आफ्नै तयारी

Nayabimarsha (Weekly Newspaper from Nepal)
मुख्य समाचार

भक्तपुर / आगामी बैशाख १५ गते हुने भनिएको उपचुनावको कारण दलहरुको शक्तिपरीक्षण हुने देखिएको छ । इलाम क्षेत्र नं.२ मा प्रतिनिधिसभा र बझाङमा प्रदेशसभाको सदस्यका लागि उपनिर्वाचन हुने भएको छ । सो उपनिर्वाचनलाई लिएर सत्तारुढ दलहरुका बीचमा समेत मतैक्यता हुन नसकेको अवस्था छ । त्यसैले उक्त निर्वाचनमा सबै दलहरु आफ्नो शक्तिपरीक्षणमा उभिने भएका हुन् । आगामी चैत्र २४ गते उम्मेदवारले मनोनयनपत्र दाखिला गर्नुपर्ने भनी निर्वाचन आयोगले कार्यक्रम प्रकाशन गरेका कारण उक्त दिन क–कसको उम्मेदवारी पर्छ भनी हेर्न भने बाँकी रहेको अवस्था छ ।
उपनिर्वाचनको आगमन पूर्व केन्द्रीय सत्तामा समीकरण परिवर्तन भएको स्थिति छ । नेपाली कांग्रेससहितको तात्कालिन सरकार भएको अवस्थामा भएको निर्वाचनमा इलामको प्रतिनिधिसभामा नेकपा (एमाले) का उम्मेदवार सुभाषचन्द्र नेम्वाङ एक १४ मतान्तरले मात्र विजयी भएका थिए । कांग्रेस तात्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेको अवस्थामा झिनो मतान्तरले पराजित भएको अवस्थामा अहिले कांग्रेस इतरको सत्ता समीकरण बनेको छ । त्यो बेला सत्ता समीकरणमा नरहेको एमाले अहिले सत्तासमीकरणको मूल साझेदारको रुपमा रहेको छ ।
यसैगरी बझाङको प्रदेशसभामा कांग्रेसका उम्मेदवार भारी मतान्तरले विजयी भएका थिए । बझाङमा त्यो बेला प्रतिनिधिसभामा कांग्रेस र माओवादी केन्द्रको सहयोगमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका थिए । त्यसबेलाको सत्ता समीकरणले गठबन्धन अनुसारको परिणाम बझाङमा निकालेको थियो ।
प्रतिनिधिसभामा एकीकृत समाजवादी तथा प्रदेशसभामा कांग्रेसले विजयको माला पहिरिएको अवस्थामा अहिले सत्ता समीकरणमा फेरबदल आएको छ । कांग्रेसबाहेकको सत्ता समीकरण अर्थात अहिले एमाले सहितको सत्ता समीकरण बनेको छ ।
यस्तो अवस्थामा हुन गैरहेको उपनिर्वाचनमा हालको सत्ता गठबन्धनले साझे उम्मेदवार बनाएर जाने हो कि भन्ने देखिइरहेको अवस्थामा एमालेका कारण त्यस्तो नहुने अवस्था आएको हो । इलाम र बझाङमा सल्लाहले उम्मेदवारी घोषणा गर्नुको साटो एमालेले दुवै ठाउँका लागि आफ्नो उम्मेदवारहरु घोषणा गरेका कारण सत्ता साझेदार दलहरुका बीचमा सल्लाह हुन पाएन ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बीचमा केही दिनअघि वार्ता भए पनि त्यसमा एमालेको निर्णयका कारण साझा उम्मेदवार बनाउने भन्ने कुरामा पुग्न अवरोध भएको अवस्था थियो । ओलीले आफ्नो दलले उम्मेदवार घोषणा गरिसकेको अवस्थामा आफूहरु पछि हट्न नसक्ने भनी स्पष्ट रुपमा भनेका थिए । यसैगरी सल्लाह नै नगरी घोषणा गरिसकेको अवस्थामा नेता नेपालले पनि आफूहरुले बझाङमा दाबी नछाड्ने भनी भनेका थिए । त्यस्तो अवस्थामा एकीकृत समाजवादीलाई बझाङमा छाड्न नसकिने भनी ओलीले अड्डी लिएका थिए ।
यस्तो अवस्थामा नेता नेपालले पनि आफूहरुले दुवै ठाउँमा उम्मेदवारी दिने भनी घोषणा गरेका थिए । नेता नेपाल र ओलीका कारण माओवादी केन्द्रका अध्यक्ष दाहाल पनि दबाबमा परेका थिए । उनले पनि आफ्नो दलले छुट्टै उम्मेदवार उठाउने निर्णय गरेका छन् । यस्तो अवस्था आउनुमा हाल सत्ता गठबन्धनमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उम्मेदवार उठाउने कुरामा अड्डी कस्नु मुख्य कारण पनि रहेको थियो ।
सत्ता गठबन्धनमा रहे पनि राष्ट्रिय स्वतन्त्र पार्टीले इलाममा आप्mनै उम्मेदवार उठाउने तयारी गरिसकेको थियो । यसैगरी बझाङको प्रदेशसभामा आफ्नो उम्मेदवार नहुने भनेको रास्वपाले इलामको उपचुनावमा जित निकालेर मिसन ८४ को नारा अघि सार्ने नीति लिएको छ । यस्तो अवस्थामा रास्वपालाई सत्ता समीकरणका दलहरुले विभिन्न कुरा गर्नु भन्दा आ–आफ्नै उम्मेदवार लडाएर आफूलाई परीक्षण गर्नु उचित हुने भन्ने पक्षमा अन्य दलहरु पनि पुगेको स्थिति छ ।
पछिल्लो जानकारी अनुसार रा.स्व.पा.का अतिरिक्त एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमत पार्टीले इलामको उपचुनावमा आफ्ना उम्मेदवार लडाउने स्पष्ट गरिसकेका छन् ।
उता, अहिले प्रमुख प्रतिपक्षमा पुगेको कांग्रेसले पनि आफ्नो उम्मेदवार उठाउने भएको छ । कांग्रेसबाट उम्मेदवार बन्नका लागि प्रदेशबाट सातजनाको नाम आएको छ । त्यसरी नाम आएकाहरुलाई बुधबार कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंमा बोलाएर भेटेका छन् । देउवाले जो उम्मेदवार बने पनि सबैले सघाउनुपर्ने तथा जसरी पनि जित निकाल्नुपर्ने भनी सबैलाई सामुहिक रुपमा भनेका छन् ।
देउवा पनि यसरी सबैजसो प्रमुख दलहरुले आ–आफ्नो उम्मेदवार लडाउने अवस्थामा कांग्रेसले जित निकाल्न सफल हुने आशामा छन् । अघिल्लो निर्वाचनमा एमालेबाट सुभाषचन्द्र नेम्वाङ उम्मेदवार बनेको अवस्थामा कांग्रेसका उम्मेदवारले एक सय १४ मतान्तरले पराजय भोग्नुपरेको अवस्थामा हाल कांग्रेस एक ढिक्का भएर निर्वाचनमा गएको खण्डमा चुनाव जितिने भन्ने पक्षमा देउवा देखिएका छन् ।

निर्वाचन परिणामले भविष्य देखाउने

सत्ता गठबन्धनमा रहेका दलहरुकाबीचमा साझा उम्मेदवार बन्न नसकेको स्थितिमा सबैजसो दलहरु एक्लाएक्लै निर्वाचनमा होमिने स्थिति देखिएको छ । यसअघिको आवधिक निर्वाचनको समयमा भन्दा अहिले परिस्थिति फेरिएको अवस्था छ । इलामको चुनावको कुरा गर्दा त्यस क्षेत्रमा पहिचानवादीहरुको कुरा पनि बढेको छ । यसैगरी उक्त चुनावमा रास्वपाले थोरै मत पाएको अवस्थामा अबको दिनमा रास्वपाको मत बढ्ने भन्ने चर्चा पनि चलेको छ ।
यसैगरी एमालेबाट त्यो बेला नेम्वाङ उम्मेदवार बनेको स्थितिमा एमालेले जित निकालेको तर अहिले उनको छोरालाई एमालेले उम्मेदवार बनाउँदा त्यो स्थिति नआउने हो कि भन्ने कुरा पनि राजनीतिक वृत्तमा चर्चा चलेको छ । यसैगरी त्यो बेला माओवादी केन्द्रले उम्मेदवारी नदिएको स्थितिमा उनीहरुको मतमध्ये कतिपयले नेम्वाङलाई मतदान गर्दा कांग्रेसका उम्मेदवार झिनो मतान्तरले पराजित भएको चर्चा पनि चल्ने गरेको छ ।
यसैगरी झलनाथ खनालले सत्ता गठबन्धनबाट उम्मेदवार बन्न चाहेको अवस्थामा उनलाई पाखा लगाइएको छ । उनको दल एकीकृत समाजवादीले समेत उम्मेदवारी दिने भएकाले खनाल पक्षधरहरुको चाहना जसरी पनि एमालेको उम्मेदवारलाई पराजित गर्न सकिएमा मात्र आफ्नो भविष्य खोज्न सकिने भन्ने रहने खालको रहेको बताइएको छ ।
यसैगरी अहिलेको अवस्थामा कांग्रेसमा एक मत हुने देखिएको छ । कांग्रेसले आफ्नो उम्मेदवारलाई गुटभन्दा बाहिर राखेर हेर्ने चर्चा चलेको छ ।
यस्तो अवस्थामा उक्त निर्वाचनमा कसले जित्छ वा कसले कति मत पाउलान् भन्ने कुराले हालको सत्ता गठबन्धनलाई असर गर्ने बताइएको छ । एमाले पराजित भएको अवस्थामा सत्ता गठबन्धन नै टुट्न सक्नेसम्मको अड्कलबाजी गरिएको छ । यस्तै, रास्वपाले जितेमा आगामी २०८४ निर्वाचनमा सत्ता गठबन्धनलाई असर पार्ने बुझाइ हुने देखिन्छ ।्
उता, कांग्रेसले जित निकालेमा कांग्रेसमा उत्साह थपिने अवस्था आउने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *